लण्डन – भरखरै ग्यास र बिजुली सप्लाई गर्ने कम्पनीहरुले विभिन्न बहाना गरेर ग्यासबिजुलीको भाउ बृद्धि गरे लगत्तै अहिले थेम्स वाटर कम्पनीले प्रत्येक महिना खपत गर्ने पानीको मुल्यमा बृद्धि हुनेकुरा प्रकाश पारेको छ । दुईवर्ष अघि पानी सप्लाई गर्ने कम्पनीहरुले सुक्खाको बहाना गरेर मुल्य बृद्धि गर्न खोजेका थिए । तर, त्यसवर्ष बाढी नै आउने अति वृष्टि भएपछि पानीको मुल्य बृद्धि गर्न सकेको थिएन । त्यसबेला पानी भण्डार गर्ने तलाउ या ट्याङ्कीहरुको सतह पानी नपरेकाले गर्दा समस्या सिर्जना भएको कुरा बताएको थियो । पोहोरदेखि हल्का मुल्य बृद्धि गर्दा थेम्स वाटरलाई निकै फायदा भएको कुरा विश्लेषकहरुबाट थाह हुन आएको थियो । पानीको निकास र पानी राम्रोसंग भण्डार गर्नको लागि पाईपहरु लगायत अन्य खर्चहरुको कुरा उठाएर मुल्य बृद्धि गर्न खोजेको थियो । ग्यास कम्पनीहरुले तीन तीन पटक मुल्य बृद्धि गरिसकेका छन् । अब थेम्स वाटर कम्पनीले प्रत्येक उपभोक्ताहरुको घरहरुमा विधुतीय शैलीको मिटर जडान गर्ने कुरा बताएको छ । अहिलेसम्म मिटर जडान नगरी क्षेत्रगत हिसाबमा पानीको पैसा असुल गर्दै आएको छ । यदि अनिवार्य विधुतीय शैलीको मिटर बक्स जडान गरिएमा एक वर्षमा ६ जना परिवार रहेको घरले वर्षमा ६३७ पाउण्ड पानीको बिल तिर्नु पर्ने हुन्छ जबकि अहिले वर्षमा तीनसय बारह पाउण्ड जतिमात्र तिर्दै आएको छ । पानीको मिटर जडान गरे पानीको खपतमा नियन्त्रण हुन्छ र लण्डनमा पानीको कमी हुने छैन भनेर कुरा बङ्ग्याउँदै फाईदा लुट्ने काईदा निकालेको छ । कम्पनीको भनाई अनुसार जति बढि पानी प्रयोग गरिन्छ उति धेरै बिल तिर्नु पर्ने हुन्छ भनेको छ । स्तम्भकारले विगत तीनवर्ष देखि तीनसय पाउण्ड भन्दा कम पानीको महशुल तिर्दै आएको थियो । तर, अब मिटर जडान गरेपछि दोब्बर तिर्नु पर्ने देखिन्छ । उपभोक्ताले नै मार खेप्ने बेला आएको छ अब ग्यास विजुली पछि पानीको खपत बाट ।
प्रतिक्रिया