ओलम्पिकमा अब ‘मौसमी विवाद’ नहुने दाबी

ओलम्पिकमा अब ‘मौसमी विवाद’ नहुने दाबी


राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले राखेप र नेपाल ओलम्पिक कमिटीको सम्बन्ध नङ र मासुको जस्तै रहने दाबी गरेका छन् । नवनियुक्त सदस्यसचिव सिलवालको स्वागतमा नेपाल ओलम्पिक कमिटीले बिहीबार (९ साउन) आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘राखेप र ओलम्पिकबीच नङ र मासुको सम्बन्ध हुन्छ । संघबाट नै ओलम्पिकमा प्रतिनिधित्व हुन्छ र ती संघ राखेपमा दर्ता भएका हुन्छन्, राखेप एनओसीसँग मिलेर काम गर्न तयार छ । दुरी बढाएर होइन, घनिष्ट भएर काम गर्नेछौँ’ भन्दै उनले ओलम्पिकमा राष्ट्रिय र अन्तर्राष्ट्रियको नाममा मौसमी विवाद देखिएकोमा अब त्यस्तो नहुने दाबी गरे ।

‘राखेपमा सुदृढ प्रशासनमाको शुरुआत भएको छ । एक हजार दरबन्दी स्वीकृत भएको छ । विशेषज्ञबाहेक एकजना पनि भर्ना गर्दिनँ । लोकसेवामार्फत मात्र दरबन्दीअनुसार कर्मचारी भर्ना हुनेछ’ – सदस्यसचिवले भने । उनले प्रमुख प्रशिक्षकलाई जिम्मेवार बनाउने गरी आफूले काम गरेको समेत बताए ।

‘चिफ कोचले जिम्मेवारी लिनुपर्छ । संघसँग समन्वयन गरेर अगाडी बढ्ने हो,’ उनको भनाई छ ।

सरकारले ‘एक स्थानीय तह एक खेल मैदान’का लागि ४० करोड बजेट छु्ट्टाएको जानकारी दिँदै उनले भने, ‘यो बजेट कम हुन्छ, तर प्रदेश र स्थानीय तहसँग समन्वयन गरेर यसलाई अगाडि बढाइन्छ ।’

राखेपमा १ अर्ब ३५ करोडको बजेट बेरुजु रहेकोमा त्यसलाई घटाउनका लागि आफ्नो प्राथमिकता रहने सिलवालले बताए । स्कुलदेखि ओलम्पिक अभियानअन्तर्गत प्रत्येक स्कुलमा खेल–शिक्षक राख्न सकिने उल्लेख गर्दै उनले ३६ हजार खेलकुद प्रशिक्षकले काम पाउने बताए ।

सिलवाललाई सफलताको शुभकामना दिँदै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले खेलकुदअनुकुल वातावारण सिर्जना गर्नुपर्ने औंल्याए । उनले प्रदेशले छुट्टै खेलकुद विकास ऐन बनाएर कार्य गर्न शुरु गरेकोले त्यसलाई समन्वय गर्नुपर्ने राय प्रस्तुत गरे ।