तल्लो मोदीमा कर्मचारीले लगाए ताला

तल्लो मोदीमा कर्मचारीले लगाए ताला


पर्वत जिल्लामा मा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदी जलविद्युत आयोजनामा तालाबन्दी भएको छ । आयोजनामा कार्यरत कर्मचारीकै कारण तालाबन्दी गरिएको हो ।

प्रवद्र्धक कम्पनीसँग विभिन्न माग राख्दै आयोजना बन्द गरिएको बुझिएको छ । ठेकेदार कम्पनी साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालि, आषिश फेवा नयाँ बाटो प्रालिका वर्तमान तथा पूर्वकर्मचारीले निर्माणमा अवरोध पुर्याएको मोदी इनर्जी लिमिटेडले जानकारी दिएको छ ।

कर्मचारीहरूले गत जेठ ८ गतेदेखि आयोजनामा स्वतः स्थायी गर्नुपर्ने, काम गर्न नचाहने कर्मचारीको हकमा २० लाख रुपैयाँ उपदान दिनुपर्ने माग राखेका छन् । यसैगरी, निर्माणका क्रममा आएका विज्ञ कर्मचारी हटाई स्थानीयमात्र राख्नुपर्ने अव्यवहारिक माग राखेर आयोजनामा तालाबन्दी गरेको कम्पनीद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

कार्यरत सबै कर्मचारी स्वतः स्थायी हुनुपर्ने, २० लाख रुपैयाँ उपदान दिनुपर्ने जस्ता माग प्रचलित ऐन कानुनको बर्खिलाप छन् । हिंसाजन्य गतिविधिले आयोजनालाई करोडौं नोक्सानी भइरहेको पनि कम्पनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा यसबाट स्वदेशी तथा विदेशी लगानीकर्तामा गलत सन्देश जाने हुँदा सरकारले यसमा उचित सहयोग गरिदिनुपर्ने कम्पनीको माग छ । काम सुचारु गर्न पहल गरिदिन पनि कम्पनीले सरकार तथा सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

आयोजनाबाट २०७५ असारमा विद्युत उत्पादन गर्ने लक्ष्य थियो । तर, २०७२ सालमा गएको विनाशकारी भूकम्प र भारतले गरेको नाकाबन्दीका कारण आयोजना एक वर्ष ढिलो भइसकेको छ ।