प्रशिक्षणको विमान दुर्घटना हुँदा १२ सर्वसाधारणसहित १८ को मृत्यु

प्रशिक्षणको विमान दुर्घटना हुँदा १२ सर्वसाधारणसहित १८ को मृत्यु


पाकिस्तानी शहर रावलपिन्डीनजिकको आवासीय क्षेत्रमा मंगलबार बिहान भएको सैनिक विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । सेनाको प्रमुख कार्यालयहरू रहेको रावलपिन्डी सहरको छिमेकमा रहेको एक गाउँमा सो विमान दुर्घटना भएको थियो ।

सो दुर्घटनामा मारिएका १३ जना सर्वसाधारण र पाँच चालक दलका सदस्यसहित १८ जनाको शव अस्पताल लगिएको उद्धार टोलीका प्रवक्ता फारोक बुटाले बताए । राजधानी इस्लामावादनजिकै भएको यस दुर्घटनामा १२ सर्वसाधारण पनि घाइते भएका छन् । सबै शव नराम्ररी जलेकाले परिचय खुलाउन डीएनए परीक्षण गर्नुपर्ने अवस्था रहेको बुटाले जानकारी दिए ।

एक स्थानीय बासिन्दाका अनुसार मंगलबार बिहान २ बजे सो विमान दुर्घटनाग्रस्त भएको थियो । ठूलो आवाजका साथ भएको विस्फोटका कारण आफू निद्राबाट ब्युँझिएर घरबाहिर गएर हेर्दा आगलागी भइरहेको मोहमद सदिकले बताएका छन् । विमानमा सवार कतिपयले सहयोगका लागि चिच्याएका र उनीहरूको सहयोगको प्रयास गरिएको, तर सम्भव नभएको सदिकले बताए । उनका अनुसार सो दुर्घटनामा एकै परिवारका सातजनाको ज्यान गएको छ ।

सेनाको सूचना शाखाका अनुसार यो सैनिक विमान नियमित प्रशिक्षणमा रहेको थियो । उद्धारकर्मीहरूले आगलागी नियन्त्रणमा लिई घाइतेलाई स्थानीय अस्पतालमा पु¥याएका थिए । यस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारजनप्रति पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गहिरो समवेदना प्रकट गरेका छन् ।