नेप महासंघ (जापान)को अधिवेशन मिति तोकियो

नेप महासंघ (जापान)को अधिवेशन मिति तोकियो


■ श्याम क्षेत्री, टोकियो

नेपाल पत्रकार महासंघ जापान शाखाको आगामी सेप्टेम्बर २२ तारिखमा अधिवेशन हुने भएको छ। गत आइतबार बसेको कार्यसमिति बैठकले अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो।

अध्यक्ष मोहन घलेको अगुवाईमा बसेको बैठकले अधिवेशनका लागि घलेकै संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । बैठकले पत्रकार महासंघको सदस्य नवीकरण क्रियाशील पत्रकारहरुका लागि नयाँ सदस्यताको लागि आवेदन खुल्ला गरिएको जनाएको छ ।

दुईवर्षे कार्यकाल रहेको पत्रकार महासंघको दुई वर्षअघि अप्रिल १० तारिखमा पत्रकार महासंघको केन्द्रीय अध्यक्ष महेन्द्र बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न तेस्रो अधिवेशनबाट मोहन घलेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो । हाल महासंघको साधारणसभाको विधान समितिले एक वर्ष कार्यालय थपेर ३ वर्ष केन्द्रलाई सिफ़ारिस गरेपनि केन्द्रको परिपत्र नआएकोले पत्रकार महासंघ जापानको चौथो अधिवेशनको समय तोकेको थिएन ।

अगष्ट २० तारिखसम्म प्राप्त आवेदनलाई नयाँ सदस्यता वितरण गर्ने तथा पुराना सदस्यहरूको परिचयपत्र नवीकरण गर्ने जनाएको छ। त्यसैगरी प्राप्त आवेदनहरुलाई संयोजन गर्न महासंघ जापानका उपाध्यक्ष पूर्ण चलाउनेको संयोजकत्वमा पाँच सदस्यिय छानविन समिति गठन गरिएको छ। समितिले आवेदनहरूको आवश्यक छानविन गरी केन्द्रमा पठाउन सिफारिस गर्नेछ।

यसैगरी, बैठकले अगष्ट ४ तारिख टोकियोमा जापानमा क्रियाशील अनलाइन पत्रिकाका सम्पादक तथा क्रियाशील पत्रकारहरुका बीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ। अग्रज पत्रकार तथा जापानवासी नेपाली समुदायका विशिष्ठ पदाधीकारीहरूको सहभागितामा कार्यक्रमको आयोजना गरिने बुझिएको छ।

महासंघको रिक्त पदमा थापा र अधिकारी चयन

सोही बैठकले महासंघमा रिक्त रहेको सदस्य पदमा सरिता थापा नागोया र गोकर्ण अधिकारी टोकियोलाई पदपूर्ति गरिएको छ। जापानमा कृयाशील पत्रकारिता गरेको आधारमा दुवैलाई सिफारिस गरिएको हो।

एनआरएनए जापानको उम्मेदवारहरुसंग बहस कार्यक्रम गर्ने

यस्तै महासंघले आगामी सेप्टेम्बर ६ मा हुने गैरआवसीय नेपाली सघ एनआरएनए जापानको अधिवेशनको पूर्वसन्ध्यामा नयाँ पदाधिकारीहरूका आकांक्षाीसंग बहस कार्यक्रम गर्ने भएको छ। खुल्ला बहस कार्यक्रममा पदाधीकारी पदका आकांक्षीहरूसँग अगष्ट महिनाको १८ तारिखमा टोकियोमा हुने छ ।