–छविलाल बगाले
भूकम्पले भत्काएको दरबार हाइस्कूल र रानीपोखरीलाई एकैपटक उठाउने सरकारी लक्ष्य थियो । तर विवादका कारण सरकारी लक्ष्य असफल बनेको छ । निर्माण थालेको १० महिनामा दरबार हाइस्कूल तयार हुँदा रानीपोखरी भने निर्माणको पर्खाइमा छ ।
भूकम्पबाट दरबार हाइस्कूल र रानीपोखरी एकैपटक क्षतविक्षत भए । लामो समयसम्म कसले बनाउने, कसरी बनाउने र कस्तो नक्सामा केन्द्रीत हुने भन्ने विवाद चर्कियो । मुलुकको इतिहाससँग जोडिएको विषय भएर पनि अधिकांश नागरिकको ध्यान यि दुबै संरचनामा केन्द्रीत थियो । विवादकाबीच पनि दरबार हाइस्कूलको निर्माणले गति लियो । अहिले दरबार हाइस्कूलको संरचना लगभग तयार भइसकेको छ । कारण हो विदेशी निर्माण कम्पनी । निर्माण कम्पनी सांघाई कन्स्ट्रक्शनले आगामी एक बर्षभित्रै विद्यालय सरकारलाई हस्तान्तरण गर्ने योजना बनाएको सांघाई कन्स्ट्रक्शनका आयोजना प्रमुख मिन ज्यान जुनले बताए । विद्यालयको भवनलाई थप बलियो बनाउनको लागि निर्माण पक्षले नयाँ प्रविधिको प्रयोग गरेको देख्न सकिन्छ ।

विदेशी ठेकेदार कम्पनीले निर्माण सुरु गरेको १० महिनामै ४६ कोठे चार तले भवनको संरचना तयार गरिसक्दा दरबार हाइस्कुुलकै छेउमा रहेको रानीपोखरीको हालत भने उस्तै छ । २०७२ माघ २ गते रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुनःनिर्माणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेपनि अहिलेसम्म काम अघि बढ्न सकेको छैन् । विवादमा फस्दै आएको रानीपोखरीलाई सरकारले पुननिर्माण प्राधिकरणमार्फत् पुननिर्माण गर्ने निर्णय गरेपछि कछुवा गतिमा काम सुरु भएको छ ।
दरबार हाइस्कूलको निर्माण कार्य सकिँदा पनि रानीपोखरीको हालत उस्तै हुनु लज्जाको विषय बनेको छ । अहिले पोखरी सम्याउने र एकातिरको कुनामा वाल लगाउनेबाहेक अन्य काम भएको छैन् । आगामी तिहारसम्म देखिने गरी काम हुने रानीपोखरी पुनःनिर्माण उपभोक्ता समितिका सचिव रोशनकाजी तुलाधर बताउँछन् । ‘अहिले हामीले भक्तपुरबाट कालिगढ ल्याएर पोखरी निर्माणको काम अघि बढाएका छौं ।’ उनले भने, ‘सुरुमा हामीले पोखरी सम्याउने र साइड वाल लगाउने काम थालेका छौं ।’

काठमाडौं महानगरपालिका, पुरातत्व विभाग र अन्य सरोकारवाला निकायको आ–आफ्नै अडानले रानीपोखरी विवादमै रह्यो । रानीपोखरी निर्माणका लागि ६ करोड २९ लाख बजेट छुट्याएपनि ४ करोड बढि रकम खर्च भइसकेको छ । तर अहिलेसम्म कुनै संरचना निर्माण भने भएको पाइदैन् ।
विदेशी ठेकेदारले १० महिनामा विद्यालय भवन तयार गरिसक्दा रानीपोखरीको अवस्था भने उस्तै भएकोप्रति पूर्वाधारविद् सूर्यराज आचार्य चिन्ता प्रकट गर्छन् । ‘हाम्रो भौतिक पूर्बाधार निर्माणको आधार नै मरेको छ ।’ उनले भने, ‘विदेशी कम्पनीले १० महिनामा दरबार हाइस्कूलको निर्माण गरिक्दा नेपाली ठेकेदार भने रानीपोखरी मै हराएका छन् । अनि कसरी हाम्रो निर्माण क्षेत्र सच्चिन सक्छ ?’
विगतमा पोखरीभित्रै पानी उम्रने गरेपनि भूकम्पपछि पानी आउन बन्द भएको जानकारहरु बताउँछन् । कालोमाटोले पोखरीको भुई पोतेर पानी अड्याउन सकिने भन्दै अहिले परिक्षण थालिएको छ ।
प्रतिक्रिया