संरक्षकले दिलाए एनआरएनएलाई पहिलो स्वर्ण

संरक्षकले दिलाए एनआरएनएलाई पहिलो स्वर्ण


आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत १५औँ राष्ट्रिय लनटेनिस प्रतियोगितामा एनआरएनए (अस्ट्रेलिया) का संरक्षकभूषण बज्राचार्यले टोलीलाई वैशाख २ गते सोमबार पहिलो स्वर्ण दिलाएका छन् ।

बुटवलमा भएको पुरुष सिंगल्स फाइनलमा संरक्षकले आर्मीका प्रणव खनाललाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे । गण्डकीका प्रदीप खड्का र एपीएफका सन्तोष खत्री तेस्रो भए ।

महिला सिंगल्सको उपाधि एपीएफकी प्रेरणा कोइरालाले जितिन् । फाइनलमा प्रेरणाले नेपाल आर्मीकी अभिलाषा विष्टलाई ६–० र ६–२ को सीधा सेटमा हराइन् । आर्मीकी इरा रावत र प्रदेश ३ की रायना शाह संयुक्त रूपमा तेस्रो भए ।