राष्ट्रिय खेलकुद परिषद् सदस्यसचिव रमेशकुमार सिलवालले आफूलाई अहिले नै ‘सम्मान’ नगर्न आग्रह गरेका छन् । नेपाल उमा कुङफु संघ र नेपाल टग अफ वार संघले संयुक्त रुपमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले भने– ‘म नियुक्त भएको भर्खर तीन साता जति भयो । अहिले नै मैले सम्मान गर्नलायक कुनै काम गरेको छैन । काम गर्न बाँकी नै छ । सदस्य–सचिवमा नियुक्त भएकै कारण त सम्मान गरि हाल्नु पर्दैन ।’
उनले अगाडि थपे– ‘मेरो कार्याकाल चार वर्षको हो । यो अवधिमा म सम्मान गर्नलायक काम गरेँ भने सम्मान गर्नुस् । काम गर्न सकिनँ भने ‘लायक’को अगाडि ‘ना’ थपिदए हुन्छ । बधाइ तथा शुभकामना कार्यक्रम हो भने ठीकै छ । यसलाई म स्वीकार गर्छु ।’
सदस्यसचिव सिलवालले विद्यालय तहबाटै प्रतिभावन खेलाडीको पहिचान गर्न सकिने भएकाले शिक्षा र खेलकुदलाई संगैसंगै लानु पर्नेमा जोड दिँदै नेताहरुलाई कुनै कुनै प्रकारले खेलकुदमा संलग्न गराउन आफूले योजना बनाइ रहेको बताए ।
कार्यक्रममा उमा कुङफु संघ अध्यक्ष सिद्धार्थ लामा र टग अफ वार संघका अध्यक्ष भावनीप्रसाद पौडेलले सदस्य–सचिव सिलवाललाई कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिदै मायाको चिनो प्रदान गरेका थिए । सो अवसरमा उमा कुङफु संघले आफ्ना संस्थापक प्रमुख प्रशिक्षक दीपक श्रेष्ठलाई सम्मान गरेको थियो ।
प्रतिक्रिया