एनआरएनए अष्ट्रियाको नेतृत्व विनोद चौलागाईंको काँधमा

एनआरएनए अष्ट्रियाको नेतृत्व विनोद चौलागाईंको काँधमा


■ सागर सुवेदी, Austria

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद २०१९-२०२१ कार्यसमितिका निमित्त गत आइतबार भएको निर्वाचनबाट चितवन घर भई विगत आठ वर्षदेखि अष्ट्रिया बस्दै आइरहेका विनोद चौलागाईं अध्यक्षमा विजयी भएका छन् ।

आफ्ना प्रतिद्वन्दी ध्रुवबहादुर पौडेलभन्दा १९ मत बढी ल्याएर विजयी भएका चौलागाईं वर्तमान कार्यकाल अर्थात् २०१७-२०१९ मा वरिष्ठ उपाध्यक्षको हैसियतमा निर्वाचित भएर आफ्नो सफल कार्यकाल पूरा गरेका व्यक्ति हुन् ।

तीव्र प्रतिष्पर्धात्मक तवरको निर्वाचन प्रक्रियाका बाबजुद कसले बाजी मार्छ भन्ने सवालमा अष्ट्रियावासी गैरआवासीय नेपालीहरु धैर्यता साथ नतिजा कुरिरहेका थिए, सम्पूर्ण संघीय राज्यहरुबाट निर्वाचन परिणामहरु आइसकेको अवस्था थियो तर निर्वाचन परिणाम प्रकाशित गर्ने बेलामा वर्तमान अध्यक्ष तथा अन्तर्राष्ट्रिय परिषद सदस्यका प्रत्यासी जीवन कुँवरले निर्वाचन परिणाम उनको पक्ष्यमा नभएको अन्दाजी गर्दै अष्ट्रियाकै संघीय राज्य टिरोलको नतिजामा असन्तुष्टि देखाए अनि निर्वाचन समितिसमक्ष पुनः मत गणनाको माग गरेको निवेदन दिए ।

त्यसबाट केही विवाद जस्तो परिस्थिति उत्पन्न भए पनि समग्र निर्वाचन प्रक्रिया सौहार्द्धपूर्ण माहोलमा सम्पन्न भएकोमा नवनिर्वाचित अध्यक्ष चौलागाईं तथा नवनिर्वाचित अन्तर्राष्ट्रिय परिषदका सदस्य राजकुमार उपाध्ययले सम्पूर्ण अष्ट्रियावासी गैरआवासीय नेपालीहरुलार्इ धन्यवाद दिए । साथै ‘चुँडिएर होइन जोडिएर नै समाजसेवा’ भन्ने उनीहरुको सामुहिक सन्देश पनि समस्त अष्ट्रियावासी नेपालीसमक्ष उनले स्मरण गराए ।

सम्पन्न निर्वाचनमा २७५ मतसंगै सर्वाधिक लोकप्रिय मतले महिला संयोजकमा सम्झना बोहोरा निर्वाचित भइन् भने दोश्रो लोकप्रिय मत हासिल गर्नेमा महिला उपाध्यक्ष आशा थापा रहेकी छन् । अन्दाजी नौ सय गैरआवासीय नेपालीहरु बसोबास गर्ने आँकलन गरिएको संघीय गणतान्त्रिक अष्ट्रियामा पाँच सय नौ व्यक्तिले मतदानमा भाग लिएका निर्वाचन आयोगले जनाएको छ।