सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तत्काल सरकार परिवर्तन नहुने बताएका छन् । प्रेस संगठन नेपाल सिन्धुलीले सिन्धुलीमाढीमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले बेलाबेलामा चल्ने यस्तो हल्ला जसरी आउँछ उसरी नै जाने हुनाले हल्लाको पछाडि नलाग्न आग्रह गरे ।
अर्को प्रसंगमा उनले अहिलेको बजेटले नेपालीको जीवनस्तरमा गुणात्मक सुधार गर्ने बताए । वाम चुनावी घोषणापत्रलाई आधार बनाएर अल्पकालीन र दीर्घकालीन विकासका अवधारणा अघि सारिएको बताउँदै उनले भने, ‘सामाजिक न्यायसहितको द्रु्रत आर्थिक विकासको नीति र समाजवादउन्मुख अर्थतन्त्रको आधारशिला बजेटले निर्माण गरेको छ, अब आत्मनिर्भर अर्थतन्त्रको माध्यमबाट राष्ट्रिय पुँजीको विकास गरी नेपालीलाई उन्नत समाजवादी दिशातर्फ अघि बढाउने संकल्प हामीले लिएका छौँ ।’
शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा नीति र कार्यक्रम अघि सारी अब जीवनस्तर गुणात्मक सुधार गर्न बजेटले सम्बोधन गरेको उनको भनाइ थियो । उनले अहिलेको सरकारले पूर्वाधार बनाउने र पूर्वाधारले राष्ट्रलाई समृद्ध बनाउने विश्वास व्यक्त गरे ।
सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको देश बनाइने र करिब १३ हजार डलर प्रतिव्यक्ति आय पु¥याइने उनको भनाइ थियो । हुलाकी राजमार्ग, सुनकोसी–मरिण ड्राइभर्सनलगायत धेरै क्षेत्रमा सरकारले बजेट विनियोजन गरेको जानकारी दिँदै उहाँले मुलुकका ७० जिल्लालाई आगामी आर्थिक वर्षभित्र साक्षर जिल्ला घोषणा गरिने बताए ।
‘उत्पाकदत्व वृद्धि नगरी अर्थतन्त्रको जगलाई दरिलो बनाउन नसकिने भएकाले सरकारले उत्पादनमा जोड दिएको छ,’ उनले भने, ‘यसले राष्ट्रिय अर्थतन्त्रमा सुधार ल्याउँछ ।’ सरकारले पूर्वपश्चिम, उत्तरदक्षिण सबैतिर सडक सञ्जाल, रेल तथा जलमार्गको विकास गर्ने उनको भनाइ थियो ।
सामाजिक सुरक्षाभत्ता वृद्धिलगायत सरकारले ल्याएको बजेटले विपक्षी आत्तिएकाले अनावश्यक हल्लाको पछि नलाग्न मन्त्री बाँस्कोटाले आग्रह गरे । कनिका छरेजस्तो बजेट भनेर प्रचार गरिए पनि त्यस्तो नभएको बताउँदै उनले बजेटका विषयमा अनावश्यक टिप्पणी गरेर अनावश्यक गीत नगाई देश विकासमा सबैलाई एकजुट हुन आग्रह गरे । ‘अहिले सरकारलाई उडाउनेलाई पछि रेलमा गुडाइन्छ, तिनै व्यक्तिले टिकट काटेर रेल चढ्छन्, उडाउनेले उडाउँदै गर्छन्,’ उहाँले भने ।
मन्त्री बाँस्कोटाले सरकारले मिडिया काउन्सिल विधेयक पत्रकारको हितका लागि ल्याएको र त्यसले पत्रकारको पारिश्रमिक सुनिश्चित गर्ने र अराजकता नियन्त्रण गर्ने बताए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्व सम्पूर्ण नागरिकको हितमा लागेको बताउँदै नेकपाका नेता बाँस्कोटाले पार्टीका दुवै अध्यक्ष सरकार चलाउन सक्षम रहेको बताए ।
rss
प्रतिक्रिया