प्रहरी कमजोर भएपछि निम्तिने दशा-वसन्तराज कुँवर

प्रहरी कमजोर भएपछि निम्तिने दशा-वसन्तराज कुँवर


डीबी लामाले महाराजगञ्ज पुलिस अस्पताल बनाएर ढोकाअघिल्तिर राजा वीरेन्द्रको पूर्णकदको सालिक ठड्याए । उक्त सालिक हेर्न उनी सधैंजसो आउँथे, त्यसैले हामी त्यसको साफ-सफाइमा खुब र्सतर्क हुन्थ्यौँ । एक दिनको कुरा हो, लामासाब सालिक हेर्न आउँदा त्यहाँ कुन चराले होे सालिकको गाला र काँधमा पर्ने गरी विष्ट्याइदिएछ । लामासाबले राजाको सालिकमा चराको फोहोर देख्नेबित्तिकै रौद्र रूप धारण गर्नुभयो । अब हामीमध्ये कत्तिले लठ्ठी खानेे हो ठेगान भएन । ‘अघिसम्म त ठीकै थियो हजुर’ भनेर हामीले बच्ने प्रयास गर्‍यौँ तर कुरो राजाको सालिकको थियो । त्यसपछि लामासाबको मुखबाट तोप पड्कन सुरु भयो । हामी चरालाई मनमनै सराप्दै आफ्नै पुलिसको टोपी र हातेरुमाल प्रयोग गर्दै फोहोर पुछ्न थाल्यौँ । कोही बाल्टी बोकेर दौडियौँ, कोही आत्तिएर गन्जी नै खोलेर पुछ्न थाल्यौँ । केहीबेरमा नै सालिक त सफा भयो तर लामासाबको रिस भने शान्त भएन । त्यसपछि हामीलाई खडाखडी झपार्दै उहाँले नेपालमा राजसंस्था र राजाको भूमिकाका साथै राजा र देशको सार्वभौमसत्ताको सम्बन्धमा पढाउन थाल्नुभयो । उहाँले भन्नुभयो, ‘यो टोपी राजाको सिन्दुर हो ।’ त्यतिबेला प्रहरीले रातो वैरेट क्याप लगाउने चलन थियो । झन्डै आधा घन्टा बेस्सरी सबले गाली खायौँ । हामी भने मनमनै त्यो दुच्छर चरालाई सरापिरहेका थियौँ । लामासाब फर्केपछि हामी गाली खाने अधिकृतले पनि चरालाई किन नदेखेको भन्ने प्रश्न गर्दैै आफूभन्दा तल्ला कर्मचारीहरूलाई साफसँग झपारेर सन्तोष लिने प्रयत्न गर्‍यौँ । त्यसपछि हामीले त्यतातिर चरा देख्यो कि एयरगनले हानेर प्राणै लिइदिन थाल्यौँ ।
त्यस दिन मैले राजसंस्थाप्रति डीबी लामाको अगाध स्नेह, प्रेम र आस्था देख्न पाएँ । उहाँ आफैं नेपालबाट राणाशासन हटाउन राजालाई सहयोग गर्ने मुक्तिसेनाका सदस्य भएर लडिकन पछि प्रहरीमा आएका व्यक्ति हुनुहुन्थ्यो । उहाँले ०४२ सालमा राजाविरुद्ध भएको आन्दोलनलाई सशक्त प्रहरी नेतृत्व देखाई नियन्त्रण गरी राजदरबारको शक्तिलाई कायम राख्न योगदान दिनुभयो । तर, जब उहाँ अवकाश हुनुभयो त्यसपछि दरबारले उहाँलाई जेल हाल्यो । जसको सालिकअगाडि उभिएर लामाले भक्ति देखाउँथे उनै राजा वीरेन्द्रले उनलाई जेल पुर्‍याउने काम गरे । भनिन्छ, यसरी षड्यन्त्रमूलक ढङ्गले उहाँलाई जेल हाल्नुमा धीरेन्द्रको रखैललाई लामाले देश निकाला नगरिदिएको रिस नै प्रमुख कारण थियो । यसबाहेक दरबारका तत्कालीन प्रमुख सचिव ऋषिकुमार पाण्डेको व्यक्तिगत स्वार्थ पूरा नभएका कारण पनि उनलाई षड्यन्त्र गरेरै जेल हाल्नेसम्मको कार्य भएको थियो ।
लामाजस्ता राजभक्त कर्मचारीलाई दरबारले षड्यन्त्रमूलक ढङ्गले जेल हालेपछि मैले बुझेँ सत्तामा मात्तिएकाहरूले आफ्नो सत्ता टिकाउने खम्बाहरूको महत्व पटक्कै बुझेका हुँदारहेनछन् । डीबी लामालाई थुनेलगत्तै पुन: ०४६ सालको आन्दोलन भयो । कमजोर आईजीपी र षड्यन्त्रकारी डीआईजी रणबहादुर चन्दले त्यो आन्दोलन थेग्न सकेनन् । उनीहरू केवल षड्यन्त्र गर्न जान्दथे तर प्रहरी नेतृत्व गर्न होइन । आखिर पुलिसले आन्दोलनकारीसामु घुँडा टेक्यो । दुई सय वर्षसम्म कानुनभन्दा माथि बसेको राजसंस्था त्यसपछि संवैधानिक भएर खुम्चियो । राजाको शक्ति घटाउने त्यो आन्दोलन कमजोर पुलिसले दबाउन सकेन ।
प्रहरीको चौबीसवर्षे जीवनकालमा मैले त्यसपछि पनि धेरै आईजीपी देखेँ । रत्नशमशेर, मोतीलाल बोहरा, अच्युतकृष्ण खरेल, धु्रवबहादुर प्रधान, प्रदीपशमशेर राणा सबै आईजीपीहरूमा राजाप्रति पूर्ण आस्था थियो । जब बहुदल आयो, हिजोसम्म प्रजातान्त्रिक पार्टीलाई दबाउन कैयौँ दिनसम्म आफ्नो बुट नफुकाली सडकमा भिड्ने आईजीपीहरू राजाबाट पार्टीका नेतालाई प्रधानमन्त्री बनाउनेबित्तिकै ती प्रधानमन्त्रीउपर पनि उत्तिकै बफादार बनेर देखिए । ०४८ सालमा राजाको शक्ति पुलिसका कारणले नभई आफ्नै कमजोरीका कारण घटेको थियो, तर २०५८ सालपछि जब राजा ज्ञानेन्द्र पुन: शक्तिमा आए त्यसपछि उनले पनि अधिकांश आईजीपीलाई प्रजातान्त्रिक पार्टीका प्रधानमन्त्री र सरकारप्रति देखाएको बफादारीको बदला लिन अख्तियारमार्फत भ्रष्टाचारको मुद्दा चलाए । यो कुरा प्रहरी सङ्गठनले राम्रोसँग बुझेको छ । ज्ञानेन्द्रले पुन: एकपटक ०४३ सालतिर डीबी लामामाथि दरबारले अपराध गरेझैं ०५८ सालपछि पनि आईजीपीहरूमाथि भ्रष्टाचारको मुद्दा चलाई अर्को पाप गरे । उनले दरबारको मान्छे भन्दै श्यामभक्त थापाजस्ता कमजोर आईजीपी प्रहरीमा ल्याएर आफ्नो सत्ता टिकाउन प्रयोग गरे । तर, हेमबहादुर सिंहझैं श्यामभक्त थापा पनि दरबारको चाकडी गर्न माहिर भए पनि प्रहरी सङ्गठनको नेतृत्व दिन पूर्णतया असफल थिए । हेर्दाहेर्दै ज्ञानेन्द्रको सत्ता मात्र होइन झन्डै दुई सय चालीस वर्ष पुरानो राजसत्तासमेत गयो । राजसत्ताविरुद्ध उठेको आन्तरिक असन्तोष र सशस्त्र युद्ध श्यामभक्त थापाजस्त्ाा आईजीपीको नेतृत्वले दबाउन सक्ने कुरो थिएन । राजाको सेनामा भर थियो तर सेना आँखा बन्द भएको मुक्केवाजजस्तो मात्र देखिन्थ्यो । उसलाई जनतामाझको कुरो थाहा हुँदैनथ्यो र अन्तर्राष्ट्रिय मानव अधिकारको सीमाभित्र रहँदारहँदै उसले आन्दोलन दबाउन खासै केही गर्न पनि सक्थेन । जे गर्नु पथ्र्यो प्रहरीले गर्नुपथ्र्यो तर प्रहरीप्रमुखहरूलाई झुटा मुद्दामा सूर्यनाथमार्फत थुनाएर राजा ज्ञानेन्द्रले प्रहरी सङ्गठनलाई पानीमरुवाझैं कमजोड बनाइसकेका थिए । त्यो कमजोर खम्बाले राजाको शासन अडाउन सकेन ।
म यो विगत आज कसैलाई उचाल्न वा कसैलाई पर्छार्न वा कसैलाई होच्याउन वा कसैमाथि दोषारोपण गर्न लेखिरहेको छैन । म यो यसकारण लेखिरहेको छु कि जुन-जुन शासकले प्रहरी सङ्गठनलाई कमजोर बनाएका छन् ती-ती शासकको सत्ता हातबाट गएको छ । नेपालमा नै हेर्‍यौँ भने जो-जो गृहमन्त्रीहरू पुलिसका प्रमुख खोस्न तम्सिएका छन् ती-ती व्यक्तिहरू आफ्नो-आफ्नो जिल्लामा नै चुनाव हारेका छन् । चुनाव हार्नुको कारण कमजोर सुरक्षा-व्यवस्था भएको छ र त्यो कमजोर सुरक्षा तिनीहरू गृहमन्त्री हुँदा प्रहरीलाई कमजोर गराएकै कारणले निम्तेको छ ।
एकछिन हेरौँ न काङ्ग्रेस र एमालेले २०४८ सालपछि एममना सरकार बनाउन सफल भएका थिए । तिनले वर्षौंसम्म नेपालमा शासन चलाउन सक्थे तर जब माओवादी नामको एउटा समूह ०५२ सालपछि लट्ठी बोकेर सरकारलाई च्यालेन्ज गर्न अगाडि आयो यिनले त्यो पार्टीले भविष्यमा केसम्म गर्न सक्छ भन्ने कल्पना पनि गर्न सकेनन् । जुन प्रहरी सङ्गठनले राष्ट्रिय सुरक्षा नीतिअन्तर्गत स्वतन्त्र रूपमा काम गर्नुपर्ने थियो र यस्ता चुनौती विश्लेषण गर्ने र नियन्त्रण गर्ने काम गर्नुपर्ने त्यो प्रहरी सङ्गठनका प्रमुखलाई बहुदलपछिका नेताहरूले कहिल्यै पार्टीको मान्छे होइन भन्दै, कहिले पैसाको स्वार्थका लागि हटाएर कमजोर पारिदिए । त्यस संस्थालाई आफ्नो पार्टीको खर्च व्यवस्था गर्ने र आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने औजार बनाइदिए । व्यावसायिक प्रहरी पेसालाई धराशयी पारिदिए । प्रहरी सङ्गठनलाई भ्रष्टाचारको आहालमा डुबाइदिए । माओवादी युद्धलाई पैसा बटुल्ने अवसरको रूपमा लिए । प्रहरीभित्रको व्यावसायिकता र क्याडरिङ पद्दतीलाई भताभुङ्ग पारिदिए । फलस्वरूप माओवादी युद्ध सफल मात्र भएन आज ती सरकार बनाउने पार्टीहरू माओवादी पार्टीभन्दा आफूलाई सानो पार्टी मान्न विवश भएका छन् । यदि यो स्थिति आउनुमा काङ्ग्रेस-एमालेले आन्तरिक कारण केलाउँदै जाने हो भने ब्रि्रँदो शान्तिसुरक्षा नै यी पार्टीहरू खुम्चँदै जानुको कारण देखिन्छ ।
मेरो लामो अनुभवले यही भन्छ कि राज्यका कुनै पनि मेसिनरीहरूलाई कमजोर बनाउनु हुँदैन, झन् पुलिसलाई त बिल्कुलै कमजोर बनाउनु हुँदैन ।
आज पुलिसमाथि जसरी सर्वत्रतिरबाट प्रहार हुँदै छ र पुलिसभित्र पनि रणबहादुर चन्दका बैतडीतिरबाट आएका खुराफाती चेलाहरूले जसरी आन्तरिक रूपमा यो सङ्गठनलाई बद्नाम गराउने काम गर्दै छन् त्यसबाट एउटा कुरा निश्चित छ कि आउने दिनमा प्रहरीको पकड समाजमा अझै कमजोर हुँदै जानेछ र प्रहरी कमजोर भएपछि हेर्दै जानु न्यायाधीश, अख्तियार, प्रधानमन्त्री, मन्त्री, पत्रकारलगायत राज्यको उद्योग, व्यवसाय, जङ्गल, चुरे, मानवअधिकारसम्मले इमानदारी र बहादुरीपूर्वक आफ्नो जिम्मेवारी निभाई आफ्नो अस्तित्व रक्षा गर्न सक्ने छैनन् । जुन दिन प्रहरी हार्छ त्यो दिन धेरै संस्थाले आफ्ना सेवा बन्द गर्नुपर्ने स्थिति आउनेछ । अख्तियार होस् वा अदालत तिनका फैसलाबाट चित्त नबुझेकाहरूले उनीहरूमाथि गर्ने प्रत्याक्रमणबाट जोगाउन पनि सशक्त प्रहरी सङ्गठन नै चाहिन्छ । प्रहरी कमजोर भए कुनै पनि संस्था सुरक्षित हुँदैन ।
अहिले केही प्रहरीमाथि लागेको भ्रष्टाचारको आरोपले राज्यमा धेरै पक्षलाई मनोरञ्जन दिएको होला तर म डराइरहेको यो कुरामा छु कि कतै प्रहरी सङ्गठनमाथि यो मनोरञ्जनबाट पर्ने कुप्रभावले यो सङ्गठन नै निष्त्रिmय र असफलचाहिँ नहोस् । यदि प्रहरी असफल भए मनोरञ्जन लिनेहरूले पनि आफ्नो सुरक्षा कोद्वारा गराउलान् ? त्यो पनि सोच्नुपर्छ । प्रहरी कमजोर हुँदै गए कुनै पनि उद्योग, कलकारखाना चल्ने छैन, कुनै पत्रकारले स्वतन्त्रपूर्वक लेख्न पाउने छैन । कुनै पनि कानुन कार्यान्वयन इकाइहरूले निर्धक्कसँग आफ्नो काम गर्न पाउने छैन । कुनै पनि शैक्षिक संस्थाहरू राम्रोसँग चल्न पाउने छैनन् । बाटाघाटाका ट्राफिक व्यवस्था धराशयी हुनेछ । गाउँहरू हतियारधारी र गुण्डाहरूको पकडमा हुनेछ । अपराध अकासिनेछ । तस्करी खुल्लेआम हुनेछ । मुलुकमा जातीय तथा क्षेत्रीय दङ्गाहरू भड्किनेछन् । पुलिसको कमजोरीसँगै देशमा लगानीको सम्भावना न्यून हुँदै जानेछ । कुनै पनि सरकार पूर्ण आयुको हुने छैन । संविधानले काम गर्ने छैन । कानुनको धज्जी उडाइनेछ । आज नेपालमा राजनीतिक क्षेत्रबाट यति ठूलो असफलता हुँदाहुँदै पनि देश चल्नुमा पुलिसको भूमिका पनि एक प्रमुख कारण हो । म बुझ्न सकिरहेको छैन कि पुलिसलाई कमजोर पारेर आफू सुरक्षित हुने कल्पना सबैले किन गरिरहेका छन् ? मेरो अनुरोध छ कि पुलिसलाई धेरै कमजोर बनाएर आनन्द नलिउँm, किनकि कमजोर प्रहरी व्यवस्थाले सबैलाई दसा निम्त्याउनेछ । हिजो दरबारले पनि यो कुरा बुझेन । आजको सरकारले पनि यो कुरा बुझेझैं देखिन्न तर कुरो बुझ्नुपर्नेछ ।