सरकार लामो अवधि नटिक्ने देउवाको दाबी

सरकार लामो अवधि नटिक्ने देउवाको दाबी


  • पुनहरि बेल्बासे, भैरहवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीको सरकारले जनताको मर्म र भावनाविपरीत काम गर्दै हिँडेकाले नेतृत्वको सरकार लामो समय नटिक्ने दाबी गरेका छन् ।

सरकारले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विधेयक, स्वतन्त्र न्यायलयमाथिको हस्तक्षेप तथा मानवअधिकार आयोगको अधिकार कुन्ठित गर्ने गरी ल्याइएका विधेयकले संविधानको मर्म र भावनाविपरीत रहेको देउवाले बताए ।

नेपाल प्रेस युनियन रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति देउवाले सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाए ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले वाइडबडी, बुढीगण्डकी जलविद्युत आयोजना, बालुवाटार प्रकरणमा सरकारले चरम भ्रष्टचार गरेको आरोप लगाए । उनले सरकारका गलत कामको भण्डाफोरका लागि कांग्रेसले सडक आन्दोलनसमेत गर्ने जानकारी दिए ।

पूर्वप्रधानमन्त्री देउवाले कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले ल्याएको बजेट वितरणमुखी भएको टिप्पणी गरे । उनले आफ्ना कार्यकर्ता पाल्न बजेट ल्याएको आरोप समेत लगाए । उनले विदेशीले दिएको सहायताले पार्टीका कार्यकर्ता पाल्न नमिल्ने जिकीर गरे ।