फेवा नव वर्ष महोत्सवको तयारी पूरा

फेवा नव वर्ष महोत्सवको तयारी पूरा


नयाँ वर्षको अवसरमा पश्चिमाञ्चल होेटल सङ्घले वर्षेनी आयोजना गर्दै आएको यस वर्षको ‘फेवा नव वर्ष महोत्सव २०७६’ को सम्पूर्ण तयारी पूरा भएको छ । आजदेखि पोखराको फेवा किनारस्थित कोमागाने पार्कमा हुने त्रिदिवसीय १६औँ संस्करणमा खाना, संस्कृति र सङ्गीतलाई विशेष जोड दिइएको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । उनका अनुसार महोत्सवमा कूल २२ नेपाली खानाको व्यवस्था रहनेछ ।

महोत्सवमा पर्यटक र अन्य आगन्तुक गरी कूल एक लाखले सहभागिता जनाउने बताउँदै उनले उक्त अवसरमा सांस्कृतिक झाँकी प्रतियोगिता र गण्डकी प्रदेशस्तरीय नृत्य प्रतियोगिता आयोजना गरिने जानकारी दिए । सङ्घका निवर्तमान अध्यक्ष भरतराज पराजुलीका अनुसार महोत्सवका अवसरमा सङ्घअन्तर्गतका सदस्य होटलको मेन्युमा १५ प्रतिशत छुट प्रदान गरिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम कार्यान्वयन समितिका सदस्य एवं नेपाल पर्यटन बोर्डका सदस्य विप्लव पौडेलले फेवा महोत्सव आयोजनास्थलमा चैत ३० गते भ्रमण वर्षको शुभारम्भ गरिने जानकारी दिए । स्थानीय विभिन्न सङ्घसंस्थासँग मिलेर कार्यक्रमलाई भव्य बनाउन समन्वय भइहेको जानकारी दिँदै उनले भ्रमण वर्षको शुभारम्भले पोखरालाई पर्यटकीय राजधानी बनाउने अभियानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल पर्यटन बोर्डका गण्डकी प्रदेश कार्यालय प्रमुख मणि लामिछानेले भ्रमण वर्ष कार्यक्रम घोषणाको अन्तिम तयारी सकिएको बताए । उनले गण्डकी प्रदेश सरकारले मनाइरहेको आन्तरिक पर्यटन वर्ष २०१९ लाई सफल बनाउनसमेत प्रदेश सरकारसँग बोर्डले समन्वय गरिरहेको जानकारी गराए ।