‘वाइडबडी’ अब काठमाडौंबाट सोझै जापान पुग्ने

‘वाइडबडी’ अब काठमाडौंबाट सोझै जापान पुग्ने


नेपाल वायुसेवा निगमले आफ्नो ६१औं वर्ष प्रवेशका साथै जापानको ओसाका नियमित उडान पुनः प्रारम्भ गर्ने जनाएको छ । आगामी असार १९ (जुलाई ४) देखि नेपाल वायुसेवा निगमले ओसाकाको नियमित उडान प्रारम्भ गर्ने भएको हो ।

निगमले निर्धारित गरेको उडान तालिकाअनुसार हप्ताको तीनवटा उडान मंगलबार, बिहीबार र शनिबार हुनेछ । काठमाडौंबाट बिहान २ बजेर ३० मिनेटमा ओसाकाका लागि उडेको विमान स्थानीय समय अनुसार दिनको ११ बजेर ५५ मिनेटमा ओसाका पुग्नेछ र ओसाकाबाट स्थानीय समय अनुसार १ बजेर ५५ मिनेटमा उडान गरी सोही दिन अपरान्ह ६ः०० बजे काठमाडौं आइपुग्ने छ ।

ओसाकाको सबै उडान वाइडबडी ए३३०–२०० बाट हुनेछ । यसअघि सन् २००७ सम्म निगमले चीनको सांघाई हुँदै ओसाकासम्म उडान गर्दै आएको थियो र तत्कालीन समयमा विमानको कमीका कारण जापान उडान स्थगित गरिएको निगमले प्रष्ट्याएको छ ।

निगमका अनुसार सन् २००० मा जापानबाट काठमाडौंका लागि सबभन्दा बढी ४१,०७० जना यात्रुले नेपाल यात्रा गरेका थिए । जसमध्ये नेपाल वायुसेवा निगमको विमानबाट करिव २२ हजार यात्रु आएका थिए । ध्वजावाहकको सेवा नभएपछि यात्रुसंख्या घट्दै गएर सन् २०१५ मा १७,६१३ यात्रुमा सीमित भएको थियो । निगमले ओसाका र नारितामा हप्ताको चार उडान थालेपछि वार्षिक सिट क्षमता ५७ हजार हुने र यसबाट यात्रु संख्या बढ्न गई नेपालको अर्थतन्त्रमा सकारात्मक परिणाम ल्याउने विश्वास निगमले लिएको छ ।

निगमको गृष्मकालीन तालिकाअनुसार काठमाडौं–ओसाका र ओसाका काठमाडौं उडान एकतर्फी करिव ६ घण्टा ३० मिनेटको हुनेछ । दोश्रो चरणमा जापानको व्यस्त विमानस्थल नारितामा समेत नियमित उडान गर्ने योजना बनाई तदनुरुप प्रक्रिया अगाडि बढाइएको छ । टोकियोको नारितामा उडान शुरु गरेपछि दुवै गन्तव्यका लागि हप्तामा दुई–दुई वटा उडान गर्ने योजना रहेको जानकारी दिइएको छ ।

विगतमा काठमाडौं ओसाकाबीच सन् १९९४ मा शुरु भएको उडान २००७ सम्म नियमित रुपमा भएकोे थियो । बोइङ ७५७ जहाजबाट गरिएको उक्त उडान चीनको सांघाई भएर गरिन्थ्यो । तर अबको उडान काठमाडौंबाट ओसाकासम्म र ओसाकादेखि काठमाडौंसम्म वाइडवडी विमानबाट सिधा उडान गरिने निगमले जनाएको छ ।