मलाई पुरुषको आँखा मनपर्छ नन्दिता

मलाई पुरुषको आँखा मनपर्छ नन्दिता


-राजन घिमिरे
० बाहिर हिँडडुल गर्दा प्राय: तपाईं के खान रुचाउनुहुन्छ ?
– बाहिरको खाना त्यति खानै मन पर्दैन । नखाइनहुने अवस्थामा जुस खान्छु ।
० प्राय: तपाईंको पर्समा कति पैसा हुन्छ ?
– पैसा बोकेर त आजभोलि कामै चल्दैन, नोटको कुरा गर्नुहुन्छ भने त्यो पनि त्यति धेरै बोक्दिनँ, त्यस्तै हजार-पन्ध्र सय मात्र । किनभने एटिएम कार्ड पनि साथैमा हुन्छ नि त ।
० तपाईंको दैनिक मोबाइल फोनमा खर्च कति हुन्छ ?
– अरूलाई फोन गर्ने बानी छैन मेरो, काम परेकाहरूले नै फोन गर्छन् । त्यसैले पाँच सयको रिचार्ज गरेँ भने दश/पन्ध्र दिन चल्छ ।
० महिनाभरिमा बढी फोन कसलाई गर्नुहुन्छ ?
– मेरी बहिनीलाई ।
० पूर्वजन्म हुन्छ कि हुँदैन होला ?
– खासै हुन्छजस्तो त लाग्दैन है मलाई ।
० स्वर्ग र नर्क छ भनिन्छ नि, मरेपछि कहाँ पुगिन्छ होला ?
– कसैले देखेका छैनन्, त्यसैले मरेपछि स्वर्गै पुगिन्छ भन्छु म त । स्वर्ग र नर्क छ भन्ने लाग्छ ।
० प्राय: राति सुत्ने समय ?
– एघार त बज्छ ।
० बिहान उठ्ने समय नि ?
– बिहान त सधैंजसो ६ बजे ।
० पुरुषको कुन अङ्ग मनपर्छ र किन ?
– मलाई पुरुषको सबैभन्दा बढी मनपर्ने अङ्ग आँखा हो । किनभने, आँखाबाट धेरै कुरा थाहा पाउन पनि सकिन्छ ।
० देखेकोमध्ये अहिलेसम्मकै डरलाग्दो सपना ?
– धेरै छन्, सम्झन पनि चाहन्नँ ।
० अहिलेसम्मको सबैभन्दा खुसीको कुरा ?
– मेरी आमाको छोरी भएर जन्मन पाएकोमा धेरै खुसी लागेको छ ।
० तपार्इंले बोलेको एक कुरा पूरा हुने भयो भने… ?
– आमा-बुबा सधैं सँगै रहनुभए हुन्थ्यो भन्ने एउटा चाहना छ भने देशमा शान्ति स्थापनाको पनि पहल गर्थें म त ।
० कसैसँग पे्रममा परेको अनुभव छ कि छैन ?
– धेरै छ, फरक-फरक छ, बाबु-आमासँग छुट्टै, साथीभाइसँग छुट्टै ।
० तपाईंको खराब पक्ष के हो जस्तो लाग्छ ?
– म सबैको छिट्टै विश्वास गर्छु जसले गर्दा धेरैपटक दु:ख पाएकी छु ।
० टाइमपास कसरी गर्नुहुन्छ ?
– सुटिङ नभएको समय घरमै बस्छु, सिनेमाहरू हेर्छुसाथीसङ्गीसँग घुम्छु ।
० तपाईंलाई बढी के गर्न मनपर्छ ?
– म सङ्गीत धेरै सुन्छु, म्युजिक मेरो जीवन हो जस्तो लाग्छ ।
० जीवनको पहिलो कमाइले के किन्नुभयो ?
– केही खास किनेको सम्झना छैन, सायद फाल्तु खर्च गरेर सिध्याएँ ।
० जिन्दगीको लक्ष्य के छ ?
– लक्ष्य बोकेर हिँड्दिनँ, किनकि पूरा नहुँदा दु:खी भइन्छ ।
० आफूभन्दा धेरै उमेरको केटाले विवाह प्रस्ताव राख्यो भने के गर्नुहुन्छ ?
– हाँसेरै टार्नेबाहेक मसँग कुनै उपाय नै हुँदैन ।

मौसमीले बदला लिने
जीवनमा जति कमाइन् त्यति सबै खन्याइन् उनले चलचित्र निर्माणका लागि । ठूलो सपना र उद्देश्य बोकेर मौसमी मल्लले बनाएको चलचित्र ‘गिरफ्तार’ राम्रोसँग पनि चल्न पाएन हलहरूमा । त्यसो त जति ठाउँमा चल्यो ती ठाउँमा रामै्र दाम पनि कमायो यो फिल्मले, तर भनेजस्तो नचल्नाले मौसमी आर्थिक मारमा त परिन् परिन् अरू हलहरूमा ‘गिरफ्तार’ राम्रोसँग चल्न नै पाएन । कारण थियो- चलचित्रको भीसीडी नक्कल गर्ने गिरोहले सिनेमा हलमा लाग्नुअगाडि नै गिरफ्तारको भीसीडी छ्यापछ्याप्ती गराइदिए ।
दु:खसुख गरेर जोरजाम गरेको आफ्नो रकममाथि यसरी गिरोहले खुलेआम यस्तो काम गरेपछि त्यो पीडामा परेकी मौसमीले चलचित्रहरूको भीसीडीको नक्कल गरेर बेच्ने गिरोहविरुद्ध प्रशासनदेखि प्रहरीसँग मात्र नभएर चलचित्र क्षेत्रसँग आबद्ध सबै सङ्घसंस्थासमक्ष पनि हारगुहार गरिन् । तर, कतै कुनै पनि पक्षबाट उनको सुनुवाइ भएन । आज संयोगवश तिनै पीडित मौसमी नेपाली चलचित्र क्षेत्रको सर्वोच्च सङ्घ चलचित्र विकास बोर्डको सदस्य भएकी छिन् र यतिबेला उनलाई बोर्डको पाइरेसी नियन्त्रण समितिको संयोजक पनि बनाइएको छ ।
‘खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ भनेजस्तै मलाई थाहा छ आफ्नो चलचित्रको नक्कली भीसीडी गरेर बेच्ने गिरोहको कार्यलाई टुलुटुलु बसेर हेर्नुपर्दाको अवस्था । अब कसैलाई छाड्दिनँ,’ मौसमीको प्रतिबद्धता छ । पाइरेसी नियन्त्रण समितिको संयोजक मौसमी भएपछि उनलाई राजनीतिक दबाब पनि आउन थालेको छ । ‘कहाँ, कसले, कसरी फिल्मको प्रतिलिपि गर्छ मैले बुझेकी छु । त्यस समयमा मसँग केही थिएन तर अब अधिकार हातमा आएकाले चोरहरूलाई छाड्दिनँ,’ उनले आक्रोशित हुँदै भनिन् । अरूको धनले बनाएको सिर्जनाको कालो व्यापार गर्नेविरुद्ध आफू दिलोज्यानले लाग्ने कुरा बताएकी मौसमीले यो कार्यको सुरुवात गरिन् यसै साता भक्तपुरबाट । ‘त्यहाँको ठूलै गिरोहलाई समातियो । अब यस्ता गिरोहहरू समातिँदै जानेछन् । नेपाली सिनेमालाई धराशायी पार्ने जोकोहीलाई पनि छाडिँदैन,’ मौसमीले बताइन् ।
देशव्यापी रूपमा पाइरेसीविरुद्ध लाग्ने योजनाका साथ यतिबेला चलचित्र विकास बोर्ड लागिपरेकोमा चलचित्र क्षेत्र उत्साहित भइरहेको छ । ‘पाइरेसी कम गर्न सकेमा पनि निर्माताहरूको थुप्रै लगानी बच्न सक्छ,’ चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले भने ।

सरिताको श्रीमान्/श्रीमती
सरिता लामिछानेले अहिलेसम्म जति टेलिफिल्म र फिल्म खेलिन् ती सबै हिट भए । पारिश्रमिक आइहाल्छ खेलौँ न त भन्ने गलत सोच उनमा आएको देखिँदैन । आफ्नो क्रेज अनि आफूलाई सुहाउँदो भूमिकामा मात्र देखिँदै आएकी सरिताका प्रशंसकहरूका लागि एउटा नयाँ चलचित्र आउने भएको छ- श्रीमान्/श्रीमती ।
पर््रदर्शनका लागि तयार भएका सिनेमाहरूको भीडमा अलग चर्चा र प्रतीक्षा गराउन सफल श्रीमान्-श्रीमतीमा सरिताले बोलेका चोटिला र मन छुने संवादले पनि यो चलचित्रप्रति दर्शकहरूमा कुतूहल जागेको कुरा चलचित्रका प्रस्तुतकर्ता मुनाल घिमिरे बताउँछन् । भदौ २ गतेदेखि नेपालभरका हलबाट एकसाथ लाग्न लागेको श्रीमान्/श्रीमतीलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । परिवारभित्र श्रीमतीको कर्तव्य अनि श्रीमान्को दायित्वबीच समझदारी नहुँदा आउने असझदारी यो चलचित्रको मूलकथा हो । ‘हामीले यो चलचित्रमा कुनै ठूलो कुरा होइन परिवारकै कुरा राखेका छौँ । सबैले आफूलाई पाउनेछन् यो चलचित्रमा,’ निर्देशक लामिछानेले बताए ।