आफ्नो नेतृत्वमा सरकार गठन गर्न नेकपा एमाले र नेपाली काङ्गे्रस दुवै प्रमुख दल अग्रसर भए पनि आन्तरिक गृहकार्यमा एमाले अगाडि रहेको पाइएको छ । हालसम्म नेकपा एमालेको नेतृत्वलाई स्वीकार गर्ने पक्षमा सबै वामपन्थी दल एकमत भएका छन् । मतदानको दिनसम्ममा प्रचण्डले निर्णय बदलेनन् भने केपी ओलीलाई आफ्नै दलका १८३, एमाओवादीको ८२, नेकपा मालेका ५, नेमकिपाका ४, जनमोर्चाका ३, नेकपा संयुक्तका ३ र पे्रमबहादुर सिंह एकसहित जम्मा २८१ जना सांसदको समर्थन प्राप्त हुने देखिएको छ । ओलीलाई प्रधानमन्त्री बन्न कम्तीमा १६ देखि २० सांसद अपुग देखिएको छ । एमालेले केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने घोषणा गरिसकेको हुनाले पनि आन्तरिक गृहकार्यमा एमाले अगाडि देखिएको हो ।
तर, नेपाली काङ्गे्रस भने उम्मेदवार चयन गर्न पछाडि परेको छ र त्यसकारण आन्तरिक तयारीमा पनि एमालेभन्दा पछि परेको छ । काङ्गे्रसको पक्षमा आफ्नै २०७ बाहेक अरू कुन–कुन दलले समर्थन गर्ने हुन् निश्चित भइसकेको छैन । मधेसकेन्द्रित दलहरू केपी ओलीप्रति नकारात्मक भएकोले उनीहरूले काङ्गे्रसलाई समर्थन गर्ने अनुमान गरिएको छ । तर, मधेसी सांसदको मात्र समर्थनबाट सरकार गठनका लागि आवश्यक सङ्ख्या पुग्नेछैन । गैरवामपन्थी कित्ताका सबै मत एकत्रित गर्न सक्दा मात्रै काङ्गे्रस नेतृत्वको सरकार गठन सम्भव हुनेछ । काङ्गे्रसले राप्रपा नेपालका २५, राप्रपाका ११, फोरम लोकतान्त्रिकका १४, तमलोपाका ११, सङ्घीय समाजवादीका १५, सद्भावना ५, तमलोपा (यादव) का ३, राष्ट्रिय सद्भावनाका ३, थरुहटका २ तथा विश्वेन्द्र पासवान, रुक्मिणी चौधरी, अनिल झा, फोरम गणतान्त्रिक र खम्वुवानका एक–एक गरी जम्मा ९७ सांसदको समर्थन प्राप्त गर्नुपर्ने हुन्छ । उल्लिखित सबैको समर्थन प्राप्त गर्दा काङ्गे्रसको पक्षमा कम्तीमा तीन सय सदस्य सङ्ख्या पुग्नेछ ।
नेपाली काङ्गे्रसका तर्फबाट सुशील कोइराला नै प्रधानमन्त्रीको उम्मेदवार बन्नुभयो भने राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन प्राप्त हुन मुस्किल हुने बुझिएको छ । शेरबहादुर देउवा वा रामचन्द्र पौडेल उम्मेदवार बनेको अवस्थामा भने गैरवामपन्थी कित्ताका सबै मत प्राप्त हुन सम्भव मानिएको छ । तर, सुशील पनि कोइराला नै भएको हुँदा उहाँले उच्च पदका लागि अरू कुनै नेतालाई योग्य देख्ने या समर्थन गर्ने सम्भावना न्यून मात्र रहेको छ । राप्रपा नेपालका कमल थापा ठूलो भाग जतापट्टि मिल्छ उतैपट्टि मिल्ने योजनामा रहेकोले पनि काङ्गे्रसले सरकार गठनका निम्ति निकै ‘पापड बेल्नुपर्ने’ देखिएको छ ।
प्रतिक्रिया