‘समझदारी, सहयोग र सहकार्य अभिवृद्धिमा उपलब्धिपूर्ण’

‘समझदारी, सहयोग र सहकार्य अभिवृद्धिमा उपलब्धिपूर्ण’


  • शरच्चन्द्र भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार सम्पन्न चीनको आठ दिवसीय राजकीय भ्रमण नेपाल र चीनबीच समझदारी, सहयोग र सहकार्य अभिवृद्धिका निम्ति उपलब्धिपूर्ण रहेको महसुस गरिएको छ ।

गणतन्त्र नेपालको राष्ट्रपतिबाट सम्पन्न चीनको यो पहिलो राजकीय भ्रमण भएकोले यसको विशेष महत्व रहेको तथ्य निर्विवाद छ भने चीन सरकार र त्यहाँका सञ्चारमाध्यमले राष्ट्रपति भण्डारी नेतृत्वको प्रतिनिधिमण्डललाई दिएको उच्च महत्वले नेपालप्रतिको चिनियाँ सद्भावलाई प्रतिबिम्बित मात्र गरेको छैन, त्यसले आपसी सम्बन्धलाई थप प्रगाढ बनाएको छ । यसअघि नेपालका प्रथम राष्ट्रपतिबाट चीनको भ्रमण भए पनि त्यसले राजकीय सम्मान र महत्व पाएको थिएन ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र उहाँका चिनियाँ समकक्षी सी चिनफिङलगायत उच्च राजनीतिक नेतृत्वसँग भएका सारगर्वित विचारविमर्शबाट दुई मुलुकबीच समझदारी, सहयोग तथा सहकार्यमा अभिवृद्धि भई द्विपक्षीय सम्बन्ध अझ सुदृढ तुल्याउन मद्दत मिलेको छ ।

नेपाल र चीन कूटनीतिक सम्बन्ध स्थापनाको झण्डै साढे छ दशकको अवधिमा अझ भनौ दुई देशको इतिहासमा पहिलोपटक पारवहन यातायात सम्झौताको ‘प्रोटोकल’ मा हस्ताक्षर भएको छ । यो सम्झौताले चीनको भूभाग हुँदै समुद्रसम्मको नेपालको पहुँच स्थापित भएको छ । साथै यसले नेपालको तेस्रो मुलुकसँग व्यापारिक कारोवारका लागि चिनियाँ भूभाग भएर समुद्रसम्म पहुँच सुनिश्चितमात्र गरेको छैन, नेपालको पारवहन सुविधालाई विविधीकरण गरेको छ ।

नेपाल र चीनबीच हिमालय वारपार बहुआयामिक ‘कनेक्टिभिटी नेटवर्क’को बृहत्तर ‘फ्रेमवर्क’लाई दुवै देशले ठोस र योजनाबद्ध ढङ्गले अगाडि बढाउन सहमत हुनु अनि विद्यमान चिनियाँ सहयोगअन्तर्गतका मर्मत तथा संभार परियोजनाहरुको हस्तान्तरण, भन्सारसम्बन्धी विषयमा सहयोग एवं पारस्परिक प्रशासनिक सहायतासम्बन्धी सम्झौता, गुणस्तर मापनसम्बन्धी सहयोगमा समझदारी, आर्थिक तथा प्राविधिक सहायतासम्बन्धी सम्झौतालाई उपलब्धिपूर्ण मान्नुपर्छ ।

नेपालको उत्तरी भागमा जीविकोपार्जनको क्षेत्रमा सहयोगलाई सुदृढ गर्ने, सांस्कृतिक सम्पदाको चोरी, अदृश्य उत्खनन र गैरकानूनी पैठारी तथा निकासी रोकथामसम्बन्धी सम्झौताका साथै आर्थिक तथा प्राविधिक सहायतासम्बन्धी सम्झौताअन्तर्गत चीन सरकारले नेपाललाई अनुदान स्वरुप उपलब्ध गराउने एक अर्ब युआन जनताको जिविकोपार्जनमा सुधार, भूकम्पपछिको पुनर्निर्माण तथा पूर्वाधार क्षेत्रका आपसी सहमतिमा निर्धारण भएका परियोजनाहरूमा खर्च गरिने घोषणाले नेपालप्रतिको चीनको उदार भाव मुखरित गरेको छ ।

नेपाल सरकारको आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न नेपालमा वैदेशिक लगानी आवश्यक रहेको र सरकारले वैदेशिक लगानीका लागि उपयुक्त वातावरण सिर्जना गर्न विभिन्न नीतिगत तथा कानूनी सुधारहरु गरेको जानकारी दिँदै चिनियाँ लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि राष्ट्राध्यक्षको तहमा भएको आह्वान, ‘बेल्ट एण्ड रोड फोरम’ले ‘बीआरआई’लाई ‘कनेक्टिभिटी’ तथा पूर्वाधार विकासको माध्यमबाट आर्थिक विकास हासिल गर्न सकिने माध्यमको रुपमा यसको महत्व स्थापित गरेको अभिव्यक्ति दिनु तथा राष्ट्रपति सीले नेपाल–चीनबीच हिमालयपार बहुआयामिक सम्बन्ध सञ्जालको बृहत्तर ‘फ्रेमवर्क’ अन्तर्गत सीमापार रेलमार्गलगायत पूर्वाधार विकासमा चीनले सहयोग गर्ने घोषणा गर्नुलाई भ्रमणको अर्को उपलब्धि मान्नुपर्छ ।

नेपालको राष्ट्रिय प्राथमिकताका आधारमा शिक्षा, निर्यात व्यापार प्रवद्र्धन र व्यापारिक नाकाहरु खोल्ने विषयमा बेइजिङको सकारात्मक जवाफ तथा त्यस दिशामा सघाउन उसको तत्परता तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा गर्न तथा नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन चिनियाँ सहयोग रहने राष्ट्रपतिको तहबाट व्यक्त प्रतिबद्धतालाई कम आँक्न मिल्दैन ।

राष्ट्रपति भण्डारीले बीआरआई सहकार्य, सहयोग तथा ‘कनेक्टिभिटी’का लागि महत्वपूर्ण मञ्चका रुपमा स्थापित भएको तथा त्यसले अर्थतन्त्रहरुलाई एकीकृत गर्न, बजारहरुलाई जोड्न तथा पूर्वाधारहरुमा लगानी गर्न प्रोत्साहित गर्ने एवं विश्वव्यापी रुपमा स्रोत साधनको ठूलो अभाव रहेको परिप्रेक्ष्यमा दिगो विकासका लक्ष्यहरु कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै पृथ्वीको सुन्दर तथा अझ उज्ज्वल भविष्यका लागि ‘कनेक्टिभिटी’मा अभिवृद्धि तथा हरित विकासमा जोड दिएर वातावरण संरक्षणको सन्देश विश्वभर प्रवाह गर्नु नेपालका निम्ति गौरवको विषय हो ।

राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका नकारात्मक प्रभावहरुका बारेमा विश्वभरका नेताहरुको ध्यानाकृष्ट गराउँदै वैज्ञानिक अनुसन्धानमा आधारित स्वच्छ ऊर्जा तथा न्यून कार्बनयुक्त वातावरण मैत्री आर्थिक विकासमा जोड दिनु तथा दिगो विकासको सन् २०३० कार्यसूचीलाई हासिल गर्न राष्ट्रहरुबीच सहयोग अभिवृद्धि गर्नुपर्ने बताउँदै आर्थिक रुपान्तरण, समावेशी तथा समन्यायिक विकासका लागि बीआरआईको साझा विकास तथा समृद्धिको मर्मसँग दिगो विकासको लक्ष्य मेल खाने बताएर विश्व समुदायमा नेपालको धारणा प्रकट गर्नुलाई सफल भ्रमण मान्नुपर्छ भन्नुभएको छ ।

उहाँले जलवायु परिवर्तनका नकारात्मक प्रभावहरुका बारेमा विश्वभरका नेताहरुको ध्यानाकृष्ट गराउँदै वैज्ञानिक अनुसन्धानमा आधारित स्वच्छ ऊर्जा तथा न्यून कार्बनयुक्त वातावरण मैत्री आर्थिक विकासका लागि जोड दिनुभयो । साथै, उहाँले दिगो विकासको सन् २०३० कार्यसूचीलाई हासिल गर्न राष्ट्रहरुबीच सहयोग अभिवृद्धि गर्नुपर्ने बताउँदै आर्थिक रुपान्तरण, समावेशी तथा समन्यायिक विकासका लागि बीआरआईको साझा विकास तथा समृद्धिको मर्मसँग दिगो विकासको लक्ष्य मेल खाने बताउनुभएको थियो ।

राष्ट्रपतिले चीनका राष्ट्रपतिलाई नेपाल भ्रमणका निम्ति गर्नुभएको आमन्त्रणलाई स्वीकार गर्दै ‘सुन्दर देश नेपाल’को भ्रमणलाई ठूलो महत्व दिएको र उपयुक्त समयमा नेपाल आउने भ्रमण गर्ने जानकारी दिनुले नेपालीलाई हौस्याएको छ जसले नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुऱ्याउने छ ।

यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपतिको चीन भ्रमणबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालको विकासका प्राथमिकतामा चीनबाट सहयोग हुने बताउनुभयो । उहाँले ‘कुरा मात्र होइन काम पनि हुन्छ,’ भन्नुभयो ।

आगामी जेठ १७ गते सम्ममा तातोपानी नाका पुनःसञ्चालन गर्न चीन सरकार सहमत भएको जानकारी दिँदै उहाँले मालबाहक सवारीसाधान अब लार्चास्थित सुक्खा बन्दरगाहमा आउने बताउनुभयो । “पहिलेको जस्तो खुद्रा व्यापार अब नहुनसक्छ,’ परिवर्तित समय र सुक्खा बन्दरगाहसमेत निर्माण भएको सन्दर्भमा पुरानो ढाँचामा क्रयविक्रय नहुने बताउँदै उहाँले भन्नुभयो ।

एक जिज्ञासाको जवाफमा उहाँले भारतसँग नेपाल सरकारले निकट सम्पर्कमा रहेर विकासका विविध परियोजनामा काम गरिरहेको र दुई देशबीचको सम्बन्ध प्रगाढ रहेकाले चीनसँग भएका सम्झौताबाट नेपाल–भारत सम्बन्धमा कुनै किसिमको आँच नआउने स्पष्ट गर्नुभयो ।

RSS