बेवारिसे कारमा पत्रकारको लास !

बेवारिसे कारमा पत्रकारको लास !


मेक्सिकोको मोरालेस राज्यमा एउटा बेवारिसे कारमा एक पत्रकार मृत अवस्थामा फेला परेका छन् । सञ्चारमाध्यमको पक्षमा वकालत गर्ने संघसंस्थाहरूले ती पत्रकारको हत्या भएको देखिएकाले तत्काल अनुसन्धान गर्न सरकारसँग माग गरेका छन् ।

गुरेरो इन्स्टान्टे पोर्टलका निर्देशक रोजेलियो बारागानको हत्या भएको अवस्थामा कारभित्र फेला परेको प्रहरीले जनाएको छ । उनको अनुहारसहित शरीरका विभिन्न भागमा गम्भीर चोटपटक लागेको थियो । रिपोर्टर्स विदाउट बोर्डर्सले सञ्चारमाध्यमका लागि मेक्सिको, सिरिया र अफगानिस्तानलाई विश्वमै सबैभन्दा खतरनाक मानेको छ । हत्या गरिएका पत्रकार रोजेलियो उक्त पोर्टलमा दश वर्षदेखि कार्यरत रहेका थिए ।

मेक्सिकोमा यसै वर्ष रोजेलियोसमेत सातजना पत्रकारको हत्या भइसकेको छ । सन् २००० यता मात्र मेक्सिकोमा सयभन्दा बढी पत्रकारको हत्या भएको आरएसएफले जनाएको छ । यी अधिकांश हत्या लागूऔषध तस्करी र राजनीतिक भ्रष्टाचारसँग जोडिएका छन् । मेक्सिकोमा अधिकांश हत्याको स्वतन्त्र र बलियो अनुसन्धान नहुने तथा दोषीमाथि कुनै कारबाही हुने गरेको छैन । गत महिना पत्रकार नोर्मा साराबियाको दक्षिणपूर्वी राज्य टाबास्कोमा गोली हानी हत्या गरिएको थियो । मे महिनामै मेक्सिकोको क्यारेबियन तटीय शहरमा संवाददाता फ्रान्सिस्को रोमेरोको हत्या भएको थियो ।