हुण्डीमार्फत विदेशी विनिमय अपचलन मुद्दामा राजश्व अनुसन्धान विभागले चारजना विरुद्ध बुधबार (१५ साउन) मुद्दा दायर गरेको छ । सिङ्गापुरमा बस्ने निशा गुरुङ र काठमाडौं भ्यूटावर निर्माण गर्ने जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स प्रालिका सञ्चालक मनोजकुमार भेटवालसमेत गरी चारजना विरुद्ध करोडौँको विदेशी विनिमय अपचलन गरेको आरोपसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिएका छन् ।
प्रतिवादी मध्येकी निशा गुरुङले सिङ्गापुरमा रहेका साथी र अन्य व्यक्तिसँग काठमाडौंमा भ्यूटावर निर्माणमा लगानी गर्ने भनी रकम सङ्कलन गरी बैंकिङ प्रक्रियाभन्दा बाहिरबाट राष्ट्र बैंकको अनुमति नलिइ हुण्डिमर्फत रकम ल्याएको अनुसन्धानबाट खुलेको उनको भनाई छ ।
प्रतिवादीमध्येका राजकुमार विष्ट र उनका भाइ शिवको सहयोगमा उक्त कम्पनीका सञ्चालक भेटवालसँग मिलेमतो गरी रकम प्रयोग र वितरण गरेको आरोप उनीहरुमाथि छ ।
अनुसन्धानमा रकम बरामद भएका व्यक्ति राजकुमार गुरुङ अमिताव मल्टी प्रपोज प्रालिका कर्मचारी भएको खुल्न आएको छ । उनीहरूले उक्त कम्पनीबाट कुनैपनि कारोबार नभएको भनी आन्तरिक राजश्व कार्यालयमा शून्य विवरण पेश गरेको देखिए पनि उक्त कम्पनीले बारम्बार ठूलो रकम राख्ने र निकाल्ने गरेकोसमेत खुल्न आएको जनाइएको छ ।
उनीहरुले कारोवार गरेको रकम के वापतको हो भनी स्पष्ट पार्न नसकेकाले विदेशी विनिमय (नियमित गर्ने) ऐन र विप्रेषण नियमावली २०६५ विपरीत कार्य गरेको विभागले ठहर गरेको छ । उनीहरुबाट नगद रु २६ लाख १५ हजार र रु ३४ लाखको तीन थान चेक तथा सिङ्गापुरबाट गैरकानूनी रुपमा भित्र्याइएको रकम, विभिन्न स्थानबाट बरामद १०४ थान भौचरमा उल्लेखित रकम चार करोड २७ हजारको चार करोड ६० लाख बिगो कायम गरी मुद्दा दर्ता गरिएको महानिर्देशक मैनालीले जानकारी दिएका राससले जनाएको छ ।
विभागले मनोज भेटवाल, राजकुमार विष्ट, शिव विष्ट र निशा गुरुङलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन बमोजिम विगोको तीन गुणा रकम असूल गरी ऐन बमोजिम तीन वर्ष कैद सजाय माग गरेको छ ।
प्रतिक्रिया