राहत शिक्षक कोटामा आफन्त उत्तीर्ण गराएपछि…

राहत शिक्षक कोटामा आफन्त उत्तीर्ण गराएपछि…


  • हेमशंकर सिंह, राजविराज

राहत शिक्षकको दरबन्दीमा सुनियोजित रूपले विद्यालय प्रधानाध्यापककी छोरी र नगरपालिका प्रमुखका माइजू–सासुलाई उत्तीर्ण गराएपछि वडाअध्यक्षसहित व्यवस्थापन समितिका केही सदस्य र स्थानीयहरू आन्दोलित भएका छन् ।

सप्तरीको बोदेबरसाइन नगरपालिका–७ स्थित महेन्द्र चुन्नी माध्यमिक प्रधानाध्यापक, व्यवस्थापन समिति अध्यक्ष र स्थानीय तहका प्रमुखले नातागोता आफन्तलाई शिक्षकमा नियुक्ति गर्न लिखित परीक्षापूर्व प्रश्नपत्र आउट भएको भनेर विरोध भएपछि मौखिक परीक्षा स्थगित गरिएको थियो ।

तर, एक्कासी वैशाख १६ गते मौखिक परीक्षा लिएर विद्यालयका प्रधानाध्यापक हरिवंश मंडरले परीक्षामा आफ्नी छोरी सरस्वती कुमारी र नगरप्रमुख आतेशकुमार सिंह यादवले आफ्नो माइजू–सासु लिलमकुमारी यादवलाई उत्र्तीण गराएपछि विवाद चर्किएको हो ।

समाजिक विषयको मावि स्तरको एक सीटमा नगरप्रमुखनजिकका विनोदकुमार यादव र व्यवस्थापन समिति अध्यक्षनजिकका निरन्जनकुमार पण्डितलाई उत्तीर्ण गराउने खिचातानीले सो विषयको मौखिक परीक्षा नै स्थगित गरिएको व्यवस्थापन समितिका सदस्य देवनारायण प्रमाणीले जानकारी दिएका छन् ।

सो वडाका वडाअध्यक्ष विजयनारायण कापैरसहित व्यवस्थापन समिति सदस्यत्रय प्रमाणी, सुवोध झा, संगीताकुमारी दास र स्थानीय दिनेश यादवसहित परीक्षामा समिलित अन्य उम्मेदवार स्थानीयसहित करिब ५० जना बढीले बुधबार राजविराजको शिवमन्दिर परिसरमा पत्रकार सम्मेलन गरी प्रअ, व्यवस्थापन समिति र नगरप्रमुखले जवर्जस्ती उत्र्तीण गराएकाले तत्काल बदरको माग गर्दै थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रलोभनमा परी आफ्ना नातागोतालाई नियुक्त गरेकोले यसले विद्यालयको वातावरण प्रभावित भएको समेत पत्रकार सम्मेलनमा उपस्थित वडाअध्यक्ष कापैरले दाबी गरे । व्यवस्थापन समितिले गर्ने गरेको यस्तो निर्णयप्रति आफू सहमत नरहेको उनले बताए ।

चैत २९ गते राहत दरबन्दीका लागि लिइएको लिखित परीक्षाको परिणाम त्यही दिन सार्वजनिक गरिएको थियो । सोही दिन नतिजा सार्वजनिक भएलगत्तै बोदेबरसाइन नगरपालिका उपप्रमुख रञ्जुकुमारी साहको पहलमा परीक्षाको बस्तुगत प्रश्नपत्र बाहिरिएको भन्दै केही परीक्षार्थीले स्थगनको माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा निवेदन दर्ता गराएका थिए । जिल्ला प्रशासन कार्यालयले आवश्यक जाँचबुझ गर्न शिक्षा विकास तथा समन्वय एकाइलाई पत्र लेखियो ।

यसैबीच परीक्षा समितिले लिखित परीक्षाको नतिजापछि तुरुन्तै ६ बजे साँझ मौखिक परीक्षाको लागि समय तोकेको थियो । परीक्षा रद्दको लागि निवेदन दर्ता भएपछि समितिले आफै राती भयो भनी मौखिक परीक्षा स्थगन गरेको सूचना टाँस गरेका थिए । विद्यालयले आफ्नो विद्यालयमा वा बोदेबरसाइन नगरपालिकामा शिक्षक नियुक्तिको लागि परीक्षा सञ्चालन नगरी राजविराजस्थित थानगाछी विद्यालयमा परीक्षा सञ्चालन गरेका थिए ।

शिक्षक छनौट समितिले माध्यमिक तहमा सामाजिक र विज्ञान विषयमा एक-एक जना र निमावि तहमा सामाजिक र नेपाली विषयमा एक÷एकजना राहत शिक्षकका लागि परीक्षा लिएको थियो । मावि सामाजिकमा सात, विज्ञानमा दुई, निमावि सामाजिकमा १२ र नेपालीमा नौ जना गरी ३० जनाले आवेदन गरेका थिए ।

परीक्षामा अनियमितता भएको भन्दै परीक्षाथीहरू राजसेवी कुमारी राउत, बुधेश्वर राम, आरतीकुमारी यादवले परीक्षाको बस्तुगत प्रश्नपत्र आउट भएको भन्दै परीक्षाको बाँकी परीक्षा स्थगनको माग गर्दै जिल्ला प्रशासनमा निवेदन दिएका थिए । शिक्षक नियुक्तिका लागि बादेबरसाइन नगरपालिका प्रमुख आतेशकुमार सिंह यादवको ससुरा तर्फको माइजु निलमकुमारी यादव, विद्यालयाका प्रधानाध्यापक हरिबंश मंडरकी छोरी सरस्वतीकुमारी मण्डल, विद्यालय व्यवस्थापन समितिका सदस्य देवनारायण प्रमाणीकी श्रीमती राजसेवीकुमारी मण्डल, अर्का सदस्य संगिताकुमारी दासको श्रीमान जीतन दासले आवेदन दिएका छन् । उनीहरुसहित लिखित परीक्षामा १२ जना उत्तीर्ण पनि भएका थिए ।

लिखित परीक्षाको लागि परीक्षास्थलमै हस्तलिखित प्रश्नपत्र तयार गरिएकोे थियो । तर, प्रश्नपत्रको फोटोकपी गराउन जाँदा बाटोमा प्रश्नपत्र बाहिरिएको परीक्षापछि थाहा भएकोले स्थगनको माग गरी निवेदन दिएका परीक्षार्थी राजसेवीको कथन छ ।

यता परीक्षा लिन रमाना हुनु एकदिन अगाडी शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका शाखा अधिकृत छवि खड्काले चैत २९ गते लिखित परीक्षा लिएका थिए भने अर्का शाखा अधिकृत दिपकुमार यादव पनि रमाना हुनु एक दिनअघि मौखिक परीक्षा लिएको छ । र, उत्तीर्ण गरीएका उम्मेदवारलाई प्रश्नप्रत्र पनि परीक्षाअगावै दिएको विद्यालय व्यवस्थापन समितिका सदस्य देवनारायण प्रमाणीको दाबी छ । यो राहत दरबन्दी २०६७/०६८ आवकै रहेको तर पटक–पटक विवादका कारण स्थगित हुँदै आएको थियो ।