सम्धीलाई प्रधानाध्यापक नियुक्ति गरेपछि…

सम्धीलाई प्रधानाध्यापक नियुक्ति गरेपछि…


  • हेमशंकर सिंह, राजविराज

सप्तरीको शम्भुनाथ नगरपालिका ७ स्थित बुद्धिलाल विद्या मुनर माध्यमिक नमूना विद्यालयमा कनिष्ठ शिक्षकलाई व्यवस्थापन समिति अध्यक्षले प्रधानाध्यापकमा नियुक्त गरेको सोही विद्यालयका एक शिक्षकले आरोप लगाएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ९३ वर्षीय सबुरलाल चौधरीले साइनोमा सम्धी पर्ने कनिष्ठ शिक्षक तुलसीदास चौधरीलाई प्रधानाध्यापकमा नियुक्त गरेको आरोप सोही विद्यालयमा कार्यरत शिक्षक गजेन्द्र दासले लगाएका छन् ।

प्रधानाध्यापकमा नियुक्तिका लागि मूल्यांकनमा सर्वाधिक अंक प्राप्त गरी उत्तीर्ण भएका कनिष्ठ शिक्षक तुलसी दास चौधरी मावि तह तृतिय श्रेणी र शिक्षाशास्त्र पृष्ठभूमि नभएको शिक्षक रहेको दाबी गर्दै दासले मिलोमतोमा मूल्याकंन समितिले विद्यालयका द्वित्तिय श्रेणी, शिक्षाशास्त्रमा स्नातकोत्तर उत्तीर्ण, सहायक प्रधानाध्यापकसमेत रहेका आफुलाई कमजोर मूल्यांकन गरी अनत्तीर्ण गराएको आरोप लगाएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ९३ वर्षीय सबुरलाल चौधरी राम्ररी देख्न र सुन्न नसकिरहेको अवस्थामा उनका छोरा देवराजले नै सघाएर आफ्नो मामा ससुरा नाताका शिक्षक तुलसी दास चौधरीलाई प्रधानाध्यापक बनाउन खेलमा सक्रिय भएको गुनासो दासले बिहीबार राजविराजमा पत्रकार सम्मेलन गरी पोखेका छन् ।

प्रधानाध्यापकका लागि विद्यालय विकास प्रस्तावना मूल्यांकन समितिमा प्रस्तुत गर्दा आफनो प्रस्तुती सर्वोत्कृष्ठ रहेको दाबी गर्दै दासले भने,’प्रतिष्पर्धीको तुलनामा कयौँ गुणा मेरो प्रस्तुती राम्रो थियो, मूल्यांकन समितिका सदस्य विषय विशेज्ञ केदारप्रसाद खनाल र नगरपालिका शिक्षा अधिकृत भोगेन्द्रप्रसाद यादव दुबै एकदमै खुशी थिए । तर, मूल्यांकन समितिका संयोजक बद्रीनारायण चौधरीले उहाँहरुको मूल्याकनको अंक हेरेर मलाई उछिन्न नसकिने गरी दोब्बर अंक दिएर तुलसीलाई उत्तीर्ण गराए । मूल्यांकन समितिका सदस्य, विद्यालय विकास प्रस्तावनासम्बन्धी प्रस्तुतीका बेला उपस्थित पूर्वप्रधानाध्यापक भोगेन्द्र झासमेत दुःखी रहेका उनले बताए ।

नातावाद, कृपावाद एवं जातीवाद भेदभावको प्रभावले प्रधानाध्यापक छनौट प्रक्रिया नियम ९३ अनुसार नभएको र सहि मूल्याकंन पनि नभएको कारण सत्यतथ्य छानविन गरेर मूल्यांकन समिति गठन गरी पुनः छनौट प्रक्रिया एवं मूल्याकंन गर्न दासले मागसमेत गरेका छन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सबुरलाल चौधरी ७३ वर्षे वृृद्ध अवस्थाका कारण एकदम कम सुन्ने र कम देख्ने गरेकोले कुरा गर्न असमर्थताले उनको काममा सघाइ रहेका उनका छोरा देवराज चौधरीले प्रधानाध्यापकमा नियुक्त गरिएको तुलसी चौधरी ससुरा भएको स्वीकार गर्दै मूल्याकंन समितिको मूल्यांकनको आधारमा नियुक्त भएको बताए । ‘यसमा के के भयो मलाई थाहा छैन, उनले भो, जे गऱ्यो मूल्याकंन समितिले गऱ्यो ।’

सोही सम्बन्धमा मूल्याकंन समितिका संयोजक बद्रीनारायण चौधरीले विद्यालय विकास प्रस्तावनाको मूल्यांकन प्रक्रियागत अनुसार गरिएको दाबी गर्दै नमूना विद्यालय व्यवस्थापन निर्देशिका २०७४ मा अंकन गर्ने प्रक्रिया स्पष्ट नरहेको बताए । दास सरको प्रस्तुती राम्रो भएपनि अन्य प्रक्रियामा अंक कम प्राप्त भएको कारण चौधरी उतिर्ण भएको उनले बताए ।

प्रधानाध्यापक छनोटका लागि विद्यालय विकास प्रस्तावना प्रस्तुती मूल्यांकनमा सहभागी सोही विद्यालयका पूर्वप्रअ भोगेन्द्र झाले उत्तिर्ण भएको भन्दा धेरै राम्रो अनुतिर्ण दास सरको प्रस्तुती रहेको बताए । मूल्याकंन समिति सदस्य विषय विशेज्ञ केदारप्रसाद खनाल र शम्भुनाथ नगरपालिका शिक्षा अधिकृत भोगेन्द्रप्रसाद यादवले समग्रमा दास सरको राम्रो भएपनि औषत अंकले अनुतिर्ण भएको भन्दै प्रक्रियागत तरिकाले नै छनौट भएको बताए । पाँचवर्षे करार प्रधानाध्यापक नियुक्तिका लागि दुई दिन अघि प्रस्तावना प्रस्तुती मूल्यांकन गरी हिजो बुधबार परिणाम सार्वजनिक गरिएको छ ।

मूल्यांकनमा पारदर्शिता कायम होस् भन्ने मनासायले विद्यालय विकास प्रस्तावना प्रस्तुती बेला नगर प्रमुख योगेन्द्रप्रसाद चौधरी, उपप्रमुख कबिताकुमारी सरदार, प्रमुख प्रशासकीय अधिकृत बिनोद भण्डारी लगायत बुद्धिजिवीहरुको सहभागीता रहेको थियो । उनीहरुले दास सरको प्रस्तुतीबाट खुशी भई अग्रिम बद्याई तथा शुभकामना समेत दिएको बताइएको छ ।