गोल्डेन पीक अन्तरविद्यालय बास्केटबलमा ३० टिम

गोल्डेन पीक अन्तरविद्यालय बास्केटबलमा ३० टिम


आठौं गोल्डेन पीक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा ३० टिमले सहभागिता जनाउने भएका छन् । आयोजक स्कुल गोल्डेन पिकका प्रिन्सिपल छत्रमणि राईले जानकारी गराउँदै भने ‘विद्यालय नै खेलकुदको मेरुदण्ड हो, जग बलियो भए मात्र घर बलियो हुन्छ, हामीले विद्यालयमा खेलकुदको गतिविधि बढाउन सानो प्रयास मात्र गरेका हौँ, नेतृत्व राज्यले गर्नुपर्छ ।’

पत्रकार सम्मेलनमा काठमाडौं प्याब्सनका वरिष्ठ उपाध्यक्ष एवम् नेपाल विद्यालय भलिबल कमिसनका अध्यक्ष राम केसीले राज्यले जुनियर खेलकुदमा लगानी गर्नुपर्ने धारण ब्यक्त गर्दै भने– ‘प्रतिभावान खेलाडी उत्पादन हुने थलो विद्यालय खेलकुद सशक्त भए अवश्य पनि राज्यको खेलकुद परिणामुखी हुन्छ । अनि मात्र स्कुल टु ओलम्पिकको सपना साकार हुन्छ ।’

चाबहिल सरस्वतीनगरस्थित गोल्डेन पीक हाईस्कुलकोे कोर्टमा साउन १० गतेदेखि संचालन हुने प्रतियोगितामा जुनियर ब्वाइजतर्फ १२ टिम, सिनियर गल्र्सतर्फ ६ टिम र सिनियर ब्वाइजतर्फ १२ टिमले प्रतिस्पर्धा गर्नेछन् । लिग कम नकाउटका आधारमा संचालन हुने प्रतियोगिताको गल्र्स टिमलाई दुई समूहमा विभाजन गरिएको छ भने ब्वाईजलाई चार समूहमा बिभाजन गरिएको छ ।

जुनियर ब्वाइजतर्फ ४ फिट १० इन्च सम्मको उचाई निर्धारण गरिएको छ । प्रतियोगिताअन्तर्गत हुने सबै खेलमा नेपाल बास्केटबल संघको प्राविधिक सहयोग रहनेछ । साउन १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले शिल्ड (मेडल) प्राप्त गर्ने छन् ।

प्रतियोगिताको अनुमानित बजेट ३ लाख रहेको छ । पत्रकार सम्मेलनमा स्कुलका अध्यक्ष अर्जुन केसी, स्कुलकी डाइरेक्टर कला राई, प्रतियोगिता संयोजक पूर्ण न्यौपाने, अमृत चित्रकारलगायतको उपस्थिति रहेको थियो ।