असल मन्त्रीले जगाएको आशा

असल मन्त्रीले जगाएको आशा


-वसन्तराज कुँवर
यसपटक नेपाली समाजमा ड्रग्स रोकथामको सिलसिलामा हङकङ जाँदा त्यहाँको अविश्वसनीय विकास हर्ेर्ने मौका मिल्यो । पहाड छेक्ने अग्लाअग्ला घरहरू रातमा बिजुलीका प्रकाशले झलमल्ल हुँदा स्वर्गमा बत्ती बलेझैं देखिँदो रहेछ । पूरै हङकङका मानिस कार्यालय समयमा जमिनमुनिको रेलयात्रामा हराएर होला बाहिरी बाटोमा ट्राफिक जाम बिल्कुलै थिएन ।
हङकङमा यसपटक एक साथीको माध्यमबाट मेरो भेट केही व्यापारी प्रकारका व्यक्तिसँग पनि हुन पुग्यो । उनीहरू ठूला-ठूला घर बनाउने र जलविद्युत् परियोजनाहरू निर्माण गर्ने काम गर्दा रहेछन् । कुरैकुरामा नेपालमा भएको विद्युत् सङ्कटको कुरा पनि निक्ल्यो । एकजना हङकङका चाइनिज मूलका सदस्यले नेपालको जलविद्युत् उत्पादनमा आफ्नो कम्पनी काम गर्न मात्र होइन लगानी गर्नसम्म इच्छुक रहेको बताए । मैले आफू सामाजिक सेवामा लागेको व्यक्ति भएको कारण बन्द-व्यापारमा रुचि नभएको बताउँदै जलविद्युत्बारे आफूलाई जानकारी पनि नभएको बताए । उनले भने जलविद्युत् उत्पादनभन्दा ठूलो सामाजिक काम अहिले नेपालका लागि केही हुन सक्दैन भनेर मलाई नौलो कुरा सुनाए ।
उनको यो नौलो तर्कले म निक्कै आकरि्षत भएँ र त्यसको कारण सोधेँ । उनले भने, ‘विद्युत् जीवन हो । यसैले कलकारखाना चल्छ र लाखौँ मजदुरले त्यो कारखानामा काम गरेर परिवार पाल्छन् । विद्युत्ले नै भगवान्का मन्दिरहरू उज्यालो हुन्छ । यसैले नै बाटाघाटा उज्याला देखिन्छन् र ट्राफिक दुर्घटना हुँदैन । विद्युत्ले खाना पकाउँछ, डाक्टरको उपकरण चल्छ, गाडी चल्छ, रेल चल्छ । जन्मदेखि मृत्युसम्मको मानिसको आवश्यकताहरू विद्युत्सँग्ा सम्बन्धित छन् । हो, नेपालमा जलविद्युत्को ज्यादै ठूलो सम्भावना रहँदारहँदै पनि मानिसहरू अँध्यारोमा बाँच्न विवश छन् । अँध्यारो अपराधीका लागि राम्रो हुन सक्छ बाँकी सभ्य समाजका लागि ज्यादै ठूलो खतरा हुने गर्छ । बच्चाहरू पढ्न पाउँदैनन् । यससँग सम्बन्धित साना व्यवसायहरू विद्युत् नहुनेबित्तिकै धराशायी हुँदै जान्छन् ।’
उनले भन्दै गए म सुन्दै गएँ । उनलाई नेपालको विद्युत् अभावबाट परेको असर राम्ररी थाहा रहेछ । अन्तमा उनले मलाई प्रश्न गरे कि, ‘नेपाली जनताको जीवन सुधारमा विद्युत् उत्पादन एक प्रमुख उपाय हुन सक्छ । जन्मदेखि मृत्युसम्म र विकासदेखि संरक्षणसम्मलाई चाहिने विद्युत् शक्तिजस्तो उपयोगी कुराको उत्पादन गर्नुलाई सामाजिक सेवा नमान्ने हो भने अरू के मान्ने हो त ? ‘
ती चाइनिज मूलका व्यक्तिले यसरी विद्युत्को महिमा बताए कि मेरो सोच नै बदलियो । म सोच्न थालेँ वास्तवमै विद्युत्ले कलकारखाना बढाए हाम्रा दाजुभाइहरूलाई शायद अरबमा शौचालय सोर्न जानुपर्ने थिएन कि ? विद्युत् योजनाहरू पहाड-पहाडमा खुले शायद हाम्रा पहाडका चेलिबेटीहरू जागिर खोज्ने नाममा विदेशमा बेचिनर्ुपर्न थिएन कि ? विद्युत् बेचेर शायद नेपालीको जीवनस्तर माथि उठाउन सकिन्थ्यो कि ?
त्यसपछि म नेपाल फर्किएँ । नेपाल फर्किएपछि केही साथीहरू जो-जसलाई विद्युत् उत्पादनबारे केही थाहा हुन सक्थ्यो तिनलाई मैले यसको सम्भावनाबारे प्रश्न गरेँ । मैले सोचेझैं उनीहरू उत्साहित देखिएनन् । मेरा साथीहरूले भने, ‘हाम्रो देशमा सरकारी परियोजना त घुसखोरीले गर्दा यति धेरै लगानी बढ्छ कि न त्यो परियोजनाबाट समयमा उत्पादन नै हुन्छ न त्यो सस्तो नै । निजी तहबाट गरिएका प्रयासहरू लगानीको अभावले पूरा नै हुँदैन । त्यहाँमाथि सरकारी कर्मचारीले यति धेरै दु:ख दिन्छन् कि प्रत्येक काममा पैसा माग्दछन् । त्यसमाथि विद्युत्को अध्ययन गर्न नै ज्यादै कठिन काम छ । काम गर्न सुरु गरियो भने सुरक्षाको त्यत्तिकै खतरा छ । राजनीतिक पार्टीहरू बिनालगानी सेयर माग्न आइपुग्छन् । स्थानीय गुण्डाहरूले त्यत्तिकै सताउँछन् । त्यसैले बाहिरको लगानी ल्याउन यहाँ डरमर्दो छ । अझै सरकारलाई विद्युत् खरिदका लागि अनुरोध गर्दा पनि प्रतिमेगावाट झन्डै एघार लाख बुझाउनुपर्छ । त्यसमा दश लाख सुरक्षा ग्यारेन्टी हो तर पनि त्यो व्यवस्थ्ाा गर्न सजिलो छैन । विदेशी लगानी भित्र्याउन खोज्नेहरूले बैंक ग्यारेन्टी माग्छन् । बैंकले त्यसका लागि कोल्याटर माग्छन् । त्यो दिन त्यत्तिकै गाह्रो छ । स्थानीय बस्ती उठाउनुपर्ने भयो भने त अरू महाभारत छ । अझ राज्य पुनर्संरचना भएर साना-साना राज्यमा विभाजित भएपछि यो काम गर्न सकिन्छ, गर्न सकिन्न ठेगान छैन । सुरक्षाको स्थिति बिलकुलै भरपर्दो छैन …!
ती मित्रले नेपालमा जलविद्युत् उत्पादन गर्न खोज्नेलाई यति धेरै झन्झट भएको बताए कि उनको कुरो सुन्दा मेरो सातो नै गयो । यस्ता कामबाट आफूलाई टाढै राख्नु नै मैले कल्याण ठानेँ किनकि मेरो विश्वासमा ती हङकङका साथीहरूले नेपालमा लगानी गर्न खोज्दा साथीले भनेझैं दु:ख झेल्नुपर्‍यो भने त्यसको दोष मैले बोक्नुपर्नेवाला थियो । म नेपाल फर्किएपछि पनि ती हङकङका मित्रहरूले आफूहरू छिट्टै नेपालमा लगानी गर्न इच्छुक भएकोले तत्काल यसमा सहयोग गरिदिन अनुरोध गरिरहेका थिए तर म भने उनीहरूलाई समस्या पर्ने ठहर गर्दै कुरो टारिरहेको थिएँ ।
विद्युत् सम्बन्धमा सरोकार नै नराख्ने मजस्तो व्यक्ति पनि साथीहरूको कारणले त्यसै बीचमा परिरहेको थिएँ । नेपालको सम्बन्धमा मैले भनेको कुरा ती विदेशी साथीहरूले विश्वास गर्नेवाला थिए त्यसैले म कुनै पनि सूचना आफैं विश्वस्त नभई उनीहरूलाई दिनेवाला थिइनँ ।
नेपालमा कतिसम्मको जाल, झेल, षड्यन्त्र, अप्ठ्यारा र सुरक्षाको खतरा छ भन्ने तिनले बाहिरबाट शायद बुझ्ने कुरा थिएन । यहाँ कुनै मानिसले घरजग्गा राखेर व्यवसाय सुरु गर्‍यो भने त्यसलाई पनि कसरी शोषण गर्ने भन्नेमै धेरैको ध्यान देखिन्छ । त्यो व्यक्तिको घरबार जान्छ भन्ने कसैलाई चिन्ता हुँदैन । राजनीतिक उद्देश्यअनुसार खुलेका श्रमिकका भ्रातृ सङ्गठनहरूले ठूला-ठूला परियोजनाहरू ध्वस्त बनाइदिएको मैले देखेको छु । हेटौंडाका धेरै अन्तर्राष्ट्रियस्तरका कलकारखानाहरू यसै कारणले ध्वस्त भएको देख्ने म पनि साक्षी थिएँ । पार्टीहरूले प्रत्येक परियोजनालाई खर्चको स्रोत मानेको पनि मैले देखेकै थिएँ । हरेक लगानीकर्ताप्रति भावनात्मक माया कसैको छैन । खालि त्यसलाई कसरी चुस्ने भन्ने मात्र सबैको ध्यान देखिन्छ । नेपालका यावत् यस्ता स्थिति देखेको मलाई ती चाइनिज साथीलाई अबौर्ं खर्च हुने परियोजनामा यसो गर भनेर कुनै सल्लाह-सुझाव दिने ममा हिम्मत भइरहेको थिएन । सरकारहरूले ठूलाठूला प्रोजेक्टलाई राजनीतिक स्वार्थवश कसरी बर्बाद गर्न सक्छ भन्ने मैले धेरै मुलुकमा देखेकै थिएँ । हालै पश्चिम बंगालमा टाटाले गरेको अर्बाैंको लगानी अहिले बर्बाद भएको हामीले देखेकै छौँ । यसै कारणले हो म ती मलाई विश्वास गर्ने विदेशी साथीहरूको सङ्कटको कारण हुन चाहन्नथेँ ।
हालै झलनाथको सरकार बनेपछि विद्युत् क्षेत्रमा धेरै काम गर्न खोजिएको र लगानीकर्तालाई आकरि्षत गर्न थुप्रै घोषणा गरिएको सुनेँ । विद्युत्मा लगानी गर्न सरकारकै पहलमा बैंकहरू पनि खुलेको देखेँ । त्यसपछि मैले पुराना ती साथीहरूलाई भेटेँ जसले मलाई हङकङबाट फर्किएपछि सातो खाएका थिए । ती निराश साथीहरूलाई मैले अहिलेको सरकारको कामबारे सोधेँ । तिनीहरू यसपटक अलि उत्साहित देखिए । तिनले सबैभन्दा पहिले मलाई एउटा कुरा भने, ‘जलस्रोतमा ठीक मन्त्री आएका छन् जो घुुस खाँदैनन् ।’ त्यस दिन म फुर्सदमै थिएँ र तिनका कुरा निकैबेर सुनेँ ।
यसपटक उनीहरू पहिलेभन्दा केही खुसी देखिन्थे । उनीहरूले भने, ‘सरकारले बाह्य लगानी भित्र्याउन पनि अब सजिलो बनाउँदै छ, कामहरू पनि एकद्वार प्रणालीबाट हुँदै छ, इनकम ट्याक्स पनि माफ गरिएको छ, सेना वा प्रहरी पनि सरकारले नै पठाउँदै छ ।’ यस्तै-यस्तै धेरै कुरा भने जुन सबै मैले कण्ठ गर्न सकिनँ । निकैबेरपछि मैले उनीहरूलाई सोधेँ, र्’कर्मचारीहरूलाई घुस खुवाएर काम गराउनुपर्ने कुरामा चाहिँ के सुधार आएको छ ? ‘ त्यसको उत्तर दिँदा भने उनीहरूले अलि अँध्यारो मुख लगाए र भने, ‘मन्त्री त खाँदैनन् तर अरू तलकाले त नानीदेखि लागेको बानी के छोड्थे । उनीहरूले केही नपाए काम अड्काको अड्काकै गरिदिन्छन् ।’
त्यस दिन ती मित्रहरू वास्तवमै पहिलेभन्दा निक्कै जलविद्युत् क्षेत्रमा काम गर्न उत्सुक थिए । तिनका उत्सुकताका पछाडिको एक प्रमुख कारण मन्त्री गोकर्ण विष्ट नै रहेछन् । हालै मैले मन्त्री विष्टले विद्युत् प्राधिकरणको अध्यक्ष पद छोडेर राजनीतिक हस्तक्षेपबाट विद्युत् क्षेत्रलाई अलग राख्न प्रयास गरेको पनि समाचार पनि पढेँ । मलाई ती मन्त्रीको त्याग र र्समर्पणले वास्तवमै मन छोयो । म पुलिसमा रहँदा सिटौलाजस्ता पुलिस कोषबाट आफूले भ्रष्टाचार गरी निर्दोष पुलिसलाई फसाउने मन्त्रीसँग मात्रै भेट भएको थियो । सिटौलाजस्ता मन्त्री देखेपछि मलाई समग्र मन्त्रीहरूसँगै नफरत जाग्ने गर्दथ्यो । मलाई लाग्थ्यो कुनै पनि मन्त्री देशका लागि काम गर्दैनन् । मजस्तो यसप्रकारको विश्वास लिने व्यक्तिका लागी गोकर्ण विष्ट नामका मन्त्री नौलो थिए । म उहाँलाई चिन्दिनँ तर मलाई यो कुरामा खुसी लाग्यो कि कोही राजनीतिज्ञ यो मुलुकमा असल, नैतिक र इमानदार छँदै छैनन् भन्ने आमविश्वास सतप्रतिशत सत्य होइन रहेछ ।
मैले भर्खरै हङकङको साथीसँग पुन: सम्पर्क गरेँ र भने, ‘नेपालमा जलविद्युत्को क्षेत्रमा लगानी गर्ने वातावरण बन्दै छ रे ।’ उनले के त्यस्तो परिवर्तन भयो र ? भनेर मलाई सोधे । मैले भने, ‘एउटा असल मन्त्री त्यस मन्त्रालयमा आएका छन् रे ।’ हङकङका साथी मेरो कुराले निकै उत्साहित भए । आफू छिट्टै लगानी गर्न तयार भएको पनि बताए । उनमा चीनको थ्री गर्ज भन्न हाइड्रो प्रोजेक्ट निर्माणमा काम गरेको अनुभव पनि रहेछ ।
जे होस्, मलाई पनि एकपटक गोकर्ण विष्ट भन्ने मन्त्रीलाई भेट्न र हेर्न मन लागिरहेछ । यसअघि मेरो जीवनकालमा कुनै मन्त्री वा प्रधानमन्त्रीलाई हर्ेर्ने, भेट्ने मेरो चाहना कहिल्यै भएन । मलाई आशा छ उहाँले विद्युत् उत्पादन बढाएर देखाउनुहुनेछ । यो वास्तवमै धर्मको काम पनि रहेछ । नेताहरू भ्रष्ट हुन्छन् भन्ने मान्यता बोकेको हाम्रो समाजमा कुनै नेता त राम्रा पनि छन् भनी प्रमाणित गर्न गोकर्ण विष्ट सफल रहून् र उनी यो देशको प्रधानमन्त्री नै बन्न सकून् ।