बसले बेवारिसे बमलाई ठक्कर दिँदा २८ को मृत्यु

बसले बेवारिसे बमलाई ठक्कर दिँदा २८ को मृत्यु


अफगानिस्तानको पश्चिमी भेगमा राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई एउटा यात्रुबाहक बसले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा २८ जनाको मृत्यु भएको छ । बुधबार बिहान करिब ६ बजे भएको उक्त दुर्घटनामा ज्यान गुमाउनेमा अधिकांश महिला र बालबालिका रहेको स्थानीय प्रहरीले जनाएको छ । बम अफगानिस्तानको विद्रोही समूह तालिबानले राखेको अनुमान गरिएको छ ।

राष्ट्रसंघले मंगलबार मात्र अफगानिस्तानमा द्वन्द्वको चपेटामा परेर सर्वसाधारण बढी मारिएको प्रतिवेदन सार्वजनिक गरेको थियो । फराह प्रान्तका प्रवक्ता मुहिबुल्लाह मुहिबले कन्दाहार–हेराज राष्ट्रिय राजमार्गमा गुडिरहेको बस दुर्घटनामा परेको जानकारी दिए । उनले सडक किनारामा तालिबान समूहले राखेको बममा यात्रुबाहक बसले ठक्कर दिएको बताए । उक्त घटनामा अरू १० जना सख्त घाइते भएका छन् ।

फराहका गभर्नरका प्रवक्ता फारुक बाराकजाईले बम निकै शक्तिशाली भएकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताए । तालिबान समूहले भने उक्त घटनाबारे केही प्रतिक्रिया दिएको छैन ।