रङ्गशाला निर्माणको माहोल बन्दै गएको ‘धुर्मुस’को दाबी

रङ्गशाला निर्माणको माहोल बन्दै गएको ‘धुर्मुस’को दाबी


चितवनको रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सहयोग रकम सङ्कलन हुने क्रम बढेको बताइएको छ । गत जेठ १५ गते रामपुरका स्थानीयवासीले बाटोको विवादलाई लिएर अस्थायी वार भत्काएपछि रोकिएको निर्माणको काम शुरु भएसँगै चितवनमा रकम सङ्कलन हुन थालेको हो ।

यही साउन ८ गतेदेखि निर्माणको काम शुरु भएपछि जिल्लामा अहिलेसम्म एक करोड ४७ लाख ८८ हजार ५५५ सङ्कलन भइसकेको धुर्मश–सुन्तली फाउण्डेसनका अध्यक्ष सीतारम कट्टेलले जानकारी दिएका छन् । उनका अनुसार पूर्वेली समाज चितवनले आयोजना गरेको कार्यक्रममा विभिन्न व्यक्तिबाट रु २४ लाख, उद्योग वाणिज्य सङ्घ चितवनबाट रु ५५ लाख ५५ हजार ५५५, भरतपुर महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिबाट रु ५० लाख, उद्योग सङ्घबाट रु १२ लाख ५० हजार, अक्सफोर्ड कलेज गैँडाकोटबाट रु दुई लाख ३३ हजार र क्रिकेट सङ्घ चितवनबाट रु दुई लाख ३३ हजार सङ्कलन भएको हो ।

रङ्गशाला निर्माणको प्रारम्भिक चरणमा बोलकबोल रकम ६ करोड ५० लाख थियो भने त्यसपछि विभिन्न व्यक्ति र कार्यक्रमबाट एक करोड ३१ लाख सङ्कलन भएको थियो । रङ्गशाला निर्माणका लागि जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीको संयोजकत्वमा सहयोग समिति गठन भएको छ । संयोजक डल्लाकोटीका अनुसार जिल्लाका छ स्थानीय तहमा सहयोग समिति गठन गरिसकिएको छ ।

सबैले आ–आफ्नो ठाउँबाट काम गर्न थालेका छन् । भरतपुर महानगरपालिकामा उपप्रमुखको संयोजकत्वमा सहयोग समिति गठन भएको छ भने प्रमुखको संयोजकत्वमा निर्देशन समिति गठन भएको छ । प्रमुख रेनु दाहाललाई उद्धृत गर्दै राससले दिएको जानकारीअनुसार बिचमा रोकिएको काम शुरु भएसँगै जिल्लामा रङ्गशाला निर्माणका लागि लहर शुरु भएको छ । विभिन्न सङ्घ संस्था र व्यक्तिले सहयोगका लागि ईच्छा व्यक्त गर्न थालेको पनि उनको भनाई छ ।

फाउण्डेसनका अध्यक्ष कट्टेलकाअनुसार अहिले परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन निर्माणको काम भइरहेको छ भने निर्माण स्थलमा बार लगाउने, मैदानका लागि आवश्यक दुबो गोडमेल गर्ने, सुरक्षाकर्मीको निवास निर्माण लगायतका काम भइरहेका छन् । जिल्लावासीले अपनत्व लिएसँगै देश र विदेशमा रङ्गशाला निर्माणका लागि माहोल बन्दै गएको सीताराम कट्टेल ‘धुर्मुस’ले बताए ।