अचानक हटाइयो आश्रमबाट सुरक्षाटोली

अचानक हटाइयो आश्रमबाट सुरक्षाटोली


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुईतिहाइ बहुमत प्राप्त सरकारले नेपाली काङ्ग्रेसका तर्फबाट प्रधानमन्त्री भएका सन्तनेता कृष्णप्रसाद भट्टराईको आश्रमबाट सुरक्षाकर्मी हटाइदिएको छ ।

गृह मन्त्रालयले निधन भइसकेका विशिष्ट व्यक्तित्वहरूको निवासमा दिइएको सुरक्षा व्यवस्था हटाउने निर्णय गरेपछि सशस्त्र प्रहरीले ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रमबाट सुरक्षा टोली फिर्ता बोलाएको हो ।

गत साता मंगलबार (जेठ १४ गते) देखि भट्टराई आश्रम असुरक्षित बनेको छ । आश्रममा सन्त नेता भट्टराईले जीवित रहँदा प्रयोग गर्ने गरेका हरेक वस्तु र सामग्री सुरक्षित तथा जस्ताको त्यस्तै राखिएका छन् । महामण्डलेश्वर अमिता कपालीको स्वेच्छिक सेवाका कारण उक्त आश्रम ‘जीवित’ रहेको त्यहाँ पुग्नेहरू हरेकले महसुस गर्ने गर्दछन् ।

सशस्त्र प्रहरीको टोली हटाइएपछि आश्रम पूर्ण रूपले असुरक्षित बनेको छ । यस सम्बन्धमा सशस्त्र प्रहरी प्रवक्ता डीआईजी सुरज श्रेष्ठसँग सम्पर्क गर्दा उनले गृह मन्त्रालयको निर्णयपश्चात् सबै दिवंगत भीआईपीहरूकहाँ रहेका सुरक्षाकर्मीलाई फिर्ता गरेर नियमित ड्युटीमा लगाएको बताए ।

अरू व्यक्तिका आफ्ना निजी घरमा भएका सुरक्षाकर्मी हटाइए पनि कृष्णप्रसाद भट्टराईको आश्रम उनको निजी थिएन र सार्वजनिक सम्पत्ति भएकोले त्यसको सुरक्षा गर्नुपर्ने दायित्व पनि सरकारकै होइन र भन्ने हाम्रो जिज्ञाशाको जवाफमा उनले भने, ‘त्यो प्रतिष्ठानको नाममा रहेको सम्पत्ति भएकोले छुट्टै निर्णय हुनुपर्ने देखिन्छ र हामीले ध्यानाकर्षण पनि गराइसकेका छौँ ।’

गृह मन्त्रालयले निधन भइसकेका विशिष्ट व्यक्तिहरूको निवासमा उपलब्ध सुरक्षाकर्मी हटाउने निर्णय गरेपछि विराटनगरस्थित कोइरालानिवास र सानेपास्थित खुमबहादुर खड्काको निवासबाट पनि सुरक्षाटोली हटाइएको छ । यससँगै कृष्णप्रसाद भट्टराईको आश्रमबाट समेत सुरक्षाकर्मी हटाइनुलाई चाहिँ अस्वाभाविक मानिएको छ ।

०६१ सालमा बाँडेगाउँको पाँच रोपनी जमिनमा कृष्णप्रसाद भट्टराईका लागि आवास बनाइदिने निर्णय गरी सरकारले भट्टराईलाई लालपुर्जासमेत उपलब्ध गराएको थियो । भट्टराईका नाममा लालपुर्जा रहँदा भविष्यमा कचिङ्गल पैदा हुन सक्ने ठानिएपछि ०६६ साउनमा ‘सन्त नेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठान’ दर्ता गरी सोही प्रतिष्ठानको नाममा लालपुर्जा बनाइएको थियो ।

उक्त आश्रममा किशुनजी तीन वर्ष रहनु भएपछि उहाँको निधन भएको हो । आश्रमको हेरविचार स्वयम्सेविकाको रूपमा महामण्डलेश्वर अमिता कपालीले गर्दै आउनुभएको छ । उहाँले समेत छोडिदिनुभयो भने आश्रम अलपत्र हुने र त्यहाँका बहुमूल्य सामग्री हराउने सम्भावना छ ।