प्रसारण लाइन निर्माणमा आक्रामक बन्दै प्राधिकरण

प्रसारण लाइन निर्माणमा आक्रामक बन्दै प्राधिकरण


पछिल्लो समय नेपाल प्राधिरकण पूर्बाधार निर्माणमा आक्रामक देखिएको छ । प्राधिकरणले विभिन्न नदी करीडोरहरुमा प्रसारण लाइनदेखि सबस्टेशन निर्माणको कामलाई तिब्रता दिएको हो ।

चालु आर्थिक बर्षमा प्राधिकरणले लक्ष्यभन्दा बढी प्रसारण लाइन निर्माण गरेको छ । चालस आवमा प्राधिकरणले विभिन्न ६ ओटा प्रसारण लाइन बन्ने प्रक्षेपण गरेको थियो । तर हालसम्म १६ ओटाको काम सकिएको छ । असार मसान्तसम्म निर्माणाधिन प्रसारणलाइन पनि चार्ज हुने प्राधिकरणका प्रसारण निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक वज्रभूषण चौधरीको भनाई छ । उनका अनुसार असारभित्र थप ६ ओटा प्रसारण लाइन निर्माण भई चार्ज हुनेछ ।

प्राधिकरणको तथ्याङ्कलाई हेर्ने हो भने चालू आवको हालसम्म १३२ केभी क्षमताका १२ र २२० केभी क्षमताका चार ओटा प्रसारण लाइन आयोजना सम्पन्न भएर काम सुचारु समेत भइसकेको छ । उता, १३२ केभी क्षमताका चार र २२० केभीका दुई ओटा प्रसारण लाइन निर्माणाधिन रहेको प्राधिकरणले जनाएको छ । ‘निर्माणाधिन लाइनहरु असारभित्रै चार्ज गर्ने तयारीमा छौं ।’ निमित्त उपकार्यकारी निर्देशक चौधरीले भने, ‘समयमा काम सम्पन्न गर्न हामीले कामको गतिलाई बढाएका छौं ।’

लक्ष्यभन्दा बढी प्रसारण लाइन निर्माण

चालू आवमा प्राधिरकणले लक्ष्यभन्दा बढी प्रसारण लाइन निर्माण गरेको तथ्यांकले देखाएको छ । चालू आवमा प्राधिकरणले विभिन्न ६ ओटा प्रसारण लाइन बन्ने प्रक्षेपण गरेको थियो । तर हालसम्म १६ वटाको काम सकिएको छ । ‘चालू आवमा लक्ष्यको तुलनामा सबैभन्दा बढी लाइन चार्ज भएको छ ।’ उनि भन्छन्, ‘प्रसारण लाइन आयोजना निर्माणमा वन, जग्गा र रुख कटानको समस्या नभए अझै बढी चार्ज हुन सक्नेछ ।’

कहाँ कुन-कुन प्रसारण लाइन चार्ज भए ?

अहिले विभिन्न नदी करिडोरमा जलविद्युत आयोजना निर्माण भएका छन् । तर उनिहरुमा प्रसारण लाइनको अन्योल भने कायमै छ । यसैलाई मध्यनजर गर्दै प्राधिकरणले प्रसारण लाइन र सबस्टेशन निर्माणको गतिाई एकैसाथ अघि बढाएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी बताउँछन् । उनका अनुसार अहिले १३२ केभी क्षमताको मध्य मस्र्याङ्दी–डुम्रे दमौली, लमही–घोराही, कुशुम–हापुरे, त्रिशूली ३ ए प्रसारण लाइन निर्माण भई चार्ज भइसकेका छन् । यस्तै, सबस्टेसनतर्फ स्याउले १३२ केभी, डुम्रे–दमौली मध्य मस्र्याङ्दी, लमही–घोराही, कुसुम–हापुरे १३२ केभी चार्ज भइसकेका छन् ।

उता, २२० केभी क्षमतामा बाँड भन्ज्याङदेखि मातातीर्थ, भूमिगत केबल (४ सर्किट) मातातीर्थ सबस्टेसनसम्म, त्रिशूली ३ बी २२० केभी प्रसारण लाइन चार्ज भएका छन् ।

तेस्रो खण्ड असार मसान्तभित्र चार्ज गर्ने लक्ष्य

विद्युतीय संरचना निर्माणलाई तिब्रता दिएको प्राधिकरणले चालू आवमा १३२ केभी काबेली करिडोरको दोस्रो खण्ड चार्ज गरिए पनि तेस्रो खण्ड असार मसान्तभित्र चार्ज गर्ने लक्ष्य लिइएको छ । त्यस्तै, कुश्मा–तल्लो मोदी १३२ केभी, कोहलपुर–महेन्द्रनगर १३२ केभी, चमेलिया स्याउले अत्तरिया आयोजनाको बाँकी खण्ड पनि असार मसान्तभित्रै सम्पन्न गरी प्रसारण लाइन चार्ज गर्ने लक्ष्य छ । यस्तै, २२० केभी क्षमताका खिम्ती–ढल्केबर डबल सर्किट, हेटांैडा–भरतपुर २२० केभी प्रसारण लाइन असार मसान्तभित्रै चार्ज गरिने प्राधिकरणले लक्ष्य लिएको छ ।

तीन सबस्टेशनको निर्माण कार्य सकियो

चालु आवको जेठ मसान्तसम्ममा विद्युत प्राधिकरणले तीन वटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ । यसअघि गोरखाको पालुङटार र सप्तरीको बोदेबर्साइनमा निर्माण गरिएको ३३/११ केभी सबस्टेसनको परीक्षण गरी सञ्चालनमा ल्याइएको हो । र गोरखाको पश्चिम क्षेत्र र सप्तरीको दक्षिण–पश्चिम क्षेत्रको विद्युत् आपूर्तिमा सुधार गर्न पालुङटार र बोदेबर्साइन सबस्टेसन निर्माण गरिएको हो ।

प्रसारणलाइन अभावमा अधिकांश निजी जलविद्युत आयोजना प्रभावित भएका छन् । लमजुङको दोर्दी करिडोरमा मात्रै ११८ मेगावाट क्षमताका ४ जलविद्युत आयोजना निर्माणाधिन छन् । तर समयमा प्रसारण लाइन निर्माण नभएको कारण प्रवद्र्धकहरु अन्योलमा परेका छन् ।