निसानसँगको विवादले रेनल्टको कारोबारमा आधा गिरावट

निसानसँगको विवादले रेनल्टको कारोबारमा आधा गिरावट


फ्रान्सको प्रसिद्ध कार कम्पनी रेनल्टको कारोबारमा सन् २०१९ को पहिलो ६ महिनामा अत्यधिक गिरावट आएको उक्त सवारीसाधन निर्माण कम्पनीले जनाएको छ । रेनल्टले आफ्नो कारोबारमा देखिएको वर्तमान संकटलाई जापानी कम्पनी निसानसँगको सहकार्यका क्रममा गत वर्षदेखि देखिएको विवाद जिम्मेवार रहेको बताएको छ ।

रेनल्टले शुक्रबार एक विज्ञप्ति जारी गरी कम्पनीको खुद नाफामा गत वर्षको तुलनमा झन्डै आधा रकमको गिरावट देखिएको बताएको छ । विज्ञप्तिअनुसार रेनल्टको यस वर्षको जनवरीदेखि जुनसम्मको खुद नाफा एक अर्ब १० करोड अमेरिकी डलरमा झरेको छ । जब कि सन् २०१८ को सोही अवधिमा उक्त कम्पनीको नाफा एक अर्ब ९५ करोड २० लाख अमेरिकी डलर रहेको थियो ।

‘आम्दानीमा निसानको योगदानका कारण व्यापक गिरावट आएको छ,’ फ्रान्सेली सवारीसाधन निर्माण कम्पनीले भनेको छ । जापानी कम्पनी निसानमा रेनल्टको ४३ प्रतिशत सेयर रहेको छ । निसानले चौमासिक नाफामा नाटकीय कमी आएको जनाउँदै यसै हप्ता १२ हजार पाँच सय रोजगारी कटौतीको घोषणा गरेको थियो ।

निसानले आफ्नो कम्पनीका पूर्वप्रमुखको पक्राउ र निसानद्वारा उत्पादित गाडीकोे खस्किएको बजारका कारण भएको कमजोर व्यापार नै कारोबार रकममा आएको गिरावटको कारक भएको जनाएको छ । गत वर्ष फ्रान्सेली कार कम्पनी रेनल्टको नाफामा निसानले आठ अर्ब पाँच करोड युरोको योगदान गरेको जापानी सवारीसाधन निर्माता कम्पनीको दाबी छ ।

रासस