काङ्गे्रस राजनीतिका कान्छा खेलाडी कृष्णप्रसाद सिटौला प्रतिकूल परिस्थितिमा खेलेर उच्च पद हत्याउन माहिर मानिन्छन् । कुलबहादुर गुरुङ, खुमबहादुर खड्का, डा. रामशरण महत, गोविन्दराज जोशी, डा. शेखर कोइराला, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि र लक्ष्मण घिमिरेजस्ता आफूभन्दा वरिष्ठ नेताहरू हुँदाहुँदै गृहमन्त्री, दुई दिनका लागि भए पनि उपप्रधानमन्त्री र पार्टीको महामन्त्रीजस्तो महत्वपूर्ण पद हात पार्न सफल भएका सिटौला यतिबेला केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर आफू गृहमन्त्रीसहित उपप्रधानमन्त्री बन्ने खेलमा लागेका छन् । तर, उनले यति चतु-याइँ गरेका छन् कि काङ्गे्रसभित्र ओलीलाई प्रधानमन्त्री बनाउनुप-यो भनेर कसैसँग भनेका छैनन् । सिटौलाले वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, नेता डा. रामशरण महत तथा अन्य प्रभावकारी मानिएका नेताहरूसँग भेटेर भन्ने गरेका छन्, ‘सबैभन्दा महत्वपूर्ण पद राष्ट्रपति हो, अबका दिनमा राष्ट्रपति आफ्नो भएन भने धेरै कुराहरू गुम्न सक्छ, त्यसैले हामीले कुनै पनि हालतमा राष्ट्रपति पद छोड्नुहुँदैन ।’ सकियो भने प्रधानमन्त्री पनि काङ्गे्रसकै बनाउनुपर्छ, तर राष्ट्रपतिचाहिँ छोड्न नहुने भन्दै सिटौलाले भन्ने गरेका छन्, ‘यदि हामीले एमालेलाई साथ छोड्यौँ भने हामीले तीनवटा महत्वपूर्ण पद गुमाउनेछौँ । राष्ट्रपति, प्रधानमन्त्री र सभाध्यक्ष तीनवटै पद वामपन्थीको हातमा जानेछ ।’
सिटौलाको यस अभियानलाई महेश आचार्य र नरहरि आचार्यले पनि पूर्ण सहमति जनाएका छन् । केपी ओली प्रधानमन्त्री बनेमा आफू अर्थमन्त्री बन्न पाइने लोभमा महेश आचार्यले सिटौलाको साथ दिन पुगेको बुझिन्छ । तर, नरहरि आचार्य किन सिटौलाका पक्षमा उभिएका हुन् सो भने बुझ्न सकिएको छैन । कृष्ण सिटौला स्वयम्चाहिँ केपी ओली प्रधानमन्त्री बनेको अवस्थामा आफू उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने सपना बुन्दै छन् । संविधान निर्माण प्रक्रिया सुरु भएलगत्तै केपी ओली र केपी सिटौलाबीच यस सम्बन्धमा समझदारी बनेको चर्चा राजनीतिक वृत्तमा चलेको थियो । अहिले काङ्गे्रसले राष्ट्रपति छोड्नुहुँदैन भन्ने सिटौलाले प्रधानमन्त्री सुशील कोइरालासँग चाहिँ ‘तपार्इंले प्रधानमन्त्री बन्न सके त सबभन्दा राम्रो हो, सकिँदैन भने केपी ओलीलाई प्रधानमन्त्री बनाएर भए पनि राष्ट्रपतिचाहिँ तपाईं नै बन्नुपर्छ । देउवा र रामचन्द्रले तपाईंलाई प्रधानमन्त्री बन्न कुनै हालतमा पनि दिनेछैनन्’ भन्दै आएको बुझिएको छ । उपप्रधानमन्त्रीसाहित गृहमन्त्री बनिसकेपछि काङ्गे्रसको आगामी महाधिवेशनमा सभापति पदमै चुनाव लड्ने सोचमा रहेका सिटौला आफ्नो मिसनमा सफल हुनसक्ने सम्भावना अहिलेसम्म देखिएको छैन । केही अघिसम्म मित्रराष्ट्र भारतसँगको निकटतालाई भँजाएर उच्च पदहरू हात पार्दै आएका सिटौलाको पछिल्लो समयमा भारतसँगको मित्रता सङ्कटमा परेको छ । आफ्नो उद्देश्य प्राप्तिका लागि उनले अब के भजाउने हुन् प्रतीक्षाको विषय बनेको छ ।
प्रतिक्रिया