समाचार लेखेकै भरमा पत्रकार अब पीडित बन्नु नपर्ने

समाचार लेखेकै भरमा पत्रकार अब पीडित बन्नु नपर्ने


आगामी वर्ष नेपाली पत्रकारिता क्षेत्र सुरक्षा र सम्मानको वर्ष हुने दाबी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गरेका छन् । २६औँ अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ, युनेस्को र निर्वाचन आयोगको संयुक्त आयोजनामा राजधानीमा आयोजित कार्यक्रममा उनले प्रेसमाथि अङ्कुश लगाउने सरकारको कुनै पनि योजना नरहेको स्पष्ट पार्दै समाचार लेखेको भरमा पत्रकार पीडित बन्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका हुन् ।

सञ्चारगृह कसैको अभीष्ट पूरा गर्ने थलो बन्न नहुने बताउँदै मन्त्री बाँस्कोटाले सञ्चारगृह सरकारप्रति होइन जनताप्रति उत्तरदायी बन्नुपर्ने धारणा अघि सारे । सबै सञ्चारगृहमा न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै उनले श्रमजीवीको शोषण अब स्वीकार्य नहुने दोहोर्याए ।

सरकारले सामाजिक सञ्जाल नियमन गर्न खोजेको बताउँदै यो संसारभर चलेको सिद्धान्त रहेको जिकीर पनि उनले गरे । समाचारको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा भएको बताउँदै उनले सञ्चारगृहलाई विश्वासिलो सूचना प्रवाह गर्न र जनविश्वास आर्जन गर्न आग्रह गरे ।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सङ्ख्या बढेसँगै नेपाली मिडियाको गुणस्तर खस्किएको आरोप लगाए ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य, पूर्वअध्यक्ष हरिहर विरहीलगायतले सशस्त्र द्वन्द्वकालमा मारिएका पत्रकारका हत्यारालाई कारवाही नहुँदा मुलुकमा दण्डहीनता बढेर गएको धारणा राखे ।

सो अवसरमा महासङ्घले महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा, वरिष्ठ पत्रकारद्वय गोपाल गुरागाईं र सङ्गीता लामालाई ‘प्रेस स्वतन्त्रता सेनानी सम्मान’ प्रदान गर्यो ।

pic: RSS