[कविता] विभाजित मुटुहरु

[कविता] विभाजित मुटुहरु


-सुमल कुमार गुरुङ,
मलाई एउटै लाग्थ्यो
मान्छे सबै एउटै हुन्
भोकतिर्खा एउटै हुन्छ
सपना बुन्ने आँखाहरु
अनुभूति साँच्ने मनहरु
सबैका एकै हुन् ।

भगवान एउटै हुन्छ, धर्म एउटै हो
मानव संसार एउटै हो
सबै एउटै लाग्थ्यो
जब म अनभिज्ञ थिएँ ।

मैले दिनलाई दिन र रातलाई रात देख्थे
सबै रंग मिलेको ईन्द्रधनुष
लाग्थ्यो राम्रो,
मैले सेतोलाई सेतो
कालोलाई कालो देख्थेँ
फरक मलाई केही थिएन ।

जब सोंच उड्यो रहर बन्दै
ईच्छाको दीयो बल्यो आशा बन्दै
जन्मे समय नयाँ-नयाँ
म आफैलाई अर्कै पाएँ ।

बुझ्दै गएँ यसरी मैले
मान्छेले जन्माएका भगवानहरु
श्रृष्टिलाई केर्ने मनहरु
सबै फरकफरक पाएँ ।

कुन झुटो कुन सत्य बुझ्न सकिनँ
आफैं-आफैंमा बाझ्छन् धर्महरु
खोइ त,
बुद्धले शान्ति ल्याउने कुरा ?
ईशुले स्वर्ग ल्याउने कुरा ?
गीताले दिएको कर्मज्ञान ?
कुरानले दिएको पवित्र मन ?
अनकान्टारमा मैले
धर्म मोडिएको देखेँ
बाझिएको पाएँ
लडेको देखेँ
खुनाखुन भएको देखेँ
कतै धर्मयुद्ध, कतै जिहाद् बनेर ।

चित्कार उठ्छ अन्तरात्माभित्र
देख्दा विभाजित मुटुहरु
सत्य खोज्ने होडमा हुँदैन स्पर्श सत्यको
आफूलाई नै नचिने अरुलाई कसरी चिन्ने ?