माल्दिभ्सका पूर्वउपराष्ट्रपति कानुनी कारवाहीबाट बच्न खोज्दा…

माल्दिभ्सका पूर्वउपराष्ट्रपति कानुनी कारवाहीबाट बच्न खोज्दा…


माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद् अदीबलाई गैरकानूनी रूपमा भारतीय भूमिमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा बिहीबार पक्राउ गरिएको भारतीय सुरक्षा अधिकारीले बताएका छन् ।

माल्दिभ्सको एक अदालतले तत्कालिन राष्ट्रपति अब्दुलाह यमीनलाई सन् २०१५ मा हत्या गर्ने प्रयास गरेको भनी अदीबविरूद्ध परेको मुद्दामा सफाई दिएपछि गत मे महिनामा माल्दिभ्सको जेलबाट रिहा भएका माल्दिभ्सका पूर्व उपराष्ट्रपति अदीबलाई भारतको तामिलनाडुस्थित बन्दरगाह शहर टुटिकोरिनबाट पक्राउ गरिएको भारतीय अधिकारीहरूले बताएका एएफपीले जनाएको छ ।

भारत प्रवेश गर्नका लागि स्वीकृति प्राप्त सीमाबिन्दुबाट प्रवेश नगरेका र आधिकारिक कागजात साथमा नबोकेका कारण उनलाई अनुसन्धानका लागि सुरक्षा नियन्त्रणमा लिइएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीस कुमारले जनाएका छन् ।

गलत प्रवेशद्वारबाट भारत छिर्न खोजेका अदीबसँग भारत प्रवेश गर्ने क्रममा राहदानी नरहेको पाइएपछि उनलाई पक्राउ गरिएको बताइन्छ।

अदीबलाई यमीन राष्ट्रपति रहेको समय उपराष्ट्रपति भएकै बेला हत्या प्रयास र विभिन्न भ्रष्टाचार आरोपमा अनुसन्धानका लागि नयाँ सुनुवाई हुने तयारी रहेका समय भारत प्रवेश गरेको अनुमान गरिएको छ । अदीब गत वर्षको राष्ट्रपतीय निर्वाचनमा पराजित भएका थिए ।

यसैबीच माल्दिभ्सको प्रहरीले अदीबलाई उनीविरूद्ध परेको मुद्दामाथि अनुसन्धान गर्न स्वदेश फिर्ता गराउने पहल शुरू गरिएको बताएको छ । उनमाथि यमीनको कार्यकालमा उपराष्ट्रपतिका रूपमा कार्यरत रहेका समय राज्यकोषको दुरूपयोग गरेको आरोपमा परेको मुद्दामा अनुसन्धान गर्नुपर्ने भएकाले प्रक्रियागत रूपमा फिर्ता ल्याउने पहल गरिनेछ ।

अदीबलाई भारतबाट फिर्ता गर्न भारतीय अधिकारीहरुसँग सम्पर्क भइरहेको माल्दिभ्स प्रहरीद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ ।

माल्दिभ्स प्रहरीका अनुसार अदीबले बुधबार उनमाथि परेको मुद्दाबारे आफ्ना भनाई राख्नुपर्ने तालिका रहेको थियो तर उनी सम्बन्धित निकायमा उपस्थित भएका थिएनन्। माल्दिभ्स सरकारले अदीबको पासपोर्टलाई अनुसन्धानका क्रममा जफत गरेको बताइएको छ ।