विराटनगर भन्सारबाट ३८ अर्ब राजस्व सङ्कलन

विराटनगर भन्सारबाट ३८ अर्ब राजस्व सङ्कलन


विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष ०७५–७६ मा कुल ३८ अर्ब २८ करोड ९४ लाख ८८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

४२ अर्ब ५३ करोड १९ लाख १८ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको सो भन्सार कार्यालयले उक्त अवधिमा लक्ष्यको तुलनामा रु. चार अर्ब २४ करोड २४ लाख ३० हजार राजस्व सङ्कलन कम भएको भन्सार अधिकृत मणिराम पौडेलले जानकारी दिए । उनले गएको फागुनदेखि आयात घट्नु, जोगवनी र बथनहाबीचमा अवस्थित पुलमा अवरोध आउनुजस्ता कारणले लक्ष्यको तुलनामा कम राजस्व सङ्कलन भएको बताए ।

कार्यालयले सो अवधिमा साउनमा १०० दशमलव ६८ प्रतिशत, भदौमा ९५ दशमलव २५, कात्तिकमा १०७ दशमलव ४४, मङ्सिरमा १०१ दशमलव ५०, पुसमा १०० दशमलव शून्य चार, माघमा ९७ दशमलव १४, फागुनमा ९५ दशमलव शून्य दुई, चैतमा ९४ दशमलव ३७, वैशाखमा ९२ दशमलव १८, जेठमा ९१ दशमलव ६४ र असारमा सबैभन्दा कम ९० दशमलव शून्य तीन प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

सङ्कलित राजस्वमा भन्सार महसुल रु. १५ अर्ब ४७ करोड दुई लाख ४८ हजार, मूल्य अभिवृद्धि कर रु. २० अर्ब ८५ करोड १९ लाख चार हजार र अन्तःशुल्क रु. एक अर्ब ९६ करोड ७३ लाख ३६ हजार छन् ।

सो अवधिमा भन्सार नाकाबाट कुल रु. २० अर्ब २७ करोड ११ लाख ३५ हजार मूल्यबराबरको १० किसिमका सामान निकासी भई कुल रु. तीन खर्ब २३ अर्ब ४१ करोड ३३ लाख ४७ हजार मूल्यबराबरको १० किसिमका सामान आयात भएको कार्यालयले जनाएको छ । आयात र निर्यातको यो असन्तुलनले हामी नेपाली परनिर्भरतामा बढी केन्द्रित भएको अनुमान सहजै लगाउन सकिन्छ ।