देशको राजनीतिक अवस्था पनि धमिलो हुँदै गणतन्त्रसमेत जोखिममा परेको परिवेशमा देशलाई काङ्ग्रेसको आवश्यकता छ र यो आवश्यकता काङ्ग्रेस एक हुँदा मात्र पूरा हुन सक्छ !
✍ ओम आचार्य

नेपाली काङ्ग्रेसको इतर समुह भनेर चिनिएको पूर्णबहादुर खड्का समुहबाट अब पार्टी ९९ प्रतिशत फुटको डिलमा रहेको सुनिन थालिएको छ ! यो समुहले यही साउनमा आयोजना गर्ने भनिएको विशेष भेलाबाट पार्टीको नाम र चुनाव चिन्ह घोषणा गर्ने चर्चा पनि उत्कर्षमा छ ! यसो भनिरहँदा इतर समुहबाट घोषणा हुने पार्टीको नेतृत्व कसले लिने भन्ने सवाल चाहिँ कायम नै छ, अहिलेसम्म नेतृत्वकर्ताको रूपमा कसैको नाम आएको छैन ! चर्चाअनुसार यो समुहले घोषणा गर्ने पार्टीको नेतृत्व लिन डा. शशांक कोइराला या डा. शेखर कोइरालालाई आग्रह गरिने सम्भावना छ ।
शेरबहादुर देउवानिकट रहेको यो इतर समुहको नेतृत्व लिन देउवाकै अति विश्वासपात्र भने अगाडि आएको नदेखिनु रोचक सन्दर्भ छ । कुनै समय देउवाले काङ्ग्रेस फुटाएर सञ्चालन गर्दाको पीडादायी अनुभव र मुलधारबाट फुटेको पार्टीलाई संचालन गर्दाको सकस सायद सम्बन्धित कसैले बिर्सेका छैनन् ! यही कारणबाट त्यो पीडा वा सकस पुनः लिन नचाहेका हुन सक्छन्, र पुनः सोही समुहको नेतृत्वमा पार्टी अलग भएको घोषणा गर्न या त्यसको दोष बोक्न तयार नरहेको हुनुपर्छ ।
यस आधारमा भन्नुपर्दा डा. शशांक या डा. शेखरलाई यो समुहले नेतृत्व दिँदा दूरगामी लाभ र प्रभाव देखेका छन् । इतर समुहबाट ‘काङ्ग्रेस ब्रान्ड हामीसँग छ’ भन्ने देखाउन ‘कोइराला’लाई अघिसारेको हुन सक्छ !
अहिले बीपी कोइरालाका पुत्र डा. शशांक कोइराला, महेन्द्रनारायण निधीपुत्र विमलेन्द्र निधी, गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह, कृष्णप्रसाद भट्टराईका अनुयायी पुर्णबहादुर खड्का र गिरिजा कोइरालासँग डा. शेखर कोइरालालाई जोड्दै ‘हामीसंग काङ्ग्रेसको ब्राण्ड छ’ भनेर इतर समुहले भन्ने गरेका छन् । उनीहरूले भनेजस्तो यहाँ उल्लेख गरिएका पात्रहरु काङ्ग्रेसको इतिहास बनाउन जेल-नेल भोगेका नेताहरू नै हुन् । उनीहरूकै नेतृत्वमा काङ्ग्रेस ‘काङ्ग्रेस’ बनेको हो । उनीहरूको नाम काङ्ग्रेसको लागि सम्मानयोग्य पनि छ । तर, इतर समुहले भनेजस्तो उल्लिखित नामहरू काङ्ग्रेसको ब्राण्ड चाहिँ होइनन् । काङ्ग्रेसको ब्राण्ड भनेको चार तारा र रुख हो । अहिले नेपालीले चिन्ने ब्राण्ड भनेकै यही हो । जस्तो कि कम्युनिष्टको ब्राण्ड भनेको हँसिया-हथौडा हो । आखिर ब्राण्ड भनेको ब्राण्ड नै हो !
के डा. शेखर नेतृत्व लिन तयार छन् ?
डा. शेखर कोइरालाले विशेष अधिवेशनपछि इतर पक्षको एक समुहको नेतृत्व गर्दै आएका छन् । तथापि, उनी सकेसम्म काङ्ग्रेस फुट्न नदिने प्रयासमा छन् । काङ्ग्रेस मिलाउने प्रयासमा यिनले यौटा शक्तिशाली विशेष संयन्त्र बनाएर त्यसमार्फत सहमति गरौँ भन्दै आएका छन् । तर उनको यो प्रस्ताव गगन थापाले स्विकार गरिरहेका छैनन् ।
अहिले इतर समुहले राष्ट्रिय भेलाको कुरा गर्दै त्यहीँबाट पार्टीको नाम र झण्डाको घोषणा हुनेछ भनेको छ । खड्का समुहले ४४औं बीपी स्मृति दिवस प्रज्ञा भवन कमलादीमा आयोजना गर्ने बताइसकेको हुँदा काङ्ग्रेस अहिले संवेदनशिल मोडमा पुगेको अनुभूति हुन्छ । कथम् कदाचित काङ्ग्रेस फुटे के डा. शेखरले नेतृत्व लिन्छन् त ? उनको अहिलेसम्मका गतिविधि र उनका स्टाटसहरू हेर्दा त नेतृत्व लिन इच्छुक देखिँदैनन् । काङ्ग्रेसमा कोइराला विरासतको इतिहास छ । काङ्ग्रेस भन्नेबित्तिकै बीपीको स्मरण हुनु स्वभाविक हो । यस्तो काङ्ग्रेसको मुलधारबाट फुटेको काङ्ग्रेसको नेतृत्व गर्न डा. शेखर तयार हुन सक्लान् त ? – यस्तो प्रश्न उठ्नु स्वभाविक छ ।
अर्को कुरा, देउवा सभापति रहेको केन्द्रिय समीतिले विशेष अधिवेशनको स्वामित्व लिनुपर्छ भन्दै गरेका डा. शेखर वर्तमान काङ्ग्रेसलाई स्विकारे पनि उनको भाष्यले नै जान रोक्न सक्छ । यस्तो अवस्थामा फुटेको काङ्ग्रेसमा पनि नजाने र संस्थापनले पनि नलिने अवस्था सृजना भयो भने डा. शेखरले के गर्छन् त ? यस्तो परिस्थिति राजनीति गर्ने ब्यक्तिका लागि अत्यन्त कष्टकर त हुन्छ नै, तर यही समय यिनले मध्यस्थकर्ताको भूमिकामा रहँदै राजनीतिमा सक्रियता दर्शाउँदाचाहिँ दूरगामी लाभ हासिल गर्ने अनुमान गर्न सकिन्छ । शेखरको पहिचानको भारी व्यक्तित्व यसैबाट निर्माण हुन सक्नेछ ।
गगन अब के गर्छन् ?
विशेष महाधिवेशनबाट सभापति बनेका गगनले काङ्ग्रेसको ब्राण्ड अरु चम्किलो बनाउँछन् कि खुइल्याउँछन् ? – यो अहिले सार्वजनिक सरोकारकै विषय बनेको छ । इतर समुहमा धेरै सिनियर नेताहरूको उपस्थिति छ र यसको जिल्ला-जिल्लामा पनि दरो पकड रहेको बुझिन्छ । इतर समुहबाट डा. शेखरले राखेको प्रस्ताव (विशेष संयन्त्र)मा सहमति जनाउनु गगनको बुद्धिमानी ठहरिनेछ । उनले यसो गरे पाटीँ फुट्नबाट मात्रै जोगिने हैन कि विशेष अधिवेशनबाट आएको सभापतिलगायत कार्यसमितिको गरिमा पनि अझ बढ्छ र काङ्ग्रेसको ब्राण्ड अरु चम्किलो हुँदै जान्छ । देशको राजनीतिक अवस्था पनि धमिलो हुँदै गणतन्त्रसमेत जोखिममा परेको परिवेशमा देशलाई काङ्ग्रेसको आवश्यकता छ र यो आवश्यकता काङ्ग्रेस एक हुँदा मात्र पूरा हुन सक्छ ! गगन थापाले यो कुरा पक्कै बुझेका होलान् !
प्रतिक्रिया