संगीता स्वेच्छाको ‘सेतो सिउँदो’लण्डनमा विमोचित

संगीता स्वेच्छाको ‘सेतो सिउँदो’लण्डनमा विमोचित


साहित्यकार संगीता स्वेच्छाको उपन्यास ‘सेतो सिउँदो’को लन्डनमा विमोचन गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतद्वारा आयोजित ८७औं पारिजात जयन्ती उत्सवको अवसरमा शनिबार (११ मे २०२४) विमोचित उपन्यास ‘सेतो सिउँदो’ यसअघि ‘पखालिएको सिउँदो’को नाममा प्रकाशन भएको थियो ।

प्रमुख अतिथि डा. वीरेन्द्र अमात्य रहेको विमोचन समारोहमा लेखकद्वय प्रतिमा केसी र डा. रुपक श्रेष्ठले उपन्यासको समीक्षा प्रस्तुत गरेका थिए ।

उपन्यासको गहिराइ र परिपक्वताको प्रशंसा गर्दै प्रतिमा केसीले टिप्पणी गरिन्, ‘उपन्यासले एक महिलाको मन, उनको पीडालाई सूक्ष्म रूपमा प्रस्तुत गरेको छ । यसले नेपालमा महिला बेचबिखनको मुद्दालाई सफलतापूर्वक उठाएको छ । उपन्यासले सामाजिक, आर्थिक असन्तुलनलाई पनि देखाएको छ । संगीता स्वेच्छाको किशोरावस्थामा लेखिएको यो उपन्यास हरेक कोणबाट परिपक्व छ र नेपाली साहित्यले यस उपन्यासमा गर्व गर्न सक्छ ।’

यस्तै, डा. रुपक श्रेष्ठले तीन दशकअघि स्वेच्छाको उल्लेखनीय उपलब्धिको प्रशंसा गर्दै भने, ‘म अझै पनि अचम्ममा छु कि त्यसबेला एउटी १८ वर्षीय किशोरीले कसरी यो उपन्यासको कल्पना गर्न सक्छ ! यो उपन्यासको परिपक्वता किशोरीले लेख्न सक्ने भन्दा धेरै अगाडि छ, किनभने यसले महिला बेचबिखन, नेपाली समाजको सामाजिक, आर्थिक जीवन, महिलाको मनोविज्ञानलाई प्रस्तुत गर्दछ ।’

संगीता स्वेच्छाले तीन दशकअघि प्रकाशित आफ्नो उपन्यासलाई पुनः परिचय गराउने अवसर पाएकोमा कृतज्ञता व्यक्त गरिन् । उनले आफ्नो उपन्यासले कार्यक्रममार्फत पुर्नजीवन पाएकोमा अनेसास बेलायतप्रति धन्यवाद व्यक्त गरिन् ।

बुक हिलद्वारा प्रकाशित सेतो सिउँदोको हाल अङ्ग्रेजीमा अनुवाद भइरहेको छ र चाँडै अंग्रजी संस्करण पनि आउने स्वेच्छाले जानकारी दिइन् ।