वायु प्रदूषणका कारण हरेक वर्ष विश्वभर झण्डै ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको छ । यस विषयलाई लिएर राष्ट्रसङ््घका लागि मानवअधिकार तथा वातावरणसम्बन्धी विशेष प्रतिवेदक डेभिड बोइडले वायु प्रदूषणलाई व्यक्तिको मानव अधिकारकै रुपमा लिइदिन विश्वका सरकारहरु समक्ष आग्रह गरेका छन् ।
‘वायु प्रदूषण शान्त, अदृश्य तथा भयानक घातक समस्या हो जसले विश्वभर हरेक वर्ष झण्डै ७० लाख मानिसको ज्यान दिइरहेको छ । यसबाट महिला, बालबालिका र गरीबी समुदायका मानिसलाई सबैभन्दा बढी असर पारिरहेको छ,’ बोइडको भनाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।
विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा बोइडद्वारा सार्वजनिक गरिउको वक्तव्यमा भनिएको छ, ‘चीन समेतका धेरै मुलुकमा व्यापक रुपमा वायु प्रदूषण न्यून गरिएका सफलताका काथाहरु छन् । यी उदाहरणले वायु प्रदूषण रोकथाम गर्न सकिने समस्या हो भन्ने पुष्टी भइसकेको छ ।’
बोइडले अहिले हरेक पाँच सेकेन्डमा एक व्यक्तिको अकालमै वायु प्रदूषणका कारण मृत्यु भइरहेको बताउँदै विश्वको झण्डै ९० प्रतिशत जनसङ्ख्याले प्रदूषित हावामा श्वासप्रश्वास गरिरहेको उल्लेख गरेका छन् । उनका अनुसार मृत्यु हुने झण्डै ७० लाखमध्ये ६ लाख बालबालिका रहेका छन् ।
स्वच्छ हावा सुनिश्चित गर्न नसक्नुको अर्थ मानिसको जीवन, स्वास्थ्य र भलाइप्रतिको अधिकार उल्लङ्घन मात्र नभई स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको हनन पनि हो भन्नेमा बोइडको जोड छ ।

प्रतिक्रिया