ज्ञानेन्द्र शाहीलाई यातना नदिइएको प्रहरीको दाबी

ज्ञानेन्द्र शाहीलाई यातना नदिइएको प्रहरीको दाबी


भ्रष्टाचारविरोधी अभियानकर्मी ज्ञानेन्द्र शाहीलाई हिरासतमा नराखेको प्रहरीले जनाएको छ । शाहीलाई पक्राउ पूर्जीबिना पक्राउ गरेर हिरासतमा चरम यातना दिइएको भन्दै सर्वत्र विरोध भइरहेका बेला कर्णाली प्रदेश प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरेर घटनाका बारेमा जानकारी दिँदै शाहीलाई हिरासतमा नराखेको बताएको हो ।

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक महेशविक्रम शाहले पक्राउ परे लगत्तै शाहीलाई हिरासतमा नराखेर काठमाडौं पठाइएको पत्रकार सम्मेलनमा बताए । यही जेठ १५ गते एक सार्वजनिक कार्यक्रमका क्रममा सुर्खेत वीरेन्द्रनगरको खुल्लामञ्चबाट अभियन्ता शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । हिरासतमा लिएर उनमाथि चरम यातना दिइएको भन्दै नागरिक तप्काबाट यतिबेला ब्यापक विरोध भइरहेको छ ।

शाहीलाई नियन्त्रणमा लिने क्रममा उनका समर्थकले प्रहरीमाथि ढुङ्गामुडा गरेको अभियोग समेत प्रहरी नायब निरीक्षक शाहले लगाएका राससले जनाएको छ ।

बताइएअनुसार शाहीका समर्थकले प्रहार गरेको ढुङ्गा लागेर ६ जना प्रहरीसहित शाही पनि घाइते भएका हुन् । शाहीलाई खुल्लामञ्चबाट पक्राउ गरेर ल्याएपछि प्रहरी निरीक्षकको कक्षमा राखेर सोधपुछ गरिएको तर कुनै किसिमको यातना नदिइएको शाहको भनाई छ । ज्ञानेन्द्र शाहीसँगै प्रहरीले वीरेन्द्रनगर–६ सुर्खेतका प्रेम विक, दीपक शाही, सिंजा जुम्लाका हिक्मत खत्री, मदन शाही, कोहलपुर बाँकेकी मेनुका भुषाल र रजिना परियारलाई पक्राउ गरेको थियो । उनीहरुलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।