‘इण्डो–नेपाल अन्तर्राष्ट्रिय चित्रकला’ प्रदर्शनी सम्पन्न

‘इण्डो–नेपाल अन्तर्राष्ट्रिय चित्रकला’ प्रदर्शनी सम्पन्न


सांस्कृतिक सम्बन्ध विस्तार गरी चित्रकलासम्बन्धी अनुभव आदानप्रदान गर्ने उद्देश्यले नेपाल र भारतका चित्रकारको सहभागितामा भएको पाँचदिने ‘इण्डो–नेपाल अन्तर्राष्ट्रिय चित्रकला’ प्रदर्शनी आज (बिहीबार) सम्पन्न भएको छ ।

‘सेड द लाइट पिस मेकर’को आयोजना तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चित्रकला विभाग र नेपाल कला परिषद्को सहयोगमा यही वैशाख १५ देखि भएको ‘इण्डो–नेपाल कलाउत्सव’अन्तर्गत चित्रकला प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले समापन गर्नुभयो ।

समापनका क्रममा उहाँले यस्ता कार्यक्रमले दुई देशको सांस्कृतिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने र कला आदानप्रदान हुने बताउनुभयो । प्रतिष्ठानकी प्राज्ञ तथा चित्रकला विभाग प्रमुख सुष्माराज भण्डारीले दुई देशका चित्रकारबीच भएको प्रदर्शनीले आपसी अनुभव आदानप्रदानमा महत्वपूर्ण सहयोग पुगेको बताउनुभयो ।

प्रदर्शनीका संयोजक सपना शाहले नेपाल र भारतको संस्कृतिको आदानप्रदान गरी शान्ति र मानवताको सम्बन्ध विस्तार गर्दै आपसी सद्भावका लागि उत्सव आयोजना गरिएको बताउनुभयो । यहाँ नेपाली २४ र भारतका १०, बङ्गलादेशका र बेलायतका एक-एक गरी ३६ चित्रकारका ६५ भन्दा बढी चित्रकला, पाँच मूर्तिकला र एक भिडियोकला प्रदर्शनमा राखिएको थियो । प्रदर्शनीको नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले उद्घाटन गर्नुभएको थियो ।


rss