सोलुखुम्बुको महाकुलुङ गाउँपालिका– ३ छेस्काममा रहेको प्रहरी चौकीमा नेत्रविक्रम चन्द (विप्लव) समूहले आइतबार राति आक्रमणको प्रयास गरेको समाचार सार्वजनिक भएपछि सोमबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ ।
गृह मन्त्रालयमा बसेको उक्त बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलसहित सुरक्षा निकायका तीनैजना प्रमुखको उपस्थिति रहेको थियो । बैठकमा उपस्थित हुनेमा गृहमन्त्रीसहित नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धानका प्रमुख गणेश अधिकारीलगायत थिए ।
आइतबार राति महाकुलुङ–३ छेस्काममा रहेको प्रहरी चौकीमा आक्रमण गर्ने उद्देश्यले २५–३० जनाको समूह विप्लव समूहका व्यक्ति आउने थाहा पाएपछि त्यहाँ कार्यरत प्रहरीको टोली हतियारसहित सुरक्षित स्थानतर्फ लागेको बताइएको छ ।
सो स्थानमा अहिले उच्च सुरक्षा सतर्कता अपनाइएको छ । केन्द्र र प्रदेशबाट पनि त्यहाँको सुरक्षाकका लागि प्रहरी टोली त्यहाँ पठाइएको छ ।
सो क्षेत्रमा अहिले प्रहरीले नेपाली सेनाको हेलिकोप्टरबाट गस्ती गरिरहेको बताइएको छ । सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले पनि सो कुराको पुष्टि गरेका छन् । उनले भने, ‘प्रहरीले मागपछि हेलिकोप्टर उपलब्ध गराएका छौँ ।’
दुई साताअघि भोजपुरमा प्रहरी कारबाहीमा आफ्ना एक कार्यकर्ता मारिएपछि विप्लव समूहले सरकारलाई त्यसको कडा जवाफ दिने बताएको थियो ।
प्रतिक्रिया