दीपालाई पृथ्वी नै स्वर्ग -राजन घिमिरे

दीपालाई पृथ्वी नै स्वर्ग -राजन घिमिरे


दिलको बदला दिल दिएँ, चोटको बदला चोट दिन्छु… दीपा पन्तले गाएको यो गीत अहिले चर्चामा छ । पेसाले शिक्षिका दीपा ६ वर्ष अगाडि मात्र नेपाली साङ्गीतिक क्षेत्रमा प्रवेश गरेकी हुन् । रियालिटी नामक एल्बम उनको पहिलो एल्बम हो भने दिलको बदला चाँडै बजारमा आउने भएको छ ।
० बाहिर हिँड्दा प्राय: के खाइन्छ ?
– म बाहिर त्यति खान्नँ । तर, खानैपर्‍यो भने ‘हट लेमन’ खाने गर्छु ।
० प्राय: पर्समा कति पैसा हुन्छ ?
– आवश्यकताअनुसार । घरबाट हिँड्दा नै यति पैसा बोके पुग्छ भन्ने विचार गरेर हिँडिन्छ
० दिनको खर्च नि ?
– प्राय: खर्च भइरहने त दिनको एक सयजति ।
० राति सुत्ने समय ?
– रातको ११/१२ बजेतिर ।
० अनि उठ्ने नि ?
– बिहान ६ बजे उठिसकेकी हुन्छ ।
० पुरुषहरूको पहिला के हेरिन्छ ?
– म पहिले उसको आँखा हेर्छु । आँखाबाट चिनिन्छ कि त्यो पुरुष कस्तो खालको हो भनेर ।
० आफ्नो नराम्रो बानी …. ?
– म चाँडै रिसाउँछु । मेरो यो बानी राम्रो होइन ।
० देखेकोमध्ये अहिलेसम्मको नराम्रो सपना ?
– अहिलेसम्म भन्न लायकको राम्रो वा नराम्रो कुनै त्यस्तो सपना देखेकी छैन ।
० साइड मार्नेहरू कति छन् ?
– छन् होलान्, तर अगाडि आएर भन्ने आँट गर्न सकेका छैनन् ।
० प्रेमविवाह गर्ने कि मागीविवाह ?
– योजना त मागीविवाह नै हो । तर भविष्यमा के हुन्छ थाहा छैन ।
० मरेर कहाँ पुगिन्छ होला ?
– मेरो विचारमा कहीँ पनि पुगिँदैन । माटोमा मिल्छ यो शरीर ।
० स्वर्गमा पुगिन्छ भन्छन् नि ?
– कसले देखेर आएको छ र ?
० अनि नर्क कहाँ होला ?
– यहीँ नै छ नि । स्वर्ग र नर्क भनेकै राम्रो र नराम्रो काम गर्नेले भोग्ने कुरा हो ।
० भगवान् प्रकट भएर वर माग भनेमा ?
– यो त हुँदै नहुने कुरा । भगवान् भए पो प्रकट हुन्छन् । भगवान्लाई नै पुगेको छैन भने उनले अरूलाई कसरी वर दिनु ।
० जिन्दगीको लक्ष्य… ?
– त्यस्तो ठूलो लक्ष्य छैन । कर्म गर्दै जाने हो । लक्ष्य पनि बन्दै जान्छ जस्तो लाग्छ मलाई ।

कलाकारहरूको नयाँ काम
सम्भवत: यो काम विश्वमा नै पहिलो र नौलो हुनसक्छ । काम हो निजी सवारीसाधन प्रयोग गर्ने सवारीचालकहरूको सुविधाका लागि खुलेको राष्ट्रिय निजी सवारीधनी संरक्षण मञ्च । यसले के गर्छ त ? यसका अध्यक्ष कलाकार विनोद केसी यसो भन्छन्, ‘निजी मोटरसाइकलचालकसँग वर्षको पाँच सय र गाडीधनीसँग वर्षको हजार रुपैयाँ हामी लिन्छौँ । यो रकम लिएबापात वा लाइसेन्स वा बिलबुकसम्बन्धी सबै काम हामी गरिदिन्छौँ । सवारीसाधन जहाँ भए पनि उहाँहरूको घरसम्म पुगेर बिलबुक वा लाइसेन्स रिन्युजस्ता सेवा हामी दिन्छौँ ।’
काठमाडौंको तिनकुनेमा रहेको यो मञ्चका संस्थापकहरूमा विनोद केसीका अलावा अन्य कलाकारहरू दीपकराज गिरी, शिवहरि पौडेललगायतका रहेका छन् भने भूषण दाहाल, रामकृष्ण ढकाल, सम्झना बुढाथोकी, सुरजसिंह ठकुरीलगायत एक सयभन्दा बढी विभिन्न पेसा र क्षेत्रसँग आबद्ध रहेका व्यक्तिहरू सदस्य भइसकेका छन् । व्यस्त जीवन बिताउने सवारीधनीहरूका निम्ति निकै फलदायी उपायका साथ आएको राष्ट्रिय निजी सवारीधनी संरक्षण मञ्च विशुद्ध रूपमा सेवामूलक संस्था हो । मुनाफा वितरण नगर्ने उद्देश्यसहित स्थापना भएको यो मञ्चले सामाजिक कामलाई पनि अगाडि बढाउने कुरा अध्यक्ष विनोद केसीले बताए ।

सर्‍यो राजेशको विवाह
नेपाली सिनेमाका कलाकारहरूमध्ये सबैभन्दा बढी चर्चामा आउने कलाकार हुन् राजेश हमाल । त्यसमाथि पनि उनको बिहेको चर्चा त सधैं मिडियाहरू र्छाई नै रह्यो । उनी कहिले विवाह गर्दै छन् वा किन गर्दैनन् ? भन्ने चासोका साथ मिडियामा छाइरहने हमालले केही समयअगाडि उद्घोष गरे, ‘अब सन् १२ सम्म विवाह गर्ने ।’ हमालको यो भनाइ पछि पनि झनै चर्चामा आई नै रह्यो । सबैमा चासो छायो, ‘को होलिन् राजेशकी दुलही ? कस्ती होलिन् उनकी जीवनसङ्गिनी -‘ राजेशकै भनाइअनुसार उनी सन् १२ सम्म वैवाहिक जीवनमा बाँधिने निश्चित पनि भइसकेको थियो ।
फेरि गत हप्तादेखि भने राजेशको विवाहलाई लिएर अर्को चर्चा सुरु भएको छ, ‘राजेश अहिले नै विवाह नगर्ने मनस्थितिमा पुगेका छन् ।’ किन त ? कुरोको चुरो थाहा पाउने क्रममा हामीले पनि यो कुरा पत्ता लगायौँ कि राजेश अब चार वर्ष विवाह नगर्ने सोचमा पुगिसकेका छन् । थाहा पाइएअनुसार उनले केही हप्ता अगाडि मात्र ज्योतिषीलाई आफू विवाह गर्नतिर लागेको कुरा बताएका थिए ।
ज्योतिषीलाई आफ्नो ग्रहदशा देखाउन पुगेका हमाललाई ज्योतिषीले अझै चार वर्ष विवाह नगर्नु भनेर भनेपछि सन् १२ भित्र वैवाहिक बन्धनमा बाँधिने राजेशको इच्छा यसपटक पनि अधूरै रह्यो । ‘अब चार वर्ष टर्‍यो मेरो विवाह । यो समयमा भने मुड आएको थियो । फेरि पछि मुड आउने हो होइन,’ राजेश आजभोलि यसै भन्न थालेका छन् ।

पापी मायामा डुबेर प्रमोद चुलिए
पहिलो एल्बममा ‘मबिना कसै-कसैलाई मुस्किल छ पोखरामा’ भन्दै प्रणयका गीत गाएका प्रमोदलाई यसपालि भने पापी मायाले रसातलमै डुबाएको छ । अर्थात्, अघिल्लो एल्बम ‘प्रणय’को व्यापक सफलतापछि गायक प्रमोद खरेलको नयाँ एल्बम ‘प्रवेग’ बजारमा आउने भएको छ पापी माया बोकेर । प्रवेगमार्फत प्रमोद भावमा पूरै डुबेर अलाप्दै छन्, ‘डुबायो पापी मायाले !’
‘प्रवेग’को हिट नम्बर गीत ‘डुबायो पापी मायाले’ यतिबेला विभिन्न माध्यममा घन्किरहेको छ । पत्रकार कुसुम भट्टराईद्वारा रचित यस गीतमा महेश खड्काको सङ्गीत र प्रमोदको स्वर रहेको छ । गायक प्रमोदका अनुसार उनको यो गीतमा सांसारिक माया र व्यक्तिगत मायाले कसरी मानिसलाई रसातलमा पुर्‍याउँछ भन्ने वर्णन गरिएको छ ।
प्रमोदले सम्भवत: पहिलोपटक जटिल सरगम गाएका छन् भने सम्भवत: पहिलोपटक कवाली शैलीमा किरण कँडेलले यस गीतको एरेन्ज गरेका हुन् । ‘यस गीतबाट नयाँ पुस्ताका गायकमा शास्त्रीय सङ्गीतको गम्भीर ज्ञान भएको पुष्टि हुन्छ,’ एरेन्जर किरण कँडेल भन्छन् । गीत छनोटको मामलामा निकै चुजी गायक प्रमोद ‘मलाई त सुरुमै यसको शब्दले तानेको हो’ भन्दै थप्छन्, ‘गर्भदेखि अहिलेसम्म मानिसले जिन्दगीमा जुन अनाहकका नाता-सम्बन्धहरू हुन्छन्, त्यसको बयान निकै मार्मिक छ ।’
सङ्गीतकार महेश खड्काले यस गीतमा अलि नौलोपन पस्किएका छन् । उनी भन्छन्, ‘यसमा विरह त छ तर स्टेजमा नाचेर गाउन सकिन्छ ।’ उता, २०५६ सालमै आफ्नो पहिलो एल्बम ‘द लास्ट लभ लेटर’ बजारमा ल्याएका कुसुम भट्टराई पेसाले पत्रकार भए पनि गीतमा पनि हात हालेका छन् । ‘मायालुको मायाले के-कति डुबायो, त्यो त यही मनलाई थाहा छ, तर सांसारिक मोह, माया र बासनाले पनि डुबाएको महसुस भइरहेको छ । त्यसैलाई शब्दमा उनेको हुँ,’ कुसुम भन्छन् ।
पापी मायाले डुबाएको यही गीत लिएर हालै मात्र गायक प्रमोदले आफनो दोस्रो एकल साँझ राजधानीबाहिर अर्थात् बुटवलमा सम्पन्न गरेका छन् । साउनेझरीमा सांगीतिक रस घोलेर प्रमोदले बुटवल र आसपासका क्षेत्रका आफ्ना फ्यानको वाहवाही बटुलेका थिए । दशैंअगाडि विभिन्न मुलुकमा कार्यक्रम गर्ने तयारीमा रहेका प्रमोदको सांगीतिक करिअर भने डुब्नुको साटो चुलिँदै गएको छ ।