अनियमितताको आरोप लागेका प्रधानाध्यापकले लगाए झोला लुटिएको आरोप

अनियमितताको आरोप लागेका प्रधानाध्यापकले लगाए झोला लुटिएको आरोप


  • हेमशंकर सिंह, सप्तरी

जिल्लास्थित बोदेबर्साइन नगरपालिकामा रहेको एक विद्यालयका प्रधानाध्यापकले विद्यालयका महत्वपूर्ण कागजातसहितको झोला राजविराजमा लुटिएको भन्दै प्रहरी प्रशासन गुहारेका छन् । बोदेवर्साइन नगरपालिका ७ मा पर्ने श्री महेन्द्र चुनी मावि मानराजाका प्रधानाध्यापक हरिवंश मंडरले आफ्नो साथबाट विद्यालयको कागजातसहितको झोला खोसिएको आरोप लगाएका हुन् । स्थानीय दिनेशकुमार यादवले विद्यालयको कागजातसहितको झोला जबर्जस्ती लुटेको मंडरको आरोप छ ।

प्रअ मंडरले घटना र विचारसँग कुराकानी गर्दै आफू अडिट गराउने तथा विद्यालय व्यवस्थापन समिति अध्यक्षको हस्ताक्षर गराउनका लागि विद्यालय व्यवस्थापन समितिको निर्णय पुस्तिका, विद्यालयको स्टाम्प, लेटरप्याड, चेकबुक, विद्यालयको मुद्दती खाताको ४ लाख को रसिद बोकेर जाँदै गर्दा यादवले खोसेको बताए ।

यसैगरी व्यक्तिगत निवेदकको चेकबुक, मोटरसाइकलको ब्लुबुक, लेखापरीक्षणको प्रतिवेदन, आफ्नो स्थायी नियुक्ति पत्र, अन्य कागजात र विभिन्न सरसमान भएको ब्याग एक थान खोसेको भन्दै विद्यालयका प्रधानाध्यापक हरिवंश मंडरले जिल्ला प्रशासन कार्यालय सप्तरीमा आइतबार निवेदन दर्ता गराएका छन् ।

राजविराजस्थित सरकारी वकिलको कार्यालयको पश्चिम कोणमा गत शनिबार सामान खोस्नुका साथै धम्कीसमेत दिएकाले यादवको खोजतलास गरी कानुनबमोजिम कारबाही गर्न प्रधानाध्यापक मंडरले माग गरेका छन् ।

प्रधानाध्यापक मंडरले जिल्ला प्रशासन कार्यालय सप्तरीमा दिएका निवेदनको दर्ता न.८/२७ रहेको छ । उक्त निवेदनमा प्रमुख जिल्ला अधिकारीले यथार्थ बुझी आवश्यक कारवाही गर्न प्रक्रियामा पठाउने भनी तोक लगाएका छन् ।

कागजात खोसेको स्विकार गर्दै आरोपी यादवले विवादित शिक्षक भर्नाको नियुक्तिका लागि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अजय यादवकहाँ प्रधानाध्यापक मंडर माइन्यूट बुक बोकी सही गराउन गएकाले समान खोसेको बताए ।

शिक्षक नियुक्तिका लागि ब्यवस्थापन समितिको सहमति लिन समितिको बैठक नै नबोलाई प्रधानाध्यापक मंडरले नक्कली माइन्यूट खडा गरी समितिका चार जना सदस्यको हस्ताक्षर समेत गराएको सोही समितिका एक सदस्य देवनारायण प्रमाणीले बताए ।

सो सम्बन्धमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अजय यादवले परीक्षमा फेल भएकाहरुले नियोजित विवाद खडा गर्न खोजेको आरोप लगाए । सबै प्रक्रिया पूरा गरेर शिक्षक नियुक्त गरेको दाबी गर्दै यादवले प्रधानाध्यापक मंडरको सामान र कागजात खोस्ने स्थानीय दिनेश यादवउपर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

यसअघि २०६७/६८ मा विज्ञापन भई पटक पटक स्थगित हुँदै आएको राहत कोटा दरबन्दीका लागि गत चैत्रमा लिइएको लिखित परीक्षा र वैशाख १६ गते लिइएको मौखिक परीक्षामा बोदेबरसाईन नगरपालिका प्रमुख आतेशकुमार सिंह यादवको माइजुसासु निलम कुमारी यादव र सोही विद्यालयका प्रधानाध्यापक हरिवंश मडरका छोरी सरस्वतीकुमारी मण्डललाई उत्तीर्ण गराइएपछि सो विद्यालयमा विवाद चुलिदै आएको छ ।

शिक्षक छनौट समितिले माध्यमिक तहमा सामाजिक र विज्ञान विषयमा एक/एक जना र मिावि तहमा सामाजिक र नेपाली विषयमा एक/एक जना राहत शिक्षकका लागि परीक्षा लिएको थियो । मावि सामाजिकमा सात, विज्ञानमा दुई, निमावि सामाजिकमा १२ र नेपालीमा नौ जना गरी ३० जनाले आवेदन गरेका थिए ।

परीक्षामा अनियमितता भएको भन्दै परीक्षार्थीहरु राजसेवी कुमारी राउत, बुधेश्वर राम, आरतीकुमारी यादवले परीक्षाको बस्तुगत प्रश्नपत्र आउट भएको भन्दै परीक्षाको बाँकी परीक्षा स्थगनको माग गर्दै जिल्ला प्रशासनमा निवेदन दिएका थिए ।

शिक्षक नियुक्तिका लागि बादेबरसाइन नगरपालिका प्रमुख सिंह यादवको ससुरारीतर्फको माइजु निलमकुमारी यादव, विद्यालयाका प्रधानाध्यापक हरिबंश मंडरका छोरी सरस्वतीकुमारी मण्डल, विद्यालय व्यवस्थापन समितिका सदस्य देवनारायण प्रमाणीको श्रीमती राजसेवीकुमारी मण्डल, अर्का सदस्य संगिताकुमारी दासको श्रीमान् जीतन दासले आवेदन दिएका छन् । उनीहरुसहित लिखित परीक्षामा १२ जना उत्तिर्ण पनि भएका थिए ।

लिखित परीक्षाको लागि परीक्षास्थलमै हस्तलित प्रश्नपत्र तयार गरेको थियो । तर, प्रश्नपत्रको फोटोकपी गराउन जाँदा बाटोमा प्रश्नपत्र बाहिरिएको परीक्षापछि थाहा भएकोले स्थगनको माग गरी निवेदन दिएका परीक्षार्थी राजसेवीको कथन छ ।

यता परीक्षा लिन रमना हुनु एकदिनअघि शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका शाखा अधिकृत छवि खड्काले चैत २९ गते लिखित परीक्षा लिएका थिए भने अर्का शाखा अधिकृत दिपकुमार यादव पनि रमना हुनु एक दिन अगाडी मौखिक परीक्षा लिएका थिए ।