जैविक मल र विषादी बनाउने तालिम सम्पन्न

जैविक मल र विषादी बनाउने तालिम सम्पन्न


मायादेवी गाउँपालिका रुपन्देहीको आयोजना, बस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ काठमाडौंको प्रविधिक सहयोगमा मायादेवी गाउँपालिका वडा नं ३ मा जैविक मल र जैविक विषादी बनाउने तालिम सम्पन्न भएको छ ।

मायादेवी गाउँस्तरीय समितिको संयोजनमा यही वैशाख १४ देखि १८ सम्म सञ्चालित माटो र आमाको स्वास्थ्य सुधार अभियानअन्तर्गत भान्सा नै औषधालय भन्ने मूल मन्त्रका साथ उक्त कार्यक्रम सञ्चालन गरिएको तालिमका प्रशिक्षक तथा कृषि तथा वातावरण विज्ञ रोमलाल गिरीले बताए ।

स्थानीय स्तरमा भएका जडीबुटीको प्रयोग गरेर स्थानीय स्तरमै जैविक मल, जैविक विषादी र अचार बनाउने तालिम स्थानीयहरुलाई दिएर सर्ब अन्न, सर्ब चटनी, सर्ब तरकारी, सर्ब दाल, सर्ब जडीबुटी कसरी बनाउने, ती चिजहरुलाई कसरी शरीरभित्र पठाउने अनि कसरी माटो र आमालाई पूर्ण बनाउने भन्ने जानकारी दिनु तालिमको मूख्य उद्देश्य रहेको प्रशिक्षक गिरीले बताए ।

तालिमप्राप्त व्यक्तिहरुले एकजनाले कम्तीमा १० जनालाई तालिम दिएर १ वर्षभित्रमा मायादेवी गाउँपालिकाका १, २ र ३ नम्बर वडालाई भान्सा नै औषधालय वडा घोषणा गर्ने योजना रहेको पनि गिरीले बताए ।

तालिममा मायादेवी गाउँपालिकाका ३२ जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए ।