कूटनीतिक नियोग र नागरिक अपेक्षा

कूटनीतिक नियोग र नागरिक अपेक्षा


-युवराज बास्कोटा यज्ञ
कूटनीतिक नियोग अथवा राजदूतावाससँग राष्ट्रको, यहाँका राजनीतिक दलहरूको र आमनागरिकको आ-आफ्नै खालका चाहना, आशा या अपेक्षाहरू हुन्छन् । यही कारणले गर्दा सरकार सञ्चालनको दाबेदारी गर्ने राजनीतिक पार्टीहरूले यो या त्यो देशमा आफ्ना राजनीतिक व्यक्तित्व (नेता/कार्यकर्ता) पठाउन पाउनुपर्छ भनेर सत्ता बार्गेनिङको मेजर विषय बनाउँछन् भने सरकार सञ्चालनको अवसर पाइसकेका दलबलहरूले आफूले पाएको नियोगको कार्य सञ्चालन एवम् यसको व्यवस्थित सम्पादनको विषयवस्तुलाई आफ्नो वारि्षक कार्यक्रम र समयोचित कार्यान्वयन क्रममा यसका मुद्दाहरूलाई प्राथमिक विषयहरू बनाइरहेका हुन्छन् ।
नेपाली राजनीति र राष्ट्रिय राजनीतिमा आएको परिवर्तनका विभिन्न मोडहरूमा बाराखम्बा रोड, नयाँदिल्लीस्थित नेपाली राजदूतावास यस प्रक्रियामा मेजर विषय बन्ने गरेको छ । विभिन्न ऐतिहासिक राजनीतिक परिवर्तनको सङ्घारसँगै राजनीतिक दलहरूले आँखा गड्ने गरेको नेपाली राजदूतावास, नयाँदिल्लीलाई राजनीतिक दल, नागरिक समाज र आमनागरिकले विभिन्न ढङ्गले बुझ्ने गरेको यथार्थ हामीसँग घामझैं र्छलङ्ग छ ।
०४६ सालको राजनीतिक परिवर्तन र बहुदलीय व्यवस्थाको डेढ दशकभर नेपाली काङ्ग्रेसले शासन र सत्ताको बागडोर सम्हाल्यो । तर, यसबीचमा पनि परम्परागत परराष्ट्र नीति नै कायम रह्यो । खासै कुनै परिवर्तन नै आउन सकेन । नीतिगत मूल्य-मान्यतामा परिवर्तन ल्याउन कसैले सकेन । बरु, यसको निरन्तरतामा रमाइरहने र शक्तिकेन्द्रित छिमेकी राष्ट्रहरूलाई आफूअनुकूल सहयोगको वातावरण सिर्जना गर्न एका समयका निपुण रहेका पूर्वपञ्चायतकालमा नियुक्त भएका नियोग र नियोगप्रमुखहरूलाई पुनश्चः जिम्मा दिने स्थिति बन्यो । परराष्ट्र सम्बन्धको औचित्य, आवधिक संशोधन र परिवर्तित समयक्रमले विकास गरेको केही नवीनतम मान्यताहरू परिवारको सुरक्षा, छात्रवृत्ति, शिक्षादीक्षा र स्वास्थ्योपचारमा केन्द्रित रह्यो ।
खाँट्टी क्रान्तिकारी सावित गर्न खोज्दै गरेको माओवादी नामधारी राजनीतिक शक्ति यसतर्फ कमजोर ठहर भइसकेको छ । सत्ताप्रधानको अवस्थामा आसिन हुन जुनकुनैको शक्तिको पनि हिमायती बन्न तयार रहने गरेको उसको निवर्तमानले परराष्ट्रसम्बन्धी माओवादी बालकपनको बबुरो ज्ञानमा हराएको छ भन्ने कुरा प्रस्ट भएको छ ।
जङ्गलबासको विकल्पमा चिल्ला गाडी, जुम्रे दाह्रीकपालको विकल्पमा माननीय नामको सरदार पगरी, नरसंहारको विकल्पमा सरकार र सत्तासाझेदारीमा पुर्‍याउन गरेको परोक्ष सहयोगका कारण कहिले भने भारतसँग प्रागैतिहासिक कालदेखि नै अनन्य, अन्योन्याश्रति र बहुआयमिक मित्रवत् सम्बन्ध रहेको ढोंग पिट्ने र शब्दाम्बरका झिनामसिना कुरा गर्न रमाउने र अहिले भने भारतविरोधी रणनीतिक एवम् कार्यनीतिक-कार्यदिशाको एजेण्डा पास गर्ने माओवादीको बुझाई हठीबालकको पितुर्के रिससिवाय केही होइन भन्ने कुरा झन् बढी पर्दाफास भएको छ ।
माओवादीले ठहर गरेझैं, हाम्रो देशको गरिबी, पछौटेपन, बेरोजगारी, अस्वस्थता र अशिक्षाका लागि भारत नै दोषी हो त ? कि सहयोगी ? हाम्रो देशको राजनीतिक परिवर्तन, सामाजिक रूपान्तरण, आर्थिक विकास र यसको संस्थागत र सूत्रवत् विकासका लागि भारत नै प्रमुख बाधक हो त ? देशले व्यहोरेको राजनीतिक अस्थिरताका लागि भारत नै कारक हो त ? हामी भारतविरुद्ध प्रहार केन्द्रित हमला गर्नु वा धावा बोल्नु आजको आवश्यकता हो त ? कि अनुकूल मित्रशक्तिको रूपमा यसलाई प्रयोग गर्नुमा हाम्रो औचित्यता प्रस्ट हुन्छ ?
यस्ता घटनाचित्रित विषय-सन्दर्भहरूको मसिनो र विषयगत अध्ययन नगरीकन अघिबढ्ने हो भने भारतका विभिन्न राज्यरजौटाहरू र सहरबजारहरूमा जीविकोपार्जन र शिक्षार्जन गर्दै आएका लाखौँलाख प्रवासी नेपाली नागरिक र सम्बन्ध विस्तार एवम् विकासको समयक्रम नेपालीप्रति माया मान्ने स्थानीय नागरिकहरूको समेत के दर्शा/दर्ुदशा होला ! अरू कसैले सोच्ला/नसोच्ला ! हामी आफैंले आफ्ना लागि गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको छ । आर्थिक विकासको समुच्य आधार र गन्तव्य प्रस्ट बाटो नसमात्दासम्म अथवा विज्ञान-प्रविधि र आर्थिक परनिर्भरताबाट मुक्त नहुँदासम्म हामी कसैप्रति कुनै पनि मानेमा जाइलाग्न सक्तैनौँ । त्यो आफंैमा प्रत्युत्पादक हुन्छ ।
अब यस्तो अवस्थामा आमनागरिकबाट प्रकट हुने स्वाभाविक अपेक्षाहरू के हुने ? र यसको परिपूर्ति कसरी ? गम्भीर प्रश्न खडा भएको छ । सरकार छैन, सरकारको स्थिरता छैन, अथवा अस्थिर छ, कामचलाउ छ, अनुकूल छैन, सम्बन्धित क्षेत्रमा सरोकार राख्ने व्यक्ति र संरचना छैन, यसमा विषयगत विज्ञहरू छैनन्, प्रवासीका समस्याहरू राखिन्छ, तर यसप्रति सुनुवाइ हुन्न भनेर टक्टकिने, नितान्त न्यूनस्तरको जिम्मेवारीबाट समेत पन्छिने, आफू भने पानीमाथिको ओभानो हुने र राज्यले प्रदान गरेको त्यो हैसियतलाई सके बेचेर नत्र साटेर निजी ऐयासी जीवन जिउने, लोकनीतिविपरीतको व्यापार-व्यवसाय गर्ने, आफ्नो घरघराना र सन्तानदर सन्तानको हित अनुकूल काम गर्ने नियोग प्रमुख, उपप्रमुखहरूको ठगी नियतबाट परराष्ट्रका यी संरचनाहरू मुक्त नहुँदासम्म राज्यले, राजनीतिक पार्टीहरूले र आमनागरिकले यस्ता घटिया नियोग, नियोग कार्यालय र गठित संरचनाबाट केही पाउन सक्दैन ।
विगत केही वर्षयता एकाध मुलुकस्थित रहेका नियोग र नियोग कार्यालयको कामकारबाही, दिनचर्या र कार्यालयीय हालतलाई हेर्दा माथि उल्लेखित कुराहरूको प्रस्ट चित्र कोरिन्छ भने यसतर्फ अविश्वास र अनास्थाको डढेलोले मानिसलाई सताएको कुरा पाइन्छ । यो हविगतले युगीन परिवर्तनपछि विद्यमान अवस्थामा सुसङ्गठित राजनीतिक जागरण अभियान, समृद्ध नवमुलुक निर्माण र यसको समुन्नत दरको विकासक्रममा के टेवा पुर्‍याउन सक्ला ? मौन प्रश्न जन्मन्छ ।
कार्यालयीय कामकाजमा संलग्न भएर फर्कैंदा होस्, अथवा अन्य कुनै बेला ! सामयिक मुद्दामा प्रवासी नेपाली अथवा तिनका प्रतिनिधि सङ्घसंस्थाहरूलाई एकत्र गराएर छलफल नगर्ने, समस्या समाधानको बाटो नसुझाउने, प्रवासी नेपालीलाई मुलुकसँग जोड्ने किसिमले कुनै संरचनागत काम नगर्ने, सीमा सुरक्षा, यात्रा सुरक्षा र कार्यस्थलको सुरक्षाका लागि कुनै पहल नलिने, हेलोहोचोको सिकार बन्दा वा प्राकृतिक आपत्-विपत् र मर्दापर्दा पीडकका लागि राहतको आवाजसम्म नबनिदिने, सामूहिक र सामूहिकताको पक्षमा वकालत नगर्ने, अन्याय परेका आफ्ना नागरिकको हकमा न्याय पक्षधरता नलिने, लुटिएका, पिटिएका कामदार र बेचिएका चेलिबेटीहरूको उद्धारका लागि पहल नगर्ने, सीप-विधि-प्रविधि र पुँजीले सम्पन्न प्रवासी नेपालीलाई देश निर्माणका लागि संलग्न रहन प्रेरित नगर्ने, द्विदेशीय सम्बन्ध सुधारका लागि जनमैत्रीस्तरीय कामकारबाही नगर्ने, सम्बन्ध सेतुका आधार भनेका एक-आपसमा आश्रति प्रवासी नागरिक नै हुन् भन्ने कुरालाई महत्त्व नदिने, तिनलाई माध्यम बनाएर स्थानीय विधि-प्रविधि र पुँजी हस्तान्तरण एवम् देशभित्र रूपान्तरण गर्न सकेमात्र देश बन्छ भनेर प्रवासीलाई प्रेरित नगर्ने, तिनलाई यसको वस्तुगत आधार र अवसरको बारेमा सूचना प्रवाह नगर्ने, दीक्षित नगर्ने, कुलत र दर्ुर्व्यसनमा परेको पङ्क्तिलाई सामाजिक रूपमा सचेत र सजग गर्न कुनै कार्ययोजना निर्माण र कार्यान्वयनमा जोड नदिनेजस्ता कैयौँ कारणले गर्दा आमनेपाली मनसपटलमा एम्बेसीमा एम्बेसीका कर्मचारीको दिनचर्या भनेको सरकारी काम, कहिले जाला घाम भन्ने मात्र छ ।
हुन पनि मूर्तरूपमा एम्बेसीले यही गर्न सक्यो, गर्‍यो र गर्दै छ भन्ने कुरा केही छैन । स्थानीय सङ्घसंस्थाहरूले सामाजिक जीवनसँग सरोकारित क्षेत्रहरूमा सहकार्यका लागिसमेत अपिल गर्दा नजरअन्दाज गर्ने, भोजभतेरको आयोजना गर्ने, राजनीतिक आस्था प्रकटिने र मनलाग्दा एकाध केही सङ्घसंस्थाहरूलाई मात्र आर्थिक सहयोग पुर्‍याउने, परोक्ष ढङ्गले हेर्दा रुचाएको राजनीतिक पार्टीसम्बद्ध सङ्घ/सङ्गठनलाई राजनीतिक गतिविधिका लागि सहजता प्रदान गर्ने काम मात्र हुँदै आएको छ ।
यसको कुशल व्यवस्थापन र व्यवस्थित कार्यान्वयनतर्फ सम्बन्धित जिम्मेवार पक्षहरू र एउटा सचेत नागरिकको हैसियतले जिम्मेवारीबोध गर्ने स्वयम् नियोग प्रमुख, नियोग कार्यालयका कर्मचारी र हामी धेरै ढङ्गले आशा र अपेक्षा गरेर बस्ने नागरिक सर्वसाधारण बेला छँदै सोच्न जरुरी छ । यो कुनै तेस्रो व्यक्ति/सङ्घसंस्थाले गर्ने काम हो भनेर चुप्पी साध्ने हो भने अन्ततः अन्यान्य राष्ट्रका पहिचानपत्र/राहदानीधारक नागरिकले राहदानी देखाउँदैमा सजिलै टिकटलगायतका सुविधा पाइरहने अवस्थासामु हामी नेपाली एम्बेसीको सिफारिस बोकेर जानुपर्ने र हीनताबोधका साथ टिकट लिनुपर्ने विद्यमान अवस्थाबाट झन् तल झर्ने र दिनप्रतिदिन खस्कँदै जानेसिवाय हामीसँग कुनै चारा रहन्न । यही कुरा सबैलाई चेतना भया !