‘हुण्डी’को जालो च्यात्दै प्रहरी

‘हुण्डी’को जालो च्यात्दै प्रहरी


rupeesविभिन्न प्रकृतिका अपराध तथा आपराधिक क्रियाकलापको नियन्त्रण गरी समाजमा शान्तिसुरक्षाको प्रत्याभूति गराउने कार्यमा सम्बन्धित प्रहरी अधिकारीको क्षमता र तदारुकताले कति फरक पार्दोरहेछ भन्ने कुराको उदाहरण बनेका छन् महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनाल । महाशाखा नेतृत्वको जिम्मेवारी एसएसपी खनालको काँधमा आएदेखि सामाजिक तथा आर्थिक अपराध नियन्त्रणसम्बन्धी अनेक मामलाको किनारा लगाउने काम भएका छन् भने उनका कतिपय कदमले राष्ट्रव्यापी चर्चा र प्रशंसासमेत पाएका छन् । यस्तै अर्को महŒवपूर्ण कामका कारण एसएसपी खनाल पुनः चर्चामा छाएका छन् ।
अपराध या अपराधीलाई राजनीतिक संरक्षण प्राप्त हुने सनातनी रोगका कारण अझै पनि नेपाली समाज आक्रान्त छ । यस्तै अपराधमध्ये अवैध हुण्डीको कारोबार पनि नेपालको अर्थव्यवस्थालाई धराशयी तुल्याउने र समाजमा अनेक आपराधिक विकृति भिœयाउने एक खतर्नाक कारकतŒव बन्दै आएको छ । पैसा विदेश पठाउने र विदेशबाट भिœयाउने एउटा अवैध प्रक्रिया हो हुण्डी । सर्सरी हेर्दा यो एक सामान्य किसिमको अपराध लाग्न सक्छ, तर यथार्थमा भने यसले देशको अर्थतन्त्रलाई नराम्ररी खोक्रो बनाइरहेको हुन्छ । यसले एकातर्फ राज्यको कर छल्ने काम गरेको हुन्छ भने अर्कोतर्फ अन्य किसिमका अपराधलाई पनि यसले प्रोत्साहन दिन्छ । जसले देशको अर्थतन्त्रमै ठूलो असर परेको सम्बन्धित विज्ञहरू बताउँछन् । हुण्डीको यही खतर्नाक पक्षमाथि संवेदनशील हुँदै एसएसपी सवेन्द्र खनालले राजधानीमा फस्टाइरहेको हुण्डीको जालो च्यात्ने सशक्त कदम चालेका छन् । अपराध महाशाखाको पहलकदमीमा गत साता प्रहरीले सुन्धारा, न्युरोड र ठमेलका केही मनी एक्सचेन्ज र ट्राभल एजेन्सीमा छापा मारेको थियो । मनी एक्सचेन्ज र ट्राभल एजेन्सीजस्ता व्यवसायको आवरणमा हुन्डीको कारोबार गर्ने ती अखडामा प्रहरीले सशक्त ढङ्गले छापा मारेपछि वर्षौँदेखि राज्यको छानबिनको दायरामा तानिनुबाट जोगिँदै आएका हुण्डी–अपराधीहरूमा खल्बली मच्चिएको छ भने अवैध काम गरेर रातारात धन कमाउने लालसा पालेका सयौँ व्यापारीको सातो गएको छ ।
सुन तस्करी र डलरको तस्करीमा समेत हुण्डीको जालो जोडिएको प्रहरीको भनाइ छ । यस्तो काममा ठूला व्यवसायीसमेत संलग्न रहने भएकाले राजनीतिक र प्रहरी संरक्षणका कारण उनीहरूमाथि बिरलै छानबिन तथा कारबाही हुने गरेको छ । प्रहरीका अनुसार हुन्डीको कारोबारका लागि छुट्टै कार्यालय खोलिँदैन, अन्य व्यवसायको आवरणमा यस्तो काम हुने गर्दछ । कपडा पसल, सुन पसल, ट्राभल एजेन्सी, मनी एक्सचेन्ज आदिको आवरणमा यो धन्दा चल्ने गरेको पाइएको छ । महाशाखाले पनि गत बुधबार रेमिट्यान्सको कार्यालय, ट्राभल एजेन्सी र मनी चेन्जरबाट हुन्डीको पैसासहित सञ्चालकहरूलाई पक्राउ गरेको हो । महाशाखाले खिचापोखरीस्थित मिलाप चन्द जैनका सञ्चालक शंकरलाल कोठारीबाट १८ लाख ३३ हजार नौ सय ९५, नर्थ प्वाइन्ट मनी एक्सचेन्जका सञ्चालक राजाराम पाण्डेबाट ५९ लाख, ठहिँटीस्थित ओम मनी ट्रान्सफरबाट राकेश वैद्यलाई पक्राउ गरी ३१ लाख ९६ हजार रुपैयाँ बरामद गरेको थियो भने आरबी कम्प्लेक्सस्थित नीलगिरि रेमिटबाट ८८ लाख ३५ हजार, सुन्धारास्थित देउराली मनी एक्सचेन्जबाट ३६ लाख ५३ हजार एक सय ८५, सुन्धारास्थित देउराली ट्राभल्स एन्ड टुर्सबाट सात सय ११ अमेरिकी डलर, न्युरोडस्थित केसरी चन्द कोसरियाबाट १६ लाख बरामद गरेको छ । नीलगिरिका सञ्चालक किरण गुरुङ, देउराली मनी एक्सचेन्जका नवराज गुरुङ, देउराली ट्राभल्सका जेवाल हक पनि पक्राउ परेका छन् । त्यस्तै, वटुस्थित सुन रिफाइन पसलबाट दुई लाख ६६ हजार पाँच सय नगदका साथै सुन र चाँदी पनि बरामद गरेको छ ।
महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनाल अर्थतन्त्रका भाइरसलाई निर्मूल पार्नुपर्ने बताउँछन् । विकसित देशहरूमा जसले राज्यलाई धेरै कर तिर्छन् समाजमा उनीहरूकै इज्जत–प्रतिष्ठा बढ्छ र सबैले उनीहरूलाई नै सम्मान गर्छन्, तर हाम्रो देशमा भने अवस्था ठीक उल्टो रहेको भन्दै एसएसपी खनालले पछिल्लो समय ठूला व्यक्तिको संलग्नतामा विभिन्न किसिमका आर्थिक अपराध हुने गरेको दाबी गरे । आर्थिक अपराधले सङ्गठित रूप लिँदै गएकाले समाजमा सङ्गठित आर्थिक अपराधमा विशेष तवरले छानबिन थालिएको पनि उनले जानकारी दिए । अवैध हुण्डी कारोबारीमाथिको कदम पनि यही अभियानको एक हिस्सा भएको खनालको भनाइ छ ।
हुन्डीको अनुसन्धान लामो समयदेखि अनुसन्धानको दायराबाहिर रहेको उल्लेख गर्दै उनले यसको अनुसन्धान गर्ने प्रमुख जिम्मेवारी अन्य निकायको भए पनि प्रहरीले नै अग्रसरता लिनुपरेको खुलासा गरे । हुन्डी एक किसिमको सङ्गठित अपराध हुनाले यसले अन्य किसिमका अपराध पनि बढाएको जनाउँदै एसएसपी खनालले हुन्डीबाट विदेशमा पैसा पठाई बैंकिङ च्यानलबाट नेपालमा फिर्ता लिएर सम्पत्ति शुद्धीकरण गर्ने कामसमेत हुँदै आएको बताए । हुण्डी कारोबारमा संलग्न रहेकाहरूले देशको अर्थतन्त्रलाई खोक्रो बनाइरहेको दाबी गर्दै उनीहरूविरुद्ध राज्य बलियो हुनु जरुरी रहेको वरिष्ठ प्रहरी उपरीक्षक खनालले बताए ।
यसैबीच फर्जी लगानी गरेको देखाई रकम हिनामिना गर्ने मुक्तिनाथ विकास बैंक लघुवित्त डेक्स कार्यालय दुलेगौँडा तनहुँका कामु सहायक अधिकृत सर्लाही जानकीनगर–८ घर भएका ३४ वर्षीय असराज खनाललाई प्रहरीले पक्राउ गरेको छ । सो बैंकबाट ३६ लाख ५४ हजार पाँच सय १७ किर्ते रूपमा फर्जी लगानी गरेको देखाई रकम निकासा गरी लिई फरार रहेकामध्ये खनाललाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले शनिबार काठमाडौं कागेश्वरी मनहरा नगरपालिकामा लुकेर रहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।