‘व्यापार युद्ध’को अन्त्यका लागि अमेरिका–चीन व्यापार वार्ता

‘व्यापार युद्ध’को अन्त्यका लागि अमेरिका–चीन व्यापार वार्ता


एक वर्षदेखि जारी अमेरिका–चीन ‘व्यापार युद्ध’को अन्त्यको उपाय निकाल्न चिनियाँ र अमेरिकी व्यापार मध्यस्थकर्ताहरूको वार्ता सांघाईमा बुधबार पुनः शुरु भएको छ । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका पछिल्ला ट्विटले वार्तालाई नै ओझेलमा पारेको छ ।

व्यापारमा समस्या देखिएको भन्दै अमेरिका र चीनले एक–अर्काका करिब तीन खर्ब ६० अर्ब डलरबराबरका सामानमा करवृद्धि गरेका छन् । अमेरिकाले चिनियाँ सामानको निर्वाध र खुकुलो प्रवेशका कारण व्यापार असन्तुलन चरम अवस्थामा पुगेको तथा अमेरिकी प्रविधि चीनले चोरी गरेको आरोप लगाउँदै आएको छ ।

यतिखेर अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अर्थमन्त्री स्टिभेन मन्चिन सांघाईमा रहेका छन् । चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँका उपप्रधानमन्त्री लिउ हेले गरेका छन् । दुवै टोली बुधबार बिहान एक–अर्कासँग हात मिलाएर वार्तामा बसेका थिए । अमेरिकी अधिकारीहरू वार्ताका लागि मंगलबार नै सांघाई पुगेका थिए । यहीबीच, अमेरिकी राष्ट्रपतिले ट्विट गर्दै व्यापार–वार्ताप्रति चीन त्यति गम्भीर नरहेको आरोप लगाएका छन् । उनले भनेका छन्– मेरो टोलीले अहिले चिनियाँ पक्षसँग वार्ता गरिरहेको छ, तर चिनियाँहरू आफूलाई लाभ हुने कुरामा मात्र ध्यान दिइरहेका छन् । यस्तो सम्झौता हाम्रा लागि कुनै महत्वको होइन ।

चीन सरकारले अमेरिकी कृषिजन्य उत्पादन खरिद गर्ने प्रतिबद्धता जनाएको, तर महिनौँदेखि कतिपय सामान नकिनेको अमेरिकी आरोप छ । ट्रम्पले भने– चीनसँगको समस्या नै यही हो, उनीहरू इमान्दार हुन सकेनन् । विज्ञहरूले राष्ट्रपति ट्रम्पका पछिल्ला ट्विटले पहिल्यैदेखि तनावमा रहेको व्यापारवार्तालाई सहजीकरण गर्न सहयोग नगर्ने बताएका छन् ।

सांघाई बैठक प्रारम्भ हुनु अघिल्लो दिन मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व व्यापार संगठनमा चीनले पाइरहेको विकासशील मुलुकको दर्जा हटाउने चेतावनी दिएका थिए । अमेरिकी उक्त भनाइलाई चीनले ‘अमेरिकी अहंकार’ भन्दै प्रतिवाद गरिसकेको छ ।