काठमाडौं । नेपालको ३८ औं प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन् । उनले खसेको कुल मतमध्ये ओलीले ३३८ मत प्राप्त गरेका छन् । मतदानमा ५८७ जना सांसद उपस्थित थिए भने अर्का उम्मेदवार नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले २४९ मत प्राप्त गरे । ओलीको पक्षमा नेकपा (एमाले)का १८३ सांसद, एकीकृत नेकपा (माओवादी)का ८३, राप्रपा नेपालका २५, मधेसी जनअधिकार फोरम नेपाल९लोकतान्त्रिक०का १४ संसदले मतदान गरेका थिए ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको १२, नेकपा (माले) ५, राष्ट्रिय जनमोर्चाको ३, नेपाल परिवार दलका दुई, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका दुई बहुजनशक्ति पार्टी एक, मधेस समता पार्टी नेपालका एक, नेपाः राष्ट्रिय पार्टी, नेकपा (संयुक्त)का तीन सांसदले पनि ओलीलाई मतदान गरेका थिए । नेकपा (एमाले)का तर्फबाट झापा क्षेत्र नं ७ बाट संविधानसभाको दोस्रो निर्वाचनमा निर्वाचित भएका ६४ वर्षीय ओली नयाँ संविधान घोषणा भएको २१ दिनपछि प्रधानमन्त्रीमा चयन भएका हुन् ।
झापा विद्रोह हुँदै वामपन्थी राजनीतिमा तीन दशकदेखि सक्रिय नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली संविधानसभाबाट जारी नयाँ संविधानपछि मुलुकको पहिलो प्रधानमन्त्री बन्न सफल भएका छन् । मुलुकको दोस्रो ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता ओलीले प्रमुख दलको सहकार्यमा नयाँ संविधान निर्माणमा निर्णायक भूमिका निर्वाह गरेका थिए । मुलुकको ३८औँ प्रधानमन्त्री उनी छैटौँ वामपन्थी प्रधानमन्त्री हुन् । वाक्पटुतायुक्त र लामो समय जेलनेल भोगेका नेता ओली पिता मोहनप्रसाद ओली र आमा स्व. मधु ओलीको कोखबाट इवा–२, तेह्रथुममा २००८ साल फागुन ११ ९सन् १९५२/०२/२३० मा जन्मेका थिए । पछि रणामती–६, झापामा बसाइँ सर्नुभएका उहाँ त्यहीँबाट सक्रिय राजनीतिमा होमिएका हुन् । झापा विद्रोहकालीन एक मात्र जीवित नेता ओलीले लोकतन्त्र, दिगो शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका निम्ति अविचलित अडान राख्दै आएका छन् । यसअघि मुलुकको उपप्रधानमन्त्री तथा गृहमन्त्री र परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालिसकेका उनी राष्ट्रिय एकता र राष्ट्रियताका सवालमा पनि निडर तथा खरो देखिनुभएको छ । पछिल्लो समयमा पार्टीको आन्तरिक एकता सुदृढ बनाउँदै तेस्रो र चौथो ठूलो दल एमाओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायतको समर्थनमा उनी कार्यकारी प्रमुख बनेका हुन् ।
विसं २०७१ असार १९–२५ मा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको अध्यक्षमा माधवकुमार नेपालसँगको प्रतिस्पर्धामा अध्यक्ष भएका उनी २०७० माघ २१ मा भएको पार्टीको संसदीय दलको निर्वाचनमा तत्कालीन अध्यक्ष झलनाथ खनाललाई पराजित गरी दलको नेता भएका थिए ।
संविधानसभाको दोस्रो निर्वाचनमा झापा क्षेत्र नं ७ बाट निर्वाचित उनी विसं २०४८ र २०५१ मा सम्पन्न निर्वाचनमा झापा क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित हुनुभएको थियो भने २०५१ मङ्सिर १४ गते गठित नेपालको पहिलो कम्युनिस्ट सरकारमा गृहमन्त्री थिए। विसं २०५६ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नम्बर २ र ६ बाट प्रतिनिधिसभामा निर्वाचित भई पार्टीको संसदीय दलको उपनेता हुनुभएका ओली २०६३ जेठमा गठित मन्त्रिपरिषद्मा उप–प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसमेत बनेका थिए। विसं २०७० मङ्सिरमा सम्पन्न संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ७ बाट संविधानसभा सदस्यका रुपमा निर्वाचित हुनुभएका उनी आफ्नो अडानमा स्पष्ट मानिन्छन् ।
विसं २०२७ को झापा विद्रोहमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीभित्र हतियारबद्ध सङ्घर्ष वा शान्तिपूर्ण सङ्घर्ष गर्ने भन्ने बहसमा उनले शान्तिपूर्ण आन्दोलनको माध्यमबाट नै परिवर्तन गर्न सकिन्छ भन्ने वैचारिक अडान राखे पनि पार्टीको निर्णय मानी सशस्त्र सङ्घर्षमा समेत होमिए । अन्ततः विसं २०४६ को वाम प्रजातान्त्रिक सहकार्यको शान्तिपूर्ण आन्दोलनबाटै प्रजातन्त्रको पुनःस्थापना भयो, त्यसपछि पार्टीले पनि शान्तिपूर्ण रुपान्तरणको बाटो लियो । अध्यक्ष ओलीले तत्कालीन महासचिव मदन भण्डारीबाट प्रस्तुत तथा एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादको सिद्धान्त र त्यसको कार्यक्रम निर्माणका महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
विसं २०२५ देखि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीमा आबद्ध भई त्यसको नेतृत्व गरेका उनी २०२६ सालमा सङ्गठित सदस्यता पाएका थिए भने विसं २०२३ मा माक्र्सवादी अध्ययन दलमा सङ्गठित भएका थिए । विसं २०२६ मै तत्कालीन नेपाल कम्युनिस्ट पार्टीकोे उपसचिवको जिम्मेवारीमा पुगेका उनी २०२७ वैशाखमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र पूर्वकोसी प्रान्तीय कमिटीसँगको एकीकरण अभियानका अगुवा बने ।
विसं २०४४ पुस २ गतेदेखि धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा (माले)को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी बहन गरेका ओली २०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारीमा पुगे। विसं २०४७ जेठ १ गते तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ, नेपालको संस्थापक अध्यक्ष बनेका ओली २०४९ देखि २०७१ असारसम्म नेकपा (एमाले) स्थायी कमिटी सदस्य रही पार्टीको शीर्ष र लोकप्रिय नेताको स्थानमा रहे ।
विसं २०२८ वैशाखमा तत्कालीन पूर्वकोसी प्रान्तीय कमिटीबाट नेपाल कम्युनिस्ट पार्टी अलग भएपछि २०२९ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुखका रुपमा ओली अघि सरे। पञ्चायतविरोधी आन्दोलन र प्रजातन्त्र प्राप्तिका आन्दोलनमा उनी विभिन्न पटक जेल परेका थिए । पहिलो पटक उनी२०२७ फागुन १६ गते झापाबाट गिरफ्तारीमा परे र त्यसबीचमा पटक पटक गरी १० पटकभन्दा बढी गिरफ्तारीमा परे । उनीको २०३० असोज २३ गतेदेखि लामो जेल जीवन प्रारम्भ भयो । रौतहट गौर जेल, गौर थाना हुँदै वीरगन्ज थाना र २०३० मङ्सिर ८ गते उनलाई भद्रगोल जेल काठमाडौँमा चलान गरियो । पछि केन्द्रीय कारागार, नख्खु जेलमा बस्दै गर्दा २०३६ जेठमा जेलमुक्त भए। पछि फेरि २०३७ म गिरफ्तार भई २०४४ असार ११ मा भद्रगोल जेलबाट रिहा भए । तत्कालीन राजा ज्ञानेन्द्रले २०५८ माघ १९ को कदमपछि उनले नजरबन्द पनि भोग्नुपरेको थियो ।
प्रतिक्रिया