प्याराग्लाइडिङमा आर्मी टिम च्याम्पियन

प्याराग्लाइडिङमा आर्मी टिम च्याम्पियन


आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा सम्पन्न प्याराग्लाइडिङ प्रतियोगितामा नेपाल आर्मीको त्रिभुवन क्लब टिम च्याम्पियन भएको छ । वैशाख ९ गते सोमबार सम्पन्न प्रतियोगितामा नेपाल आर्मी ४ स्वर्ण र ४ रजत पदक प्राप्त गरी च्याम्पियन बनेको हो । त्यसैगरी गण्डकी प्रदेश २ स्वर्ण, १ रजत र ४ कांस्य पदक हात पार्दै दोस्रो स्थान प्राप्त गरेको छ । प्रदेश १ एक रजत र १ कांस्य पदकका साथ तेस्रो र प्रदेश ३ एक कांस्य पदकका साथ चौथो भएको छ ।

प्रतियोगितामा नेपाल आर्मीले एक्युरेसीतर्फ पुरुष र महिला इन्डिभिजुअल, टिम एक्युरेसी तथा पुरुष इन्डिभिजुअल क्रसकन्ट्रीमा गरी चार स्वर्ण पदक हात पारेको हो । त्यसैगरी गण्डकी प्रदेश महिला इन्डिभिजुअल क्रसकन्ट्री र पुरुष क्रसकन्ट्रीतर्फ २ स्वर्ण पदक हात पार्न सफल भएको छ ।

एक्यरेसी इन्डिभिजुअल पुरुषतर्फ ओभरअलमा १९ अंक बटुल्दै नेपाल आर्मीका सागर नेपालीले स्वर्ण पदक हात पारे भने नेपाल आर्मीकै ऋषि जलारी पोडेले २३ अंकका साथ रजत पदकमा चित्त बुझाए । गण्डकीका अनिष भट्टराई ३३ अंक प्राप्त गर्दै कांस्य पदक हात पारे ।

सोही इभेन्टको महिलातर्फ पनि नेपाल आर्मीकी दुर्गामाया गुरुङले ४७९ अंक प्राप्त गर्दै स्वर्ण पदक हात पारिन् । यसै गरी गण्डकीकी प्रतिभा भुजेलले ५४० अंकका साथ रजत र गण्डकीकै सबिता तामाङ ५७३ अंक बटुल्दै कांस्य पदक हात पारिन् ।

एक्युरेसी टिम इभेन्टमा नेपाल आर्मी १७५ अंक प्राप्त गर्दै स्वर्ण पदक हात पार्न सफल भएको छ भने प्रदेश १ ले १०१९ अंकका साथ रजत पदक हात पारेको छ । गण्डकी प्रदेश १३४५ अंक प्राप्त गरी कांस्य पदकमा चित्त बुझाएको छ ।

यसैगरी क्रसकन्ट्री पुरुष इन्डिभिजुअलमा नेपाल आर्मीका सुरज थापाले ओभरअलमा २५९५ अंक बटुल्दै स्वर्ण पदक हात पारेका छन् । नेपाल आर्मीकै विशाल थापाले २५५० प्राप्त गरी रजत पदक हात पार्दा गण्डकीका आशिष थापाले २५४५ अंकका साथ कांस्य पदकमा चित्त बुझाएका छन् ।

क्रसकन्ट्री महिला इन्डिभिजुअल इभेन्टमा गण्डकीकी त्रिशा बमजनले ११३५ अंकका प्राप्त गर्दै स्वर्ण पदक हात पारेकी छिन् भने नेपाल आर्मीकी स्वस्तिका गुरुङले ६५७ अंक बटुल्दै रजत पदक हात पारिन् । प्रदेश १ की सुष्मिता सुनुवार ३४५ अंकका सात तेस्रो हुँदै कांस्य पदक पाइन् ।

क्रसकन्ट्री पुरुष टिम इभेन्टमा गण्डकी प्रदेशले कुल ९५७६ अंक प्राप्त गरी स्वर्ण पदक हात पारेको छ । सोही इभेन्टमा नेपाल आर्मीले ९११४ अंक बटुल्दै रजत पदक हात पार्दा प्रदेश ३ ले ८४४७ अंक प्राप्त गरी कांस्य पदक हात पारेको हो ।

यही वैशाख ६ गतेबाट पोखरामा शुरु भएको प्याराग्लाइडिङ प्रतियोगितामा ६ स्वर्ण, ६ रजत र ६ कांस्य पदकका लागि १० महिलासहित पुरुष ४९ गरी कुल ५९ जना खेलाडी भिडेका थिए । प्रतियोगितामा पाँच प्रदेशसहित नेपाल आर्मीले सहभागिता जनाएका थिए ।

विबजयी खेलाडीलाई पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिशी, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) का अध्यक्ष रूपनारायण श्रेष्ठ, महासचिव शैलेन्द्र राउत, नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष योगेश भट्टराईलगायतले पदक, प्रमाणपत्र तथा आठौँ राष्ट्रिय खेलकुदको लोगोअंकित मायाको चिनो वितरण गरेका थिए ।