इन्धन गाडी विस्फोट हुँदा नाइजेरियामा ४५ जनाको मृत्यु

इन्धन गाडी विस्फोट हुँदा नाइजेरियामा ४५ जनाको मृत्यु


नाइजेरियाको मध्य क्षेत्रमा इन्धन लिएर गुडिरहेको पेट्रोल गाडी दुर्घटनापछि भएको विस्फोटमा परी कम्तीमा ४५ जनाको मृत्यु भएको नाइजेरियाको आपतकालीन सेवा कार्यालयले जनाएको छ ।

पेट्रोल गाडी सडकमा ढलेपछि त्यसबाट चुहेको इन्धन जम्मा गर्न सडकमा भेला भएका नागरिकहरूको दुर्घटनामा मृत्यु भएको हो ।

उक्त ट्रक नाइजेरियाको बेनु राज्यस्थित ओहुम्बे गाउँमा दुर्घटनाग्रस्त भएको थियो ।

सडक सुरक्षामामिला हेर्ने संघीय आयोगका कमान्डर अलियुबाबालाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार ४५ मृत शरीरलाई घटनास्थलबाट निकालिएको छ भने कम्तीमा सय घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

अधिकांशको शरीरका भागहरू जलेका र मृतकको सङ्ख्या बढ्नसक्ने जनाइएको छ । मृतकमध्ये एक गर्भवती महिला र कम्तीमा दुईजना साना केटाकेटीहरू रहेका छन् ।

बताइएअनुसार घटनास्थल नजिकैबाट एउटा बस पास हुने क्रममा बसको इन्जिनबाट निस्केको आगोका झिल्काका कारण आगलागी भएको थियो । घटनामा एउटा सडक छेउमा रहेको घर पनि जलेको थियो ।