रमनको ह्याट्रिक मद्दतमा नेपाल पुलिस अपराजित रहँदै आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष हक्कीको सेमिफाइनलमा प्रवेश गरेको छ ।
वैशाख २ गते सोमबार मंगल माविमा भएको अन्तिम लिग खेलमा रमन रानाको चार गोलको मद्दतले पुलिसले प्रदेश २ माथि ६–० को फराकिलो जित निकालेको छ ।
खेलको २१औँ मिनेटमा टिमलाई अग्रता दिलाएका रमनले ३६औँ र ४५औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । ह्याट्रिक गरेलगत्तै ४७औँ मिनेटमा चौथो गोल गरेपछि उनले टिमलाई मजबुत अवस्थामा पु¥याएका हुन् । यसैगरी टिमका लागि खेलको ३८औँ मिनेटमा योगेशकुमार बालझारे र ५३औँ मिनेटमा केशवराज जोशीले समान एक–एक गोल थपेका थिए ।
समूह ‘ए’मा चार अंक रहेको प्रदेश २ का लागि उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गर्न पुलिसलाई कम्तीमा पनि ५ गोल अन्तरले हराउनु पर्ने समीकरण बनेको थियो । सेमिफाइनल प्रवेशका लागि उक्त खेलको नतिजामा भर परेको आर्मी भने प्रदेश २ को हारसँगै उपविजेताको रूपमा सेमिफाइनल पुगेको छ ।
समूह ‘ए’को विजेता पुलिसले समूह ‘बी’को उपविजेता सुदूरपश्चिम प्रदेशसँग तथा समूह ‘बी’को विजेता प्रदेश ५ ले आर्मीसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनल चैत ३ गते पुलिस र सुदूरपश्चिमाञ्चल प्रदेश र प्रदेश ५ र आर्मीबीच हुनेछ ।
प्रतिक्रिया