मौद्रिक नीतिपछि उकालो लाग्ने अपेक्षा रहेको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार पुनः दोहोरो अंकले ओरालो लागेको छ । पुँजीगत लाभकरलगायतका विषयमा रहेको विवाद समाधान नभएको भन्दै लगानीकर्ताले सेयर खरिद मात्रै गर्न चाहेको र बेच्ने कमै मात्र भेटिएपछि बजारमा नकारात्मक प्रभाव परेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । स्टकका अनुसार नेप्से १७.११ बिन्दुले घटेर एक हजार २५२.८० बिन्दुमा पुगेको छ ।
यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.४३ बिन्दुले घटेर २७०.०४ मा झरेको छ । नेप्से र सेन्सेटिभ परिसूचक आज क्रमशः १.३५ र १.२६ प्रतिशतले घटेका हुन् । स्टकका अनुसार कारोबार रकम पनि तुलनात्मक रूपमा घटेको छ । कुल १६६ कम्पनीको १९ लाख ३७ हजार ४१ कित्ता सेयर रु. ४९ करोड २६ लाख ७३ हजार ६५२ मूल्यमा खरिद–बिक्री भए । बिहीबार नेप्से १४.१५ बिन्दुले घटेर एक हजार २६९.९२ बिन्दुमा बन्द भएको थियो । सो दिन कुल १७१ कम्पनीका २१ लाख ९८ हजार १२६ कित्ता सेयर रु. ५५ करोड पाँच लाख ३२ हजार १४६ मूल्यमा खरिद–बिक्री भएको थियो ।
कारोबार भएका कुल १२ उपसमूहमध्ये आइतबार सामूहिक लगानी कोषबाहेक अरू सबै उपसमूहको सेयर घटेको छ । सामूहिक लगानी कोष ०.१६ बिन्दुले बढ्दा बैंकिङ १५.९२, व्यापार २.५३, होटेल ९.४९, विकास बैंक १५.४९, जलविद्युत ११.८५, वित्त १.८३, निर्जीवन बिमा ९९.६७, उत्पादन २४.७२, अन्य ७.४४, लघुवित्त २७.७ र जीवन बिमा १०६.८९ बिन्दुले घटेको छ ।
कारोबारका आधारमा कृषि विकास बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको रु. चार करोड आठ लाख २४ हजार ३०६ बराबरको सेयर कारोबार भयो । यस्तै नेपाल बैंक लिमिटेड रु. चार करोड एक लाख ७२ हजार ४३२, छिमेक लघुवित्त विकास बैंक रु. दुई करोड ४० लाख ४२ हजार ९४, एनआईसी एसिया बैंक रु. दुई करोड १७ लाख चार हजार ५७, शिवम् सिमेन्ट रु. दुई करोड ६ लाख ६८ हजार १५७ र प्रभु बैंक रु. दुई करोड ६ लाख २४ लाख ७५१ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार सिर्जना लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.७२ प्रतिशतले कमाउँदा युनिभर्सल पावर कम्पनी ४.६०, एनएमबी सुलभ फण्ड ३.५९, एनएमबी हाइब्रिड फन्ड ३.१३ र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३.०१ प्रतिशतले आर्जन गरे ।
त्यस्तै युनियन हाइड्रो पावर ८.२३, युनाइटेड इन्स्योरेन्स ६.११, पाँचथर पावर ५.५१, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था ५.१७ र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ५.१३ प्रतिशतले कमाए ।
प्रतिक्रिया